बल्ल पूरा हुँदै पढ्ने रहर

बेसहारा बालबालिकाको अभिभावक, स्थानीय सरकार

बेसहारा बालबालिकाको अभिभावक, स्थानीय सरकार

सिन्धुपाल्चोक : स्नेहा तामाङ पाँच वर्षकी भइन्। उनलाई पढ्ने ठूलो रहर छ। ‘धेरै पढ्ने रहर छ, पढेर ठूलो मान्छे बन्छु,’ तोतेबोलीमा उनी भन्छिन्। 
सिन्धुपाल्चोकको सदरमुकाम रहेको चौतारा साँगाचोकगढी नगरपालिका–५ कि उनले पाँच वर्षसम्म विद्यालय टेक्न पाइनन्। बुवा र आमाको अवस्था अज्ञात रहेको उनी छिमेकी वृद्ध हजुरबा, हजुरआमासँग बस्दै आएकी थिइन्। विद्यालय जाने उमेर भइसक्दा पनि पारिवारिक अवस्थाका कारण उनी विद्यालय पुग्न नपाएकी हुन्। 

सैनिक बनेर देशको रक्षा गर्ने सपना देखेका चौतारा साँगाचोकगढी नगरपालिका– ११ फँलाटेका १३ वर्षीय समीर नेपालीकी आमालाई ब्लड क्यान्सर भयो। सानैमा बुवा बितेका थिए। ब्लड क्यान्सरको उपचारका लागि आमालाई उनका दाजुले दुई वर्षअघि काठमाडौं लगे। काठमाडौंमा सवारीसाधन चलाएर दाजुले कमाएको पैसाले आमाको उपचार गर्न त पुग्दैन, समीरको पढाइमा कसरी खर्च गर्नु ? ठूलीआमाको परिवारको आर्थिक स्थिति पनि राम्रो नभएकाले समीरको पढ्ने सपना सपनामै सीमित भयो। ‘पढ्ने धेरै रहर छ, तर कापी, ड्रेस किन्ने पैसा थिएन’, उनी भन्छन्।

तर, स्नेहा र समीरजस्तै बेसहारा १९ जना बालबालिकाले सहारा पाएका छन्। चौतारा साँगाचोकगढी नगरपालिकाले सहिद स्मृति आवासीय बालग्राम सञ्चालनमा ल्याएर उनीहरूको अभिभावकत्व ग्रहण गरेको छ। नगरपालिकाले वडा नम्बर ७ मा रहेको दरबारडाँडामा बालग्राम सञ्चालन गरी अभिभावक जेलमा परेका, बाबु÷आमाले दोस्रो बिहे गरेपछि बिचल्लीमा परेका, कुमारी आमाबाट जन्मिएका, आर्थिक रूपले विपन्न, आमाबाबुविहीन, विद्यालय मर्जका कारण शैक्षिक सुविधाबाट वञ्चित भएका बालबालिकाहरूलाई निःशुल्क गाँस, बास र शिक्षाको अवसर दिएको छ।

नगरपालिकाले अभिभावकत्व ग्रहण गरेपछि ठूलोसिरुवारीका आशिष पुरी निकै खुसी छन्। उनका बुवाको क्यान्सरका कारण मृत्यु भयो। आमाले दोस्रो विवाह गरिन्। बुवाआमाको साथ गुमाएपछि बेवारिसे थिए, पुरी। ‘अहिले राम्रोसँग बस्न, खान र पढ्न पाएका छौं’, पुरीले भने– ‘नगरपालिकाले हामीलाई अर्को जीवन दियो। धेरै खुसी लागेको छ।’

पढेर नर्स बन्ने र सबैको सेवा गर्ने सपना देखेकी चौतारा साँगाचोकगढी नगरपालिका– ११ डाँडाथोककी सर्जुना नेपालीले विद्यालय जान पाइएला भन्ने सोचेकी थिइनन्। कक्षा ४ मा भर्ना भएकी उनी झोला बोकेर विद्यालय जान पाउँदा दंग छिन्। ‘धेरै खुसी लागेको छ, अब त म नर्स बन्न पाउँछु,’ बालग्राममा बस्दै आएकी उनले भनिन्। बालग्राममा रहेका सबै बालबालिका नजिकैको ज्ञानमन्दिर नमुना माध्यमिक विद्यालयको विभिन्न कक्षामा अध्ययन गर्छन्। त्यसको व्यवस्थापन विद्यालयसँगको समन्वयमा नगरपालिकाले गरिरहेको छ।

कम्पाउन्डसहितको बालग्राममा बालबालिकाको हेरचाह वार्डेन र अन्य दुई सहयोगीले गर्छन्। उनीहरूलाई अनुशासित र लगनशील बनाउन समय व्यवस्थापन गरिएको छ। बिहान व्यायाम र खेल क्रियाकलाप, दिउँसो विद्यालय र साँझ गृहकार्यको तालिका छ। उनीहरूलाई खाजा खान र बस्ने सुत्ने व्यवस्था पनि त्यति नै व्यवस्थित गरिएको छ। बालक र बालिकाका लागि छुट्टाछुट्टै शौचालय बनाइएको छ। टिभी हेर्ने, व्यायाम गर्ने, खेल्ने, अध्ययन गर्ने, खाना खाने समय छुट्ट्याइएको छ। सहाराविहीनको सहारा बेसहारा बालबालिकाहरूको लागि नगरपालिकाले अभिभावकत्व ग्रहण गर्ने र शिक्षाको अवसरबाट बञ्चित नगराउने उद्देश्यले बालग्राम सञ्चालनमा ल्याइएको चौतारा साँगाचोकगढीकी उपप्रमुख सीता थापाले बताइन्। 

