‘छिटोभन्दा छिटो संघीय निजामती सेवा ऐन ल्याउनुपर्छ’
काठमाडौं : कर्मचारी ट्रेड युनियनका पदाधिकारीहरुले छिटोभन्दा छिटो संघीय निजामती सेवा ऐन ल्याउनुपर्ने बताएका छन्।
निजामती सेवा दिवसको अवसरमा काठमाडौंमा आयोजित एक साक्षत्कार कार्यक्रममा उनीहरूले संविधान बनेर देश संघीयतामा गएको लामो समय भइसक्दा पनि निजामती सेवा ऐन नआउँदा अनेक प्रकारको समस्या देखिएको बताएका हुन्।
एकीकृत सरकारी कर्मचारी संगठन नेपालका अध्यक्ष यमबहादुर खत्रीले निजामती कर्मचारी प्रशासनले समयमै नागरिकलाई सेवा प्रदान गरिरहेको बताए। उनले देशमा तीन तहको सरकार कार्यान्वयनमा आएर पनि संघीय निजामती ऐन नबन्दा अलमल र समस्या भने देखिएको जिकिर गरे।
नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइरालाले कर्मचारीतन्त्र पहिलेको भन्दा सुधारोन्मुख रहेको बताए। निजामती सेवामा सबैले सुधारको प्रतिबद्धता गर्नुपर्ने र गलत कामलाई रोक्नुपर्ने बताए।
युनियनका अध्यक्ष गोपाल प्रसाद पोखरेलले निजामती कर्मचारी दिवसप्रति उत्साह देखिन छाडेको बताए। उनले अहिले जुन पार्टीको सरकार बन्दा पनि क्षमताको बारेमा खोजी नभएर आफ्नो विचारसँग नजिक र मेलोमेसो मिलाउनसक्ने कर्मचारी खोज्ने गरेको दाबी गरे।
पूर्व सचिव गोपीनाथ मैनालीले छिटोभन्दा छिटो संघीय निजामती सेवा ऐन आउन जरुरी रहेको बताए। अहिले निजामती सेवाको क्षेत्रमा कानुनविहीनताको अवस्था रहेको भन्दै उनले जस्तो भएपनि छिटोभन्दा छिटो ऐन ल्याउन आवश्यक रहेको उनले बताए।