कटहरीमा पहिलोपटक कृषि मेला, सबै तयारी पूरा
विराटनगर : कोशी प्रदेशको राजधानी विराटनगरनजिकै रहेको कटहरीमा पहिलोपटक कृषि मेलाको आयोजना गर्न लागिएको छ। आयोजकले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरेर मेलाको सबै तयारी पूरा भएको जानकारी दिएको छ। कटहरीको कृषि थोक बजारमा भदौ २७ देखि ३० गतेसम्म कृषि, उद्योग तथा पशुपंक्षीको बृहत प्रदर्शनी कृषि–एक्स्पो २०८१ गरिने भएको हो। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले एक्स्पो गर्न लागेको हो।
एक्स्पोमा १ सय ३० वटा स्टल रहने नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले जानकारी दिए। उनका अनुसार एक्स्पोमा भारतको कोलकत्ता र बिहारका समेत २० वटा कृषिका स्टलहरु रहने छन्। एक्स्पो अवधिभर कृषि, पशुपंक्षी, कष्टम हाइरिङ, क्लाइमेट चेन्ज, जैविक मल तथा विषादी बनाउने र प्रयोग विधि, पर्यावरण–मैत्री ज्ञान, सीप र प्रविधिलगायत विषयमा नेपाल र भारतका विज्ञहरुबीच संवाद हुने छ।
कृषि औजारको प्रदर्शनी, उन्नतजातका पशुपंक्षीको प्रदर्शनी, पशुपंक्षी तथा कृषि उपजको प्रतियोगिता खेतदेखि भान्साको अनुभव र फुट फेस्टिबल गरिने राउतले बताए। उनका अनुसार मेला अवलोकन गर्न बाहिरी जिल्लाबाट आउनेका लागि खाना र बस्न निःशुल्क गरिएको छ। पहाडी जिल्लाबाट अवलोकनका लागि आउने र एकै दिनमा फर्कन नसक्नेका लागि बस्ने र खाने सुविधा दिइएको उनले बताए। कोशी प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि सहयोग गर्ने उदेश्यसहित आयोजना गरिएको एक्स्पो सम्पन्न गर्न १ करोड खर्च लाग्ने अनुमान गरिएको राउतको भनाइ छ।
उनका अनुसार कोशी प्रदेशमा प्रादेशिक अर्थतन्त्रको एकतिहाइ भन्दा बढी हिस्सा ओगट्ने कृषिजन्य उत्पादनको प्रवर्द्धन र विस्तारको सम्भावनालाई दृष्टिगत गरेर उत्पादन वृद्धि, बजारीकरण, मूल्य अभिवृद्धिको विकासका लागि एक्स्पोले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। एक्स्पोले रोजगारी सिर्जनाका साथै राष्ट्रिय अर्थतन्त्रको विस्तारमा सघाउ पु¥याउने लक्ष्य राखिएको छ।
एक्स्पोलाई व्यवस्थित र सहज बनाउन ५ वटा ब्लक छुट्याइएको छ। ‘ए’ ब्लकमा पशुपंक्षी, ‘बी’मा कृषि, ‘सी’मा मेसिनरी, ‘डी’मा फुड स्टल र ‘ई’मा गोष्ठी तथा परामर्श सेवा रहेको जानकारी उनले दिए। उनका अनुसार कृषि व्यवसायीबीच विटुवी कार्यक्रम समेत राखिएको छ।
काठमाडौं विश्वविद्यालयले कृषि विषयमा परामर्श दिने कार्यक्रमसमेत छ। जुन लोकसेवाको तयारीमा रहेका परिक्षार्थीहरुका लागि उपयोगी राउत बताउँछन्। एक्स्पोमा जिल्ला नगर उद्योग वाणिज्य संघहरु, कृषि ज्ञान केन्द्र, कोशीका १३७ वटा स्थानीय तह, कृषक, कृषि व्यवसायी, सहकारी, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, कृषि कलेजबाट सहभागिता हुने जनाइएको छ।
उद्घाटनमा भारत, विहार राज्यका कृषिमन्त्रीलगायत कृषि विभाग र विज विभागका विज्ञहरुको सहभागिता रहने बताए। कृषि एक्स्पोमा प्रवेश निःशुल्क गरिएको छ।
कोशी प्रदेश सरकार, उद्योग कृषि तथा सहकारी मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघ, स्वीस सरकार विकास सहयोग एसडीसीले एक्स्पोको प्रवर्द्धन गरिरहेका छन्। नेपाल कृषि बजार विकास कार्यक्रम (सहज) र कटहरी गाउँपालिका सहयोगी संस्था रहेका छन्।