पत्रकार महासंघका केन्द्रीय अध्यक्ष पोखरेलले दिए राजीनामा
काठमाडौं : नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएका छन्। पत्रकार महासंघको निर्वाचन समयमा नै गर्न नसकेपछि पोखरेलले राजीनामा दिएका हुन्।
गत चैतमा नै नेपाल पत्रकार महासंघ केन्द्र, प्रदेश र जिल्लाको कार्यकाल सकिएको थियो। पत्रकार महासंघ केन्द्रले असोज ५ गतेका लागि नयाँ निर्वाचनको मिति तोकिएको छ। यस अगाडि जेठ २६ गतेका लागि निर्वाचन हुन नसकेपछि पुन: असार २२ गतेका लागि समय निर्धारण भएको थियो। तर मतदाता नामावलीमा देखिएको विवाद समाधान नहुँदा निर्वाचन हुन सकेको थिएन। आगामी असोज ५ गतेका लागि नयाँ निर्वाचन मिति तय भएपनि हालसम्म नयाँ मतदाता नामावली र कार्यतालिका सार्वजनिक भएको छैन।
यस अगाडि भदौ १६ गते विज्ञप्ति जारी गर्दै उनले घोषित मितिमा निर्वाचन हुन नसकेकामा आफूले नैतिक जिम्मेवारी लिने बताएका थिए। ‘महासंघ आफैंमा एउटा स्वतन्त्र र छाता संस्था हुँदाहुँदै पनि यससँग सरोकार राख्ने पक्षको आवाजलाई सुन्ने र सम्बोधन गर्ने अभ्यास र दायित्वका कारण केही अन्योल र अलमल देखिन पुगेको स्पष्ट पार्न चाहन्छु। घोषित मितिमा निर्वाचन हुन नसक्नुका कारणहरू जे जस्ता भए पनि अध्यक्षका नाताले त्यसको नैतिक जिम्मेवारी ग्रहण गर्दछु। महासंघले यसबीचमा भोगेका सकारात्मक पक्षहरू अनुसरण गदै नकारात्मक पक्षहरूबाट शिक्षा लिँदै सच्चिनु पर्ने आवश्यकता महसुस गरेको छु’उनले विज्ञप्तिमार्फत भनेका थिए।