बाबुराम भट्टराईले प्रधानमन्त्रीलाई बुझाए १९ बुँदे माग पत्र
काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले संक्रमणकालीन न्यायसँग सम्बन्धित कामहरू छिटो सम्पन्न गरेर शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन सरकारको ध्यानाकर्षण गराएका छन्।
शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई १९ बुँदे मागपत्र पेस गर्दै भट्टराईले द्वन्द्वकालीन घटनाहरूको सत्य अन्वेषण गरी न्याय स्थापित गर्दै संक्रमणकालीन न्यायसँग सम्बन्धित कामहरू छिटो सम्पन्न गरेर शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन ध्यानाकर्षण गराए।
राजनीतिक परिवर्तनका उपलब्धिहरूको रक्षा गर्दै समाजमा मेलमिलापको माध्यमबाट दिगो शान्ति स्थापना हुनुपर्नेमा आफूहरूको जोड रहेको भट्टराईले बताए। उनले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता परिएका व्यक्तिहरूको छानबिन आयोगमा सशस्त्र द्वन्द्वबाट पीडित परिवारको प्रतिनिधित्व गराउने व्यवस्था गरिनुपर्ने र यसको नेतृत्व राजनीतिक आस्थाका आधारमा नभइ राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा विज्ञता हासिल गरेकालाई नेतृत्व दिनुपर्ने बताए।
द्वन्द्वकालीन घटनासँग सम्बन्धित नियमित अदालतमा रहेका सम्पूर्ण मुद्दाहरूलाई संक्रमणकालीन न्याय प्रणालीको क्षेत्राधिकारमा ल्याएर छिटोभन्दा छिटो टुङ्ग्याउन आवश्यक पहलकदमी लिनुपर्नेमा आफूहरूको जोड रहेको उनले बताए।
बेपत्ता पारिएका नागरिकहरूको अवस्था बारेमा सत्यतथ्य पत्ता लगाई उनीहरूको यथार्थ विवरण परिवारहरूलाई यथाशिघ्र जानकारी गराई गराउनुपर्ने, केन्द्र, प्रदेश र स्थानीय तहमा दिइने सबै सावर्जनिक पद, सेवा-सुविधा र कर्मचारी नियुक्ति गर्दा घाइते, अपाङ्ग, सहिद तथा बेपत्ता पारिएका व्यक्तिहरूलाई पहिलो प्राथमिकता दिनुपर्ने लगायतका माग भट्टराईको छ। मागपत्र बुझ्दै प्रधानमन्त्री ओलीबाट सकारात्मक जवाफ आएको भट्टराईले बताए।