अहिले स्वास्थ्य संस्थामा अपुग जनशक्ति थप्न सक्ने अवस्था छैन : स्वस्थ्यमन्त्री पौडेल
वीरगन्ज : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले देशभरका सरकारी स्वास्थ्य संस्थामा अहिले जनशक्ति थप्न सक्ने अवस्था नरहेको बताएका छन्। मंगलबार वीरगन्जको नारायणी अस्पतालमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले देशको आर्थिक अवस्था कमजोर रहेकाले सरकारी अस्पतालमा अहिले जनशक्ति थप्न असम्भव रहेको बताए।
देशभर हाल ३२ हजार स्वास्थ्यकर्मी अपुग रहेको भएपनि मुलुकको आर्थिक अवस्थाका कारणले अहिले स्वास्थ्यकर्मी थप्ने अवस्था नरहेको उनले प्रस्ट्याए। उनले भने,‘देशैभरका अस्पतालमा स्वास्थ्यकर्मीको संख्या अपुग छ। त्यसले सेवा प्रवाहमा समस्या पनि भइरहेको छ। त्यसका कारण मेरो पनि चाहना त छ जनशक्ति थप्न पाए हुन्थ्यो। उपकरणहरू भरिभराउ गर्न पाए हुन्थ्यो। तर राज्यको आर्थिक अवस्था कमजोर भएकाले अहिले नै जनशक्ति थप्ने सम्भावना छैन।’
उनले हाल उपलब्ध जनशक्ति र उपकरणलाई नै भरपुर उपयोग गरेर सहज र गुणस्तरीय सेवा प्रवाह गर्न अस्पताल प्रमुखहरूलाई निर्देशन दिए। देशभरकै सरकारी अस्पतालको सेवा प्रभावकारी हुन नसकिरहेका कारण नागरिकमा सरकारी अस्पतालप्रति नकरात्मक सोच रहेको भन्दै उनले भने,‘सरकारी अस्पताल किन प्रभावकारी हुन सकिरहेका छैनन् ? के के मा सुधारको खाँचो छ ? त्यसको कारण पहिल्याउन जरुरी छ।’
स्वास्थ्यमन्त्री पौडेलले सरकारी अस्पतालप्रति नागरिकमा रहेको नकारात्मक भाष्य चिर्दै अस्पतालको सेवालाई डिजिटलाइट र प्रविधियुक्त बनाउन निर्देशनपनि दिए।
आफू खादा र माला लगाउन मन्त्री बनेको नभई काम गर्न मन्त्री बनेको सुनाउँदै मन्त्री पौडेलले स्वास्थ्य बिमालाई ५ लाख रुपैयाँ सम्म पुर्याउन आवश्यक रहेको बताए। उनले भने, ‘अहिले १ लाखको मात्रै स्वास्थ्य बिमा हुन्छ। जुन निकै अपुग छ। यसलाई कम्तिमा पनि ५ लाखसम्म पुर्याउन जरुरी छ। त्यसका लागि गृहकार्य भइरहेको छ।’
यसका लागि राज्य कोषबाट तलब सुविधा लिनेहरूको तलबबाट कम्तीमा २ प्रतिशत रकम र स्वास्थ्य क्षेत्रको बजेटबाट केही रकम बिमा कोषमा जम्मा गर्न सकियो भने स्वास्थ्य बिमाको रकम ५ लाख सहजै पुर्याउन सकिने धारणा उनले राखे।
सरकारले सात वटै प्रदेशमा एक एक वटा विशिष्टिकृत अस्पताल सञ्चालन गर्ने निर्णय गरेकोमा मधेस प्रदेशमा वीरगन्जको नारायणी अस्पताल छनौटमा परेको उनले जानकारी गराए। क्यान्सरको शल्यक्रिया, मुटु रोगको शल्यक्रिया र अंग प्रत्यारोपण सेवा विशिष्टिकृत अस्पताल सञ्चालन गरिने उनले सुनाए