५ वर्षपछि नेपाल–चीन संयुक्त सैन्य अभ्यास हुँदै

५ वर्षपछि नेपाल–चीन संयुक्त सैन्य अभ्यास हुँदै
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य अभ्यासको चौथो संस्करण चीनमा हुने भएको छ। कोरोना संक्रमणको जोखिम देखाउँदै २०७६ (सन् २०१९) पछि दुई मुलुकका सैनिकबीच यस्तो अभ्यास हुन सकेको थिएन। नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको सैन्य अभ्यास असोज ५ मा सुरु हुनेछ। उक्त सैन्य अभ्यास असोज १५ सम्म चल्ने जंगी अड्डा स्रोतले जनाएको छ। 

कोरोना भाइरसको संक्रमण पूर्णरूपमा हटिसकेपछि पनि चिनियाँ पक्षले जोखिम कायम रहेको भन्दै सैन्य अभ्यास सुचारु गर्नेबारे ठोस कदम चालेको थिएन। निवर्तमान प्रधानसेनापति प्रभुराम शर्माले आफ्नै कार्यकालमा नेपाल र चीनबीचको सैन्य अभ्यासको मिति टुंगो लगाउन चाहेका थिए। शर्माले चिनियाँ पक्षलाई त्यस्तै सन्देश पनि पठाएका थिए। सोहीबमोजिम दुवै मुलुकका सैनिक अधिकारी सैन्य अभ्यास गर्न तयार भएको स्रोतले बताएको छ। 

सैनिक प्रवक्तासमेत रहेका सहायक रथी गौरवकुमार केसीले सैन्य अभ्यास गर्नेबारे दुवै मुलुकका सैनिक अधिकारीहरूबीच छलफल भइरहेको बताए। सैनिक प्रवक्ता केसीले अन्नपूर्णसँग भने, ‘नेपाल–चीनको संयुक्त सैन्य अभ्यास छिट्टै हुन्छ।’ नेपाली सेना र काठमाडौंस्थित चिनियाँ दूतावासका अधिकारीहरूले सैन्य अभ्यासको तयारी गरिरहेका छन्। 

निवर्तमान प्रधानसेनापति शर्माले उपरथी प्रेमध्वज अधिकारीलाई सैन्य अभ्यास अघि बढाउनेबारे छलफल गर्न केही समय पहिला चीन पठाएका थिए। उपरथी अधिकारी चीनबाट फर्किए लगत्तै सैन्य अभ्यासको प्रक्रिया अघि बढेको जंगी अड्डा स्रोतले बताएको छ। 

‘सगरमाथा फ्रेन्डसिप’ नाम दिइएको नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य अभ्यास यसपटक चीनको सिचुवान प्रान्तको छेन्दु नजिकैको सहर छोङछिङमा हुनेछ। यसअघि सन् २०१९ मा उक्त सैन्य अभ्यास काठमाडौंमा भएको थियो। कोरोना संक्रमणपछि भने उक्त सैन्य अभ्यासले निरन्तरता पाएको थिएन। 

नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच अन्य तालिमहरू नियमित भए पनि सैन्य अभ्यास भने हुने गरेको थिएन। दुई मुलुकका सैनिक अधिकारीबीच विसं २०७४ देखि सैन्य अभ्यास हुँदै आएको छ। जसलाई विश्वका शक्ति राष्ट्रहरूले अस्वाभाविक ठान्दै आएका छन्। त्यसैले पनि यस्तो सैन्य अभ्यासलाई भूराजनीतिसँग जोडेरसमेत हेरिने गरेको छ।

चीनले सैन्य अभ्यास वा विकासका लागि भन्दै एकपछि अर्को परियोजना नेपालमा कार्यान्वयन गर्न खोजेपछि अर्को छिमेकी मुलुक भारतलगायत पश्चिमा मुलुकहरू पनि उसको भूमिकाप्रति शसंकित हुन थालेका छन्। 

जापान, कोरिया, भारत, अमेरिका र युरोपेली मुलुकले नेपाल र चीनबीचको सैन्य अभ्यासप्रति असहजता प्रकट गर्दै आएका छन्। कतिपय मुलुकका कूटनीतिज्ञले विगतमा नेपाल र चीनबीच भएका सैन्य अभ्यासको खुलेरै विरोध गरेका थिए। ती मुलुकका अधिकारीहरूले सरकारी अधिकारी र सैनिक उच्च अधिकारीहरूसँग प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा नेपाल र चीनबीचको सैन्य अभ्यासको औचित्यप्रति प्रश्न उठाउँदै आएका छन्। 

नेपाली सेनाले चीनसँगको संयुक्त सैन्य अभ्यास नियमित र सामान्य भएको बताउँदै आएको छ। नेपालले अमेरिकी सेनासँग पनि सैन्य अभ्यास गर्दै आएको छ। भारतीय सेनासँग पनि प्रत्येक वर्ष सैन्य अभ्यास हुँदै आएको छ। नेपाली र भारतीय सेनाबीच हुने सैन्य अभ्यासलाई ‘सूर्य किरण’ नाम दिइएको छ। 

नेपाली सेनाको विशेष फौज सैन्य अभ्यासमा सहभागी हुन चीन जानेछ। नेपाली सेनाका तर्फबाट पर्यवेक्षक टोलीसमेत सहभागी हुनेछ। उपरथी प्रदीपजंग केसी लगायतको तीन सदस्यीय टोली पर्यवेक्षकका रूपमा सैन्य अभ्यासमा सहभागी हुने छ। सैन्य अभ्यास प्रतिआतंकवाद युद्धकला, विपद् व्यवस्थापनलगायत विषयमा केन्द्रित छ। सैन्य अभ्यासमा दुवै मुलुकका कम्तीमा १८÷१८ जना फौज सहभागी हुने छन्। 

आतंकवादबाट उत्पन्न हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई दृष्टिगत गरी दुवै देशका विशेष सेनाले २०७४ देखि सैन्य अभ्यास गर्दै आएका छन्। पहिलो, दोस्रो र तेस्रो संस्करणको सैन्य अभ्यास पनि प्रतिआतंकवाद युद्धकला र विपद् व्यवस्थापनलगायतमा केन्द्रित थिए। 

२०७४ वैशाख ३ देखि १२ गतेसम्म पहिलोपटक काठमाडौंमा नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य अभ्यास भएको थियो। सैन्य अभ्यासको दोस्रो संस्करण २०७५ मा चीनको छेन्दुमा भएको थियो भने तेस्रो संस्करण नेपालमा भएको थियो। चीनमा हुने अभ्यास चौथो संस्करण हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.