हिलोमा फुलेकी पलेसा
काठमाडौं : पछिल्ला केही दिनयता पलेसाको धपेडी निकै बढेको छ। उनलाई दिनहुँ सम्मान थाप्न भ्याइनभ्याइ छ। त्यसमाथि अन्तर्वार्ताका लागि पनि दौडिनुपर्दा पलेसाको दैनिक निकै व्यस्त बनेको छ। ‘जसरी हुन्छ समय निकालिरहेको छु। आफ्ना लागि गरिएको सम्मानमा त जानै प¥यो। सबैले माया गरेर बोलाउनु भएको हुन्छ’, सोमबार सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघमा भेटिएकी पलेसाले भनिन्, ‘अध्ययनका लागि चीन चँडै जानुपर्ने भएकाले पनि अलि दौडधूप बढेको छ। बोलाएको मिडियामा पनि भ्याएसम्म गएकै छु।’ सोमबार उनले सातदोबाटोमा तेस्रो एनटीए लिग तेक्वान्दो च्याम्पियनसिपको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीसँगै उद्घाटन गरेकी थिइन्।
व्यस्ततासँगै बढेको लोकप्रियता
अहिले पलेसाको व्यस्तता मात्रै बढेको छैन, उनको लोकप्रियता पनि उत्तिकै बढेको छ। यसलाई पलेसाले पनि मनन गरेकी छन्। ‘ओलम्पिकमा अहिलेसम्म हामीले पदक ल्याउन सकेका थिएनौं। त्यसैले अहिलेसम्म पदक ल्याउनुपर्छ भनेर बास्तवमै कोही पनि लागेको देखिएन्’, पलेसा भन्छिन्, ‘अब त हामीसँग ओलम्पिक पदक छ। अब यही पदकलाई हेरेर लक्ष्य बनाउनुपर्छ। असम्भव केही छैन भन्ने कुरा मनन गर्नुपर्छ।’
प्रशिक्षक कविराज नेगी लामा पहिले पलेसा आफ्नो चेली भनेर चिनिए पनि अहिले पलेसाको गुरु भनेर सबैतिर चिनिन पाएको बताउँछन्। ‘पहिले हामीलाई चिन्ने दायरा सीमित थियो। तेक्वान्दो परिवारभित्र मात्रै चिन्थे। अहिले हाम्रो दायरा फराकिलो भएको छ’, पारा तेक्वान्दोका अन्तर्राष्ट्रिय लेभल टु प्रशिक्षक लामा भन्छन्, ‘अहिले पलेसाको गुरु भनेर चिनिँदा खुसी लागेको छ। नेपाल तेक्वान्दो संघले दिएको जिम्मेवारी पूरा गरेको छु भन्ने लागेको छ।’ उनले हासिल गरेको उपलब्धिले पलेसा नेपाली खेलकुदमा ‘आइकन’का रूपमा स्थापित भएको प्रशिक्षक लामा बताउँछन्। नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा पलेसासँगै संघको अथक मेहनतका कारण पारालिम्पिकमा पदक जित्न सम्भव भएको बताउँछन्। ‘पारा तेक्वान्दोमा सम्भावना देखेर नै हामीले पारा कमिटीमार्फत यो खेललाई अगाडि बढाएका हौं। पारा तेक्वान्दोले हरेक ठूला प्रतियोगितामा आफूलाई प्रमाणित पनि गरिसकेको छ’, अध्यक्ष राणा भन्छन्, ‘खेलाडी, प्रशिक्षकसँगै संघको मेहनतकै प्रतिफल यो उपलब्धि हासिल गर्न सफल भयौं। पलेसाले जितेको पदक ऐतिहासिक मात्रै होइन, समग्र नेपाली खेलकुदकै उपलब्धि हो। यसले नयाँ खेलाडीलाई खेलकुदमा लाग्न पनि प्रोत्साहन गर्छ।’
पारा तेक्वान्दोलाई अहिलेसम्म संघले नै सहयोग गर्दै आएको छ। अब संघको सहयोगले मात्रै पुग्दैन। राज्यले पनि सहयोग गर्नुपर्छ। पलेसा सहितको टोलीलाई हामीले चार महिनाका लागि प्रशिक्षणमा पठाउन खोजेका थियौं। राज्यको सहयोग नहुँदा त्यो सम्भव भएन। र, हामीले एक महिनाका लागि मात्रै बेलायतमा विशेष प्रशिक्षणमा पठायौं। बेलायत पठाउने हाम्रो निर्णय फलदायी सावित भयो र पदक पनि जित्न सफल भयौं। पलेसाले जितेको पदक ऐतिहासिक मात्रै होइन, समग्र नेपाली खेलकुदकै उपलब्धि हो। यसले नयाँ खेलाडीलाई खेलकुदमा लाग्न पनि प्रोत्साहन गर्छ। प्रकाशशमशेर राणा, अध्यक्ष, नेपाल तेक्वान्दो संघ
