अब्बल सहकारीबाट सिक्ने कि ?
मुलुकमा बिग्रिएका भन्दा उत्कृष्ट कार्य गरिरहेका अब्बल सहकारी प्रसस्तै छन्। जसले सहकारी स्थापनाको मूल मर्मलाई आत्मसाथ गर्दै आर्थिक विकासमा योगदान गरेका छन्। उत्कृष्ट सहकारीमध्येमा पनि महिलाले नेतृत्व गरेका धेरै देखिन्छन्।
अर्थ मन्त्रालयको २०७४ को तथ्यांकअनुसार मुलुकभर महिलाको नेतृत्वमा ४ हजार १ सय १३ वटा सहकारी सञ्चालनमा छन्। जति पनि महिलाले चलाएका सहकारीहरू छन्, तीमध्ये बहुसंख्यक सहकारी समाजमा अब्बल सावित भएर उभिएका छन्। महिलाको नेतृत्वसहित हाल देशभर ३१ हजार ४ सय ५० वटा विभिन्न प्रकृतिका सहकारी सञ्चालनमा छन्। सहकारीको काम बचत उठाउनु र ऋण लगानी मात्रै होइन। सानो सानो पुँजी जुटाएर उत्पादनमूलक कार्य गराउनु पनि हो। जसले स्थानीय उत्पादनलाई उद्योगमा पु¥याउँछ भने उद्योगले स्थानीयस्तरमै रोजगारी सिर्जना गर्छ।
घरेलु कच्चा पदार्थको उत्पादनले मुलुककै व्यापार घाटालाई न्यूनीकरण गर्दै आत्मनिर्भर बनाउँछ।
सहकारीले बचतलाई उत्पादनमा जोड्नुपर्ने थियो। त्यसो नहुँदा सहकारीको बचत टाठाबाठाले हत्याउँदै आए। बचतकर्ताहरू भने ब्याजको लोभमा सडकमा आउनेस्थिति बन्यो। सहकारीको समस्या समाधानका लागि बचतलाई बिलासितामा प्रयोग गर्न कडाइका साथ रोक्नुपर्छ। सहकारीको पैसाले जग्गा प्लटिङ, घर निर्माण, गाडी खरिदको काम रोक्नैपर्छ। महिलाले नेतृत्व गरेका कतिपय सहकारीले गरेका नमुना कामलाई सरकारले सिकाइ थलोका रूपमा विकास गर्ने नीति बनाउनुपर्छ।
पनौतीको समर्पण साना किसान कृषि सहकारीले ४० जना डकर्मी उत्पादन गरेर जीविकोपार्जनमा दीर्घकालीन समाधान दियो। विदेश हिँडेका युवालाई सहकारीको सानो पुँजीले व्यावसायिक तरकारी खेतीमा जोडिदियो। जसले करोड बढीको तरकारी उत्पादन गरेर निर्यात गर्छन्।
समस्याग्रस्त सहकारी कम छन्, धेरै सहकारी ठिकठाक चलिरहेका छन्। तर उद्देश्य अनुरुप काम गरिरहेका सहकारीको संख्या भने कम छ। सहकारीलाई आर्थिक विकासको मेरुदण्ड स्थापित गर्न नियमन पाटोलाई बलियो बनाउनुपर्छ। नियमनको जिम्मेवारीलाई एकद्धार बनाउनुपर्छ। सशक्त नियमन गर्ने निकाय रहनुपर्छ।
सहकारी स्थापनामा पनि उद्देश्यलाई कार्यान्वयन गर्न सक्ने क्षमतालाई हेरिनुपर्छ। त्यस्ता कमजोर कानुनी व्यवस्थालाई रोक्ने गरी कानुनी तर्जुमा गर्ने र नमुना सहकारीको सिकाईलाई अन्य सहकारीमा कार्यान्वयन गर्ने नीति बनाउनुपर्छ। सहकारीलाई उत्पादनमा जोड्नुको विकल्प छैन।