कोशीमा विषयगत समितिका सभापति चयन गरिँदै

कोशीमा विषयगत समितिका सभापति चयन गरिँदै
सुन्नुहोस्

विराटनगर : प्रदेशसभा निर्वाचन सम्पन्न भएको झन्डै २ वर्ष पुग्न लाग्दा कोशी प्रदेशमा संसदीय समितिका सभापति चयन गर्ने अन्तिम तयारी भइरहेको छ। 

संसद (प्रदेशसभा)को विषयगत समितिहरूले भदौ २८ गते शुक्रबार सभापति पाउने लगभग पक्कापक्की जस्तै भएको हो। सभामुख अम्बरबहादुर विष्टले प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको २१ महिनापछि सभापति चयन हुने चरणमा पुगिएको बताए। 

२०७९ मंसिर ४ गते सम्पन्न प्रदेशसभाको निर्वाचनपछि संसदको पहिलो बैठक २०७९ पुस १७ गते बसेको थियो। त्यसको झन्डै १ वर्षपछि २०८० कात्तिक २० गते संसदीय समितिका सदस्य छानिएका थिए। सभापति चयन भने अहिलेसम्म हुन सकेको छैन। 

सभामुख विष्टले भदौ २८ गते सभापति छनोट गरिने जानकारी दिए। प्रदेशसभा सचिवालयले त्यही अनुसार तयारी गरेको छ। २८ गते सभापति छानेर सोही दिन शपथ गराउने सहमति भएको बताइएको छ।

कोशी प्रदेशसभामा न्याय प्रशासन तथा विधायन समिति, सुशासन तथा योजना समिति, अर्थ समिति, सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति, उद्योग पर्यटन तथा वातावरण समिति र प्राकृतिक स्रोत तथा पूर्वाधार गरेर ७ वटा समिति छन्। 

तीमध्ये संसदको सबैभन्दा ठूलो दल नेकपा (एमाले)ले ३, दोस्रो दल नेपाली कांग्रेसले २ तथा नेकपा (माओवादी केन्द्र) र राप्रपाले १–१ वटा समितिको सभापति पाउने स्रोतले बतायो। 

तर, कांग्रेसले ३ वटा र माओवादीले २ वटा समितिको सभापतिमा दाबी गरेका कारण हालसम्म कुरा मिल्न नसकेको बताइएको छ। एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी एमालेले ३, कांग्रेसले २, माओवादीले १ र अरु (राप्रपा)लाई पनि १ वटा सभापति दिने कि भन्ने कुरा रहेको बताउँछन्। ‘समितिका सभापति कसलाई कति दिने भनेर यकिन भइसकेको छैन। मंगलबार टुंगो लाग्छ,’ उनले भने। 

प्रमुख प्रतिपक्षी माओवादीले सार्वजनिक लेखा समिति पाउने लगभग निश्चित छ। मुख्यमन्त्री हिक्मतकुमार कार्की राप्रपालाई एउटाको सभापति दिने पक्षमा छन्। राप्रपालाई पनि चिढ्याउन नहुने पक्षमा उनी रहेको स्रोतले बतायो। सहमतिमै समिति सभापति छान्ने कुरा रहेको भण्डारीको भनाइ छ। 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले एउटा समितिको सभापतिमा आफ्नो दलको दाबी रहने जानकारी दिए। राप्रपाले एउटा समितिको नेतृत्व पाउनुपर्छ भन्दा सबै नेताले सकारात्मक प्रतिक्रिया दिएको उनको भनाइ छ। 

कोशीको संसद ९३ सदस्यीय छ। प्रदेशसभामा एमालेका ४० (उपसभामुखसहित), कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६ (सभामुखसहित), नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टी (जसपा)का १ जना सांसद छन्। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.