‘एउटा परिवारको बालबालिकाको लागि अभिभावकले जे जस्ता भूमिका निर्वाह गर्नुपर्छ त्यो हामी गर्न चाहान्छौं’, उपप्रमुख थापाले भनिन्, ‘बालबालिकाले म अभिभावकविहीन छैन, मेरो अभिभावक स्थानीय सरकार हो भन्ने प्रत्याभूति दिलाउने प्रयत्न गरिरहेका छौं।’ भौतिक पूर्वाधार विकासलाई भन्दा असहाय बालबालिकाको संरक्षणलाई प्राथमिकता दिएको बताउँदै चौतारा साँगाचोकगढी नगरपालिका उपप्रमुख थापाले सहिदहरूको सम्झनामा सहिद स्मृति आवासीय बालग्राम नाम राखिएको बताइन्। 

‘यो नगरपालिकाको सपना हो, जसको कोही पनि छैन, उनीहरूको सहारा हौं हामी,’ उनले भनिन्– ‘यहाँ आउनुभएका बालबालिकाहरू संरक्षण गर्ने अभिभावक नभइरहँदा विद्यालय जाने अवस्थाबाट रोकिनु भएको थियो।’ 

सहाराविहीन भएका कतिपय बालबालिका सडकमा भौंतारिएर हिँड्ने गरेकोले पढ्ने, लेख्ने अधिकारबाट बञ्चित हुने तथा कुपोषण हुने गरेकोले एक महिना अघिबाट बालग्राम सञ्चालनमा ल्याइएको उनको भनाइ छ। 

‘बालबालिकाको हेरचाह, स्याहारसम्हार तथा आधारभूत अधिकार उपयोग र संरक्षण गर्न हामीले बालग्राम अवधारणा बनाएर सञ्चालनमा ल्याएका हौं, थापाले भनिन्– ‘बालग्राम सञ्चालनमा आएपछि अनाथ, असहाय, विपन्न बालबालिकाहरूले निःशुल्क आवासीय रूपमा अध्ययन गर्न पाएका छन्।’

नगरभित्रका विपन्न तथा आधारभूत सुविधाबाट वञ्चित रहेका बालबालिकाहरू कक्षा १२ सम्म निःशुल्क शिक्षासहित नगरपालिकाको संरक्षणमा आवासीय बालग्राममा बस्ने नगरपालिकाले जनाएको छ। बालग्रामको भौतिक संरचना र शैक्षिक क्षेत्रको विकासका लागि नगरपालिकाले २३ लाख खर्च गरेको छ। भवन मर्मत, कम्पाउन्ड, कोठा व्यवस्थापन, खानेपानी, शौचालय र कर्मचारी व्यवस्थापनका लागि सो रकम खर्च गरिएको नगरपालिकाको भनाइ छ। 

२०७२ सालको भूकम्पमा भूकम्पपीडितलाई सामूहिक बस्नको लागि बनाइएको र कोरोना कालमा क्वारेन्टाइनका लागि प्रयोग गरिएको जस्ताको छाना भएको संरचनालाई हाल आवासीय बालग्राम बनाइएको हो। नगरपालिकाले प्राथमिकता राखेको बालग्रामको भवन निर्माणका लागि बागमती प्रदेश सरकारले ७० लाख रुपैयाँ अनुदान दिएको छ। यसबाट आधारभूत आवश्यकता परिपूर्ति हुने गरी भवन निर्माण गरिने नगरपालिकाले जनाएको छ।

बालग्राममा रही अध्ययन गर्न चाहने बालबालिकाको लागि नगरपालिकाले तीनवटा मापदण्ड बनाई विद्यालय र वडा कार्यालयको सिफारिससहित निवेदन माग गरेको थियो। बुवा, आमा दुबै नभएका, बुवा या आमा नभएका र विद्यालय मर्जका कारण भौगोलिक हिसाबले विद्यालय टाढा भएर पढ्न नपाएका बालबालिकाहरू बालग्राममा रहन सक्ने मापदण्ड नगरपालिकाले बनाएको थियो। मापदण्डअनुसार २४ जना बालबालिका छनोट भएकोमा १९ जना सम्पर्कमा आएको बालग्राम सञ्चालन समिति सदस्य एवं नगर शिक्षा सुपरिवेक्षक राजु पराजुलीले बताए।

