माटोका भाँडा पनि सीमावर्ती बजारकै
विराटनगर : चाडपर्वमा प्रयोग गरिने माटोको भाँडा पनि भारतीय सीमावर्ती बजारबाट आउन थालेको छ। कुमाल समुदाय माटो भाँडो बनाउन छोडेपछि भारतीय बजारबाट माटोको भाँडो आउन थालेको हो।
पुख्र्यौली पेसालाई कुमाल समुदायले अँगाल्न नचाहेपछि नेपाली बजारमा भारतीय माटोको भाँडाका लागि निर्भर हुनु परेको हो। भाँडा बनाउने माटो र मेहनतअनुसारको आम्दानी नहुँदा नेपाली कुमाल आफ्नो पुख्र्यौली पेसाबाट बिखुम हुँदा सीमा आसपासका बजारमा भारतीय कुमालले बनाएका भाँडा बिक्री गर्ने गरेको सुनसरी साहेबगन्जका महेन्द्र पण्डितले जानकारी दिए।
पुस्तौंदेखि गर्दै आएको काम आधुनिकताको चपेटाले संकटमा परेपछि कुमालहरू अहिले अन्य पेसामा संलग्न हुन थालेका छन्। नेपालमा भाँडा नबनेपछि भारतीय सीमावर्ती बजार डुमराहीबाट किनेर विराटनगरमा माटोको भाडा बेच्ने गरेको उनले बताए। सार्वजनिक जग्गामा माटो निकाल्न रोक लगाएपछि माटोको भाँडा बनाउने पेसा संकटमा परेको भन्दै नेपाली कुमालले अन्य पेसा रोजेको बताइएको छ।
चाडपर्वको बेला माटाको भाँडा बढी प्रयोग हुने भएका कारण भारत बिहारका सीमावर्ती गाउँ फरबिसगन्ज, जिमराही, पुलकाहाका कुमाल बिहानैदेखि सडक किनारामा माटोेका भाडा बिक्री गर्न व्यस्त देखिन्छन्। लामो समयदेखि विराटनगरको भड्ठी मोडमा माटोका भाँडाको पसल सञ्चालन गर्दे आएका रमानन्द साहले आफूले भारतीय कुमालले बनाएका भाँडा बिक्री गर्ने गरेको बताए।
‘व्यापार राम्रो छ। तर नेपाली कुमालले मागअनुसारको माटोका भाँडा बनाउँदैनन्’, उनले भने। भारतको फुलकाहा बजारका चिन्ता देवीले चार्डपर्वको बेला आफूहरू नेपाली बजारमा आएर भाँडा बिक्री गर्ने गरेको सुनाइन्। उनले बिहानदेखि बेलुकासम्म भाँडा बिक्री राम्रो हुने गरेको बताइन्।
भारतीय जिमराहीका श्यामदेव पण्डितले विराटनगरका अधिकांश पसलमा आफूले थोक रूपमा माटोका भाँडा बिक्री गर्ने गरेको बताए। नेपाली बजारमा माटोका भाँडा बिक्री गरेर चार सन्तानको पढाइसहित घर चलाउने गरेको उनले सुनाए। माटोका भाँडा प्रायः धार्मिक काम, पूजापाठको काममा प्रयोग गर्नुपर्ने अनिवार्यता रहेको छ।
मेहनतअनुसारको आम्दानी नहुने भएकाले माटोका भाँडा बनाउन छोडेको विराटनगरका मनोज कम्हारले जानकारी दिए। पछिल्ला दिनमा युवा पुस्ताको आकर्षण कम हुँदा माटोका भाँडा भारतबाट ल्याउनुपर्नै बाध्यता भएको उनको भनाइ छ।
परम्परादेखि नै माटोबाट बनाइएका विभिन्न भाँडा घरघरमा हिजोआज प्रयोग गरिन छाडेपछि पेसा नै संकटमा परेको छ। कुमालको पेसा बजारमा आएका प्लास्टिकका भाँडाको प्रयोग बढ्दै जाँदा लोप हुँदै गएकोमा बूढापाका चिन्ता व्यक्त गर्छन्।