गत अगष्ट ३१ मा फ्रान्सको राजधानी पेरिसमा आयोजना भएको पारालिम्पिकमा नेपालका लागि ऐतिहासिक पदक जितेर स्वदेश फर्किएदेखि पलेसाको व्यस्तता बढेको हो। फ्रान्सको राजधानी पेरिसमा भएको पारालिम्पिकको के–४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको तौल समूहमा पलेसाले कांस्य पदक जितेकी थिइन्। उनले जितेको कांस्य पदक नेपाली खेलाडीले जितेको अहिलेसम्मकै ठूलो पदक हो। पेरिस पारालिम्पिकअन्तर्गत रिपेचेजको कांस्य पदक भिडन्तमा पलेसाले सर्बियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गर्दै नेपाललाई ऐतिहासिक पदक दिलाएकी थिइन्। उनले रिपेचेजको पहिलो खेलमा फ्रान्सकी सोफी काभर्जनलाई २–१ ले हराएकी थिइन्। रिपेचेजअघि पहिलो चरणमा पलेसाले भेनुजुएलाकी भलेरिया मोराल्सलाई एकपक्षीय खेलमा ३१–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेकी थिइन्। क्वार्टरफाइनलमा अधिकांश समय अग्रता लिएको खेलमा अन्तिम समयमा विश्व वरीयतामा शीर्ष स्थानकी ब्राजिलकी सिल्भाना मायारा कार्डोसो फर्नान्डेजसँग ८–१० ले पछि परेकी थिइन्। क्वार्टरफाइनलमा पराजित भएपछि पलेसाले रिपेचेज खेल्ने अवसर पाएकी थिइन्।
पलेसाले पाएको उपलब्धि नेपाली खेलकुदकै अहिलेसम्मको ठूलो हो। कुनै पनि ओलम्पिकमा नेपाली खेलाडीले हालसम्म पदक जित्न सकेको थिएन। नेपालले पारालिम्पिकमा सन् २००४ को एथेन्स तथा गृष्मकालीन ओलम्पिकमा सन् १९६४ को टोकियो ओलम्पिकदेखि भाग लिन थालेको हो। गृष्मकालीन ओलम्पिकमा नेपालले तेक्वान्दोमै प्रदर्शनी खेलमा कांस्य पदक जितेको इतिहास छ। सन् १९८८ मा दक्षिण कोरियामा भएको २४औं संस्करणको सिओल ओलम्पिकमा विधान लामाले त्यो उपलब्धि हासिल गरेका थिए। प्रदर्शनी खेल भएकाले पदक तालिकामा भने उक्त पदकको गणना गरिएको थिएन।
लगातार दोस्रो पारालिम्पिकमा सहभागी
पलेसालगातार दोस्रोपटक पारालिम्पिकमा सहभागी भएकी हुन्। सन् २०२० को टोकियो पारालिम्पिकमा उनी कांस्य पदकनजिक पुगेर पनि चुकेकी थिइन्। तर, पारालिम्पिकमा दुई खेल जित्ने पहिलो नेपाली खेलाडी बन्न भने सफल भइन्। उनले नेपाली खेलाडी अन्तर्राष्ट्रिय खेलमञ्चमा सहभागी मात्र हुने होइन, पदकका लागि प्रतिस्पर्धा गर्न सक्षम छन् भन्ने कुरा त्यही बेला प्रमाणित गरिदिएकी थिइन्। कांस्य पदकका लागि भएको रिपेचेज फाइनलमा पलेसा चिनियाँ खेलाडी युजी लिसँग पराजित भएकी उनले त्यसअघि रिपेचेजको क्वार्टरफाइनलमा अमेरिकी खेलाडी ब्रियान्ना सालिनारालाई १०–० र सेमिफाइनलमा सर्बियन खेलाडी मारिजा मिसेभलाई २३–१५ ले पराजित गरेकी थिइन्। पारालिम्पिकमा तेक्वान्दो त्यही संस्करणदेखि समावेश गरिएको थियो। पलेसाले वाइल्ड कार्डमार्फत टोकियो पारालिम्पिक सहभागिता सुनिश्चित गरेकी थिइन्। उनी टोकियो पारालिम्पिकमा सहभागी हुने एक्ली नेपाली खेलाडी पनि हुन्।
१० वर्षको उमेरदेखि तेक्वान्दो खेल्न सुरु