‘बालग्राममा संख्या थप गरिदिनुप¥यो भनेर स्थानीय स्तरबाट माग आइरहेको छ’, पराजुली भन्छन्– ‘हामीले संख्याभन्दा पनि अति आवश्यक भएका बालबालिकाहरूलाई राख्ने योजना बनाएका छौं। संरचनाले अहिले हामीलाई केही समस्या बनाएको छ। बालबालिका थप गर्ने कार्यलाई हामी क्रमशः निरन्तरता दिँदै जानेछौं।’ बालग्रामलाई नगरपालिकाको निगरानीमा स्वायत्त शिक्षण संस्था बनाएर लैजाने योजना रहेको उनले सुनाए।

समायोजन गर्न केही कठिनाइ

बालग्राममा रहेका १९ जना बालबालिकाहरू नगरपालिकाको समन्वयमा चौतारा साँगाचोकगढी नगरपालिका– ७ मा रहेको ज्ञानमन्दिर नमुना माध्यमिक विद्यालयमा विभिन्न कक्षामा अध्ययन गरिरहेका छन्। तर, उनीहरूलाई विद्यालयमा घुलमिल हुन भने समस्या देखिएको छ।

‘पारिवारिक रूपमा केही बिचलन भएको, आमाबुवा नभएको हुँदा उनीहरूले गर्ने व्यवहार अरू स्वाभाविक बालबालिकाभन्दा केही फरक छ। यी बालबालिकाहरूलाई विद्यालयमा समायोजन गरिरहँदा सुरुवातमा केही कठिन भयो’, ज्ञानमन्दिर नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक पुण्य गजुरेलले भने– ‘उनीहरूले अरू साथीहरूसँग बोल्ने, व्यहार गर्ने कार्य, घुलमिल हुने, दिवा खाजामा सामेल हुँदाको कुरामा केही समस्या देखिएको थियो। अहिले विस्तारै उनीहरू अन्य बालबालिका सरहको व्यवहार परिवर्तन गर्न प्रयासरत छन्।’

नगरपालिकाले अध्यापनको लागि सिफारिस गरेपछि विद्यालयले बालबालिकाहरूको सिकाइ, व्यवहार र क्षमतालाई जाँच गरी कुन कक्षामा अध्यापन गराउँदा उपयुक्त हुन्छ भनेर गरिएको मूल्यांकन अनुरूप विभिन्न कक्षामा भर्ना लिइएको थियो। ‘पारिवारिक विचलनका कारण अहिलेसम्म पढाइ सुरुवात नगरेको, शैक्षिक वातावरणमा घुलमिल हुन नसेका बालबालिकाहरू रहेका कारण उनीहरूको क्षमताको मूल्यांकन गरी भर्ना गरेका हौं’, गजुरेलले भने– ‘यसरी गर्दा पनि उनीहरूमा राम्रो पठनपाठनको संस्कार विकास गर्न समय लाग्छ। उनीहरूलाई पठनपाठनमा अब्बल बनाउने कुरा नै चुनौतीपूर्ण छ।’

उनीहरूको शैक्षिक सुधारको लागि विद्यालयले प्रयत्न गरिरहेको प्रधानाध्यापक गजुरेल बताउँछन्। ‘साना बालबालिकाहरूलाई त समय बाँकी नै छ उनीहरूको शैक्षिक स्थिति सुधार गरेर लैजान सकिन्छ तर ७, ८, ९ कक्षा पढ्ने बालबालिका जो पृथक् पृष्ठभूमिबाट आएका छन्, जो शैक्षिक वातावरणमा धेरै अभ्यस्त हुन सकेको थिएनन्। उनीहरूको शैक्षिक सुधार, व्यवहार सुधारको लागि हामी थप नयाँ शैक्षिक कार्यक्रम र अतिरिक्त समयमा सिकाइ क्रियाकलाप गरेर सुधार गर्दै लैजाने प्रयत्नमा छौं’, उनले भने।

बालग्राममा रहने बालबालिकाको शैक्षिक विकासको लागि नगरपालिकाले कुनै पनि सम्झौता नगर्ने नगर उपप्रमुख थापा बताउँछिन्। ‘उहाँहरू विशेष अवस्थाबाट आउनु भएकोले थप कक्षाको आवश्यकता पर्छ भने पनि नगरपालिका त्यो प्रदान गर्न तयार छ’, उनले भनिन्–। ‘बेसहारा बालबालिकालाई सहारा दिई अभिभावकीय दायित्व निर्वाह गर्नु स्थानीय सरकारको कर्तव्य हो।’,

नेपालको संविधान २०७२ मा बालबालिकाको संरक्षण, सशक्तीकरण र विकासको लागि कानुनद्वारा विशेष व्यवस्था गर्न सक्ने व्यवस्था गरिएको छ। 

त्यस्तै निःशुल्क शिक्षा पाउने र प्रत्येक बालबालिकालाई आफ्नो पहिचान तथा नामको हक हुने व्यवस्था गरिएको छ। 

प्रत्येक बालबालिकालाई पालनपोषण, आधारभूत स्वास्थ्य र सामाजिक सुरक्षा प्राप्त हुने र प्रत्येक बालबालिकालाई शारीरिक, मानसिक वा अन्य कुनै पनि किसिमको शोषणविरुद्धको हक प्राप्त हुने व्यवस्था पनि संविधानमा गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.