कोशीका पूर्वमुख्यमन्त्री कार्कीलाई प्रहरीले पुर्‍यायो घर, फेरि आएर बसे अनशन

कोशीका पूर्वमुख्यमन्त्री कार्कीलाई प्रहरीले पुर्‍यायो घर, फेरि आएर बसे अनशन
सुन्नुहोस्

विराटनगर : कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की पुनः आमरण अनशनमा बसेका छन्। स्थान फेरेर उनले पुनः अनशन सुरु गरेका हुन्। 

कोशी प्रदेशसभा सचिवालयअगाडि अनशनमा बसेका कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर मोरङको बूढीगंगा गाउँपालिका–२ स्थित घरमा पुर्‍याएको थियो। तर, घरमा नबसिकन फर्किएर आएका उनी देवकोटा चोकनजिक अनशन बसेका छन्। अहिले अनशन बसेको ठाउँ निषेधित क्षेत्र हैन। 

यसअघि निषेधित क्षेत्रमा अनशन बसेपछि प्रहरीले हस्तक्षेप गरेर उठाएको थियो। अनशनस्थल फर्किएका कार्कीलाई प्रहरीले बस्न नदिएपछि उनी देवकोटा चोकमा अनशन बसेका हुन्।

अनशनस्थलबाट कार्कीलाई नियन्त्रणमा लिने क्रममा उनका समर्थक र सुरक्षाकर्मीबीच झडप भएको थियो। झडपमा दुवैतर्फ केही सामान्य घाइते भएका थिए। दोहोरो धक्कामुक्का हुँदा कार्कीसहितका केही अनशनकारीको कपडा च्यातिएको थियो। कार्कीले सुरु गरेको अनशनलाई नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्षधर प्रदेश सांसद र नेता कार्यकर्ताले साथ दिएका छन्। 

समर्थकसहित पुगेका कार्कीले निषेधित क्षेत्रको अवज्ञा गर्दै प्रदेशसभा सचिवालयको गेटअगाडि उत्तरतर्फ बनसखण्डी महादेव मन्दिरनजिक दिउँसो ४ बजेदेखि अनशन सुरु गरेका थिए। अनशनस्थलबाट उनलाई राति ८ बजेतिर प्रहरीले नियन्त्रणमा लिँदै आफ्नो गाडीमा राखेर घर पुर्‍याएको थियो। 

अनशनस्थलबाट कार्कीका १५ जना समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सबै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। प्रहरीले अनशनस्थलबाट उठाउन खोजेपछि कार्कीका समर्थकले अवरोध गरेका थिए।

कार्कीको अनशनलाई लक्षित गरेर स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो। निषेधाज्ञा लगाइएका स्थानमा दिउँसो ३ बजेदेखि अर्को आदेश नभएसम्मका लागि सभा, जुलुस, भेला, ¥याली, धर्ना, प्रदर्शनीलगायतका विरोधजन्य कार्य गर्न रोक लगाइएको हो। सर्वसाधारण तथा सवारीसाधन आवतजावतमा भने रोक लगाइएको थिएन। कार्कीको अनशन रोक्नका लागि निषेधित क्षेत्र तोकेर स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) ‘क’ बमोजिम मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले निषेधाज्ञा जारी गरेका थिए। 

विराटनगरलाई केन्द्रविन्दु बनाई हुनसक्ने अनशनलगायत विरोधका कार्यक्रमलगायतका गतिविधिबाट शान्ति सुरक्षामा असर पर्न सक्ने भएकोले सुरक्षा जोखिमलाई मध्यनजर गर्दै स्थितिलाई सहज एवं सामान्य तुल्याई राख्न जिल्ला सुरक्षा समिति मोरङको निर्णयअनुसार निषेधाज्ञा जारी गरिएको प्रजिअ भट्टराईले उल्लेख गरेका छन्। आदेशको उल्लंघन गरेमा प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी प्रशासनले दिएको थियो।  

भट्टराईका अनुसार प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पतालको चोक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोक, मुख्यमन्त्री निवास वरिपरि ३ सय मिटर, प्रदेश प्रमुखको कार्यालय तथा निवास वरिपरि ३ सय मिटर र जिल्ला प्रशासन कार्यालय मोरङ डाँफे चोकदेखि पूर्वको क्षेत्रलाई निषेधित क्षेत्र घोषित गरिएको छ। 

कार्कीले विशिष्टिकृत सेवासहित १० वर्षमुनिका बालबालिकाकाको निःशुल्क उपचार कार्यक्रमलाई नियमित गर्नुपर्ने, बजेटमा २५ लाखभन्दा तलका आयोजना नराख्ने नीति लिनुपर्ने, शैलजा आचार्य हृदयरोग उपचार केन्द्र सञ्चालन गर्नुपर्ने, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता उपलब्ध गराउनुपर्ने, घिउ तथा धूलो दूधको निर्यातमा प्रोत्साहन रकम वितरण कार्यक्रम यथावत राख्नुपर्ने, सुनसरी–मोरङ केसलिया करिडोरको विकास कार्यक्रममा पर्याप्त बजेट दिनुपर्ने, कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने, डाक्टर, इन्जिनियरलगायत विभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने र जनावरमैत्री जंगल निर्माण गर्नुपर्ने माग अघि सारेका छन्। 

आफू नेतृत्वको सरकार हुँदा संचालन गरिएका यी कार्यक्रम सरकारले कटौती गरेको भन्दै कार्कीले विरोध गरिरहेका छन्। सरकारले भने कार्कीले भनेका कतिपय कार्यक्रम निरन्तर रहेको र कतिपय सरकारको क्षमताले नभ्याउने भएकोले कटौती गरेको बताउँदै आएको छ। कार्कीले सुरु गरेको अनशनको औचित्य नभएको सरकारको दाबी छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.