पलेसाले १० वर्षको कलिलो उमेरदेखि तेक्वान्दो खेल्न सुरु गरेकी हुन्। डीएभी सकुलमा कक्षा ६ मा अध्ययन गर्दा तेक्वान्दो सुरु गरेकी पलेसा सन् २०१६ मा राष्ट्रिय पारा तेक्वान्दो टिममा आबद्ध भएकी थिइन्। सन् २०१७ मा दक्षिण कोरियाको छुन्चियोनमा भएको एसियाली खुला पारा तेक्वान्दो च्याम्पियनसिप पलेसाको ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो। त्यो प्रतियोगितामा उनले पाँचौं स्थान हासिल गरेकी थिइन्।
ओलम्पिक पदक ल्याउन सकिन्छ भनेर हामीले प्रमाणित गरिसक्यौं। त्यसैले आगामी पारालिम्पिकको तयारीका लागि राज्यले कन्जुसाइँ गर्नुहुँदैन। पहिले पनि पलेसा अध्ययनरत विश्वविद्यालयमै मलाई पठाएर प्रशिक्षण दिने कुरा भएको थियो। पछि त्यस विषयमा राष्ट्रिय खेलकुद परिषद्लगायत सम्बन्धित निकायले चासो दिएनन्। राज्यले प्रशिक्षणको व्यवस्था मिलाइदिने हो भने आगामी प्रतियोगिता र ओलम्पिकका लागि पनि सहज हुनेछ। कविराज नेगी लामा, पारा तेक्वान्दो प्रशिक्षक
२१ वर्षीया पलेसाले पेरिस पारालिम्पिकसहित ६ अन्तर्राष्ट्रिय पदक जितेकी छन्। त्यसमा तीन स्वर्ण र तीन कांस्य छ। पलेसाले नेपालमा भएको दोस्रो काठमाडौं ग्योरोगी तथा पुम्से अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोयिगता, बहराइनको मानामामा भएको एसियाली युथ पारा गेम्स र चीनको ताइयानमा पेरिस ओलम्पिककै लागि भएको एसियाली छनोटमा स्वर्ण जितेकी थिइन्। ताइवानकै प्रतियोगितामा हासिल गरेको सफलतामा पलेसाले पेरिस पारालिम्पिकमा सहभागिता निश्चित गरेकी थिइन्। पारालिम्पिकमा छनोट चरण पार गरेर खेल्ने पलेसा एक्लो नेपाली खेलाडी हुन्।
टोकियो पारालिम्पिकमा भने उनी वाइल्ड कार्डमार्फत सहभागी भएकी छन्। यसैगरी सन् २०१८ मा भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दो तथा चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुदमा कांस्य जितेकी थिइन्। एसियाली पारा खेलकुदमा पलेसाले जितेको कांस्य नेपालले पाएको अहिलेसम्मकै एक मात्र पदक हो। पलेसासँग लन्डन र टर्कीमा भएको दुई विश्व च्याम्पियनसिप, जोर्डनमा भएको पाँचौं एसियाली खुला पारा तेक्वान्दो च्याम्पियनसिप, टोकियो पारालिम्पिकको छनोट, टोकियो पारालिम्पिक, साउदी अरबियामा भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्स तथा भियतनाममा भएको नवौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप खेलेको अनुभव छ।
अपभ्रंसले बनेको नाम
परिवारमा नयाँ सन्तानको आगमन हुँदा सबैको मन प्रसन्न हुन्छ। सबै खुसीले गदगद पनि हुन्छन्। बधाईको ओइरो लाग्छ। तर, काठमाडौं बागबजारका प्रदीप गोवद्र्धन र मनिता गोवद्र्धन माइली छोरी पलेसा गोवद्र्धन जन्मँदा भने खुसी हुन सकेनन्। छोरीको जन्मजात बायाँ हातको हत्केला नै नभएपछि उनीहरू निकै भक्कानिएका थिए। एउटा हातको हत्केला नै नभएको छोरीको भविष्य के होला भन्ने चिन्ताले उनीहरूलाई सताएको थियो।
त्यसैले उनले निकै सोचेर छोरीको नाम राखे ‘पलेस्वाँ’। नेपाल भाषामा पलेंको अर्थ कमल र स्वाँ’को अर्थ फूल हुन्छ। स्कुलका साथीहरूले यो नाम उच्चारण गर्न गाह्रो माने। धेरैले गिज्याए पनि। पछि अपभ्रंस भएर त्यो नाम पलेसा बन्न पुग्यो। आमाबुबाले पनि त्यही नाममा चित्त बुझाए। त्यही नाम अहिले नेपाली खेलकुदमा एउटा ऐतिहासिक र सफल खेलाडीका रुपमा स्थापित बन्न पुगेको छ।
पढाइ कि खेलकुद ?
पलेसालाई सबैभन्दा बढी सोधिने प्रश्न यही हो। यो प्रश्न सुन्नासाथ उनी मुसुक्क मुस्कुराउँछिन्। ‘सबैलाई दुईमध्ये एउटा रोजिदिए भन्ने लाग्छ। तर, म न खेलकुद छोड्न सक्छु न त पढाइ नै। पढाइ र खेलकुदलाई सँगै लिएर जान्छु’, पलेसा भन्छिन्। खेलाडीको जीवनमा सबैभन्दा कठिन काम भनेकै खेल र पढाइलाई सँगै अगाडि बढाउनु हो। स्वदेशमा रहँदा पलेसाले खेलकुद र पढाइलाई सँगै अगाडि बढाइन्। खेलकै कारण उनको पढाइमा कहिले पनि समस्या आएन। चीनको सांघाईस्थित तोङजी विश्वविद्यालयमा आर्किटेक्चर इन्जिनियरिङ पढिरहेकी पलेसाले पेरिस ओलम्पिकका लागि ६ महिना पढाइबाट छुट्टी लिएकी थिइन्। त्यसैले सेप्टेम्बर २० मा चीनमा फर्किएर बाँकी रहेको अध्ययन पूरा गर्ने अभियानमा उनी छिन्। ‘आर्किटेक्चर इन्जिनियरिङको पढाइ सक्न अझै दुई वर्ष बाँकी छ। अब त्यो पढाइ सकिएपछि मात्रै स्वदेश फर्किनेछु’, पलेसा भन्छिन्, ‘सरकारले प्रशिक्षणको व्यवस्था मिलाइदिएमा त्यहीअनुरूप गर्छु नभए पहिलेजस्तै ‘सेल्फ’ प्रशिक्षण गर्छु।’
उनी अर्को ओलम्पिक खेल्ने निश्चित नभए पनि सबैले आशा गरेको र आफ्नो जिम्मेवारी पनि थपिएकाले प्रशिक्षणअनुसार विचार गर्न सकिने बताउँछिन्। ‘यो पदकले ममा थप जिम्मेवारी थपिएको छ। सबैले अर्को पटक स्वर्ण नै ल्याउनुपर्छ भनेर भनिरहनु भएको छ’, उनी भन्छिन्, ‘सरकारले प्रशिक्षणका लागि व्यवस्था मिलाइदिने हो भने खेललाई निरन्तर रुपमा अगाडि बढाउन मद्दत पुग्छ। आफूले मात्रै चाहेर पनि हुँदैन।’
प्रशिक्षक कविराज नेगी लामा पनि पलेसाको कुरामा सहमति जनाउँछन्। पहिले पनि चीनमा उनी अध्ययनरत विश्वविद्यालयमा पढाएर प्रशिक्षणको व्यवस्था मिलाउने आश्वासन दिए पनि पूरा नभएको बताउँछन्। ‘ओलम्पिक पदक ल्याउन सकिन्छ भनेर हामीले प्रमाणित गरिसक्यौं। त्यसैले आगामी पारालिम्पिकको तयारीका लागि राज्यले कन्जुसाइँ गर्नुहुँदैन। पहिले पनि पलेसा अध्ययनरत विश्वविद्यालयमै मलाइ पठाएर प्रशिक्षण दिने कुरा भएको थियो। पछि त्यस विषयमा राष्ट्रिय खेलकुद परिषद्लगायत सम्बन्धित निकायले चासो नै दिएनन्’, प्रशिक्षक लामा भन्छन्, ‘राज्यले प्रशिक्षणको व्यवस्था मिलाइदिने हो भने आगामी प्रतियोगिता र ओलम्पिकका लागि पनि सहज हुनेछ।’
