पाटन नमुना सहरलाई संघीय सरकारको थप बजेट

पाटन नमुना सहरलाई संघीय सरकारको थप बजेट
सुन्नुहोस्

बैतडी : पाटन नमुना सहरका अपूरा योजना पूरा गर्न र थप योजनाको सुरुवातका लागि संघीय सरकारले यस वर्ष थप बजेट पठाएको छ। विगतका वर्षहरूमा विनियोजन बजेटको ५० प्रतिशतसमेत खर्च नहुने गरेकोमा गत आर्थिक वर्षमा बजेट खर्च र योजना कार्यान्वयनमा प्रगति देखिएपछि यस वर्ष सरकारले बजेट थप गरेको हो। 

आर्थिक वर्ष २०७८/०७९ आयोजना कार्यालयलाई प्राप्त १६ करोड रकममा ३ करोड रुपैयाँमात्रै खर्च भएको थियो। बाँकी १३ करोड रुपैयाँ बजेट फ्रिज गएको थियो। 

आर्थिक वर्ष २०७९/८० मा १३ करोड रुपैयाँ बजेट आएको थियो। त्यसबाट ५ करोड रुपैयाँ बजेट फ्रिज गएको थियो। गत वर्ष अर्थात् २०८०/८१ मा ८ करोड बजेट आएकोमा झन्डै ७ करोड रुपैयाँ खर्च भएको छ। गत आर्थिक वर्षमा खर्च प्रगतिमा सुधार भएपछि गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा बजेट बढेर आएको हो।]

गत वर्ष योजना कार्यान्वयन र बजेट खर्चको सन्तुलन मिल्दा चालु आर्थिक वर्षमा १३ करोड ४७ लाख रुपैयाँ बजेट आएको छ। गत वर्ष कार्यान्वयनमा गएका पाँचवटै योजनाको काम सम्पन्न भएको थियो। एक योजनालाई क्रमागत भन्दै यस वर्षका लागि सारिएको थियो। बजेट अभावले पाटन–१ को बृहत् खानेपानीको योजना कार्यान्वयन हुन सकेको थिएन। चालु आर्थिक वर्षमा उक्त योजनाका लागि साढे ४ करोड रुपैयाँ बजेट आएको छ। 

गत वर्षदेखि कार्यालय प्रमुखको रूपमा भूपराज पौडेल आएका छन्। बजेट खर्चदेखि नयाँ योजना कार्यान्वयनको लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ। यस वर्ष अपूरा योजना पूरा गर्न र केही नयाँ योजना कार्यान्वयनको लागि बजेट आएको हो। 

यसवर्ष वडा नं १ को खानेपानी आयोजना पूरा गर्न साढे ४ करोड रुपैयाँ बजेट आएको छ। फोहोर संकलन केन्द्रसम्म जोड्ने बाटो र संकलन केन्द्रको काम पूरा गर्न डेढ करोड रुपैयाँ बजेट आएको छ। भरतपुर खेलमैदान र कृष्ण माविको खेलमैदान पूर्ण गर्न पनि बजेट आएको छ। 

पाटन बजार क्षेत्रका विभिन्न योजना पूरा गर्नका लागि ३ करोड रुपैयाँभन्दा बढी बजेट आएको छ। यस बजेटबाट यसअघिका करिब १० अपुरा योजनाहरू पूरा गरिने छ। यस शीर्षकमा बजेट थप माग गरिएको छ। 

नयाँ सहरको पहिचानसँग जोडिएको नमुना बसपार्क निर्माणको काम ३ महिनामै सम्पन्न गर्न सम्बन्धित निर्माण कम्पनीलाई निर्देशन गरिएको नयाँ सहर योजना कार्यालयका प्रमुख पौडेलले जानकारी दिए। निर्माण कम्पनीले पनि दसैंअगावै सम्पन्न गर्ने दाबी गरेको छ। काम अन्तिम चरणमा पुगेको यो बसपार्क निर्माणका लागि एक दशकपहिले ठेक्का भएको थियो। 

यसैगरी नयाँ सहरको पहिचानसँग जोडिएको जग्गा एकीकरण प्रक्रिया अघि बढाउन पनि एक लाख रुपैयाँ बजेट आएको छ। जग्गा एकीकरणका लागि पाटन–६ को नङाडीबाटाका स्थानीयहरूले जग्गा उपलब्ध गराउने बताएका छन्। यस वर्ष १३ करोड ४७ लाख रुपैयाँ बजेट आएको र सबै बजेट कार्यान्वयनको लागि तयारी भइरहेको आयोजना कार्यालयले जनाएको छ।

आर्थिक वर्ष २०६७/६८ मा १० वटा नमुना सहर बनाउने सरकारले घोषणा गरेको थियो। सोही अनुरूप बैतडीको पाटन पनि नमुना सहरको रूपमा विकासित गर्ने सूचीमा परेको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.