डीएसपी घिमिरे पुरस्कृत
सोलुखुम्बु : सोलुखुम्बुको थामे बाढी प्रभावित क्षेत्रको उद्दारमा प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक (डीएसपी) द्वारिका प्रसाद घिमिरेलाई पुरस्कृत गरिएको छ। उनलाई जