राष्ट्रवाद
प्रिय सरकार !
तिमीलाई सोध्न मन छ
तिम्रो संस्कारमा कति दिन छ तीज ?
साम, दाम, दण्ड, भेद अपनाएर
तिम्रो खाताको अंकले सगरमाथा छोयो भन्दैमा
गरिबको जिभ्रोमा पानी उमार्न पाइन्छ ?
स्वर्ण लाप्साले तिम्रो लकर भरियो भन्दैमा
बेला कुबेला ज्यान पहेँलो पारेर
गरिबको आँखामा ईर्ष्या जागृत गर्न पाइन्छ ?
रगत पोखेर रेमिट्यान्स आयो भन्दैमा
अनति फल्ने खेत बाँझो छाडेर
आयातीत भोजसँग महिनौं नाच्न पाइन्छ मातृशक्ति ?
हे आमा, दिदी, बैनी हो !
हे छोरी, बुहारी, नारी हो !
तिम्रा पतीत लोग्नेहरूले
घ्याम्पामा मुख चोबलेको
बदला लिनु छ भन्दैमा
तिलहरी र सारी लाएरै
नालीमा सुत्न पाइन्छ ?
तिमीले लेखेको संविधानमा
समाजवाद उन्मुख राज्यव्यवस्था
कुँदेर छपाएकै भरमा
यो दलाल पुँजीवाद आफैं हटेर जान्छ ?
भन न मेरो सरकार !
आयातीत उपभोगवाद हुर्केको युगमा
परसंकृतिले जनता गाँजिएको युगमा
तिमीले माइकिङ गरेको त्यो
अचम्मलाग्दो राष्ट्रवाद
कसरी पत्याऊँ म !?