नेपाल तेक्वान्दो संघका अध्यक्ष राणा पारा तेक्वान्दोलाई हरेक कुरामा संघले सहयोग गरेको बताउँदै अब राज्यले पनि लगानी गर्नुपर्नेमा जोड दिन्छन्। ‘पारा तेक्वान्दोलाई अहिलेसम्म संघले नै सहयोग गर्दै आएको छ। अब संघको संहयोगले मात्रै पुग्दैन। राज्यले पनि सहयोग गर्नुपर्छ’, अध्यक्ष राणा भन्छन्, ‘पलेसासहितको टोलीलाई हामीले चार महिनाका लागि प्रशिक्षणमा पठाउन खोजेका थियौं। राज्यको सहयोग नहुँदा त्यो सम्भव भएन। र, हामीले एक महिनाका लागि मात्रै बेलायतमा विशेष प्रशिक्षणमा पठायौं। बेलायत पठाउने हाम्रो निर्णय फलदायी सावित भयो र पदक पनि जित्न सफल भयौं।’
कसरी सुरु भयो पारालिम्पिक ?
दोस्रो विश्वयुद्धका बेला थुप्रै बेलायती सैनिक घाइते भएका थिए। युद्धमा सहभागी धेरै सैनिकको स्पाइनल कर्ड इन्जुरी भएको थियो। कसैको हातखुट्टा चल्दैनथियो भने कोहीको कम्मरमुनिको भागले काम गर्दैन थियो। केहीले हात केहीले खुट्टाका विभिन्न भाग गुमाएका थिए। दोस्रो विश्वयुद्धका घाइतेहरूको दिनचर्चा पिर र चिन्तामै बित्न थाल्यो। ‘अब केही गर्न सकिँदैन’ भन्ने हीनताबोधबाट उनीहरू ग्रसित भए।
कुनै कुनामा थन्किएर बस्ने युद्धका घाइतेहरूलाई खेलकुदमा सक्रिय बनाउन सन् १९४८ मा सर गुडविग गुट्टम्यानको सक्रियतामा एउटा खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो। त्यसमा धेरै युद्धका घाइतेहरू सहभागी भएका थिए। त्यही प्रतियोगितालाई सन् १९५२ मा निरन्तरता दिइएको थियो। यो प्रतियोगितामा बेलायतका साथै नेदरल्यान्ड्सका शारीरिक रूपमा अशक्तहरू व्यक्तिहरू सहभागी भएका थिए। यसकै विकर्षित रूपका रूपमा सन् १९६० मा इटालीको रोममा पारालिम्पिक खेलकुद सुरु भएको हो। पारालिम्पिक पनि ओलम्पिकजस्तै हरेक चार वर्षको अन्तरालमा आयोजना हुने गर्दछ। ओलम्पिक सकिएपछि पारालिम्पिक खेल सुरु हुन्छ।
सन् २००४ बाट नेपालको सहभागिता
सन् २००४ को एथेन्स पारालिम्पिकबाट नेपालले सहभागिता जनाउन थालेको हो। एथेन्स पारालिम्पिकमा निर्मला ज्ञवालीले एथलेटिक्सको एफ–१२ विधाअन्तर्गत महिला सटपुटमा प्रतिस्पर्धा गरेकी थिइन्। सन् २००८ को बेइजिङ पारालिम्पिकमा जितबहादुर खड्काले सहभागिता जनाएका थिए। उनले एथलेटिक्समा प्रतिस्पर्धा गरेका थिए।
यसैगरी सन् २०१२ को लन्डन पारालिम्पिकमा मैयाँ विशुंखे, विक्रमबहादुर राना र मानबहादुर तामाङले एथलेटिक्समै प्रतिस्पर्धा गरेका थिए। सन् २०१६ मा ब्राजिलको रियो दी जेनेरियोमा आयोजना भएको पारालिम्पिकमा विक्रमबहादुर रानाले एथलेटिक्स र लक्ष्मी कुँवरले पौडीमा प्रतिस्पर्धा
गरेका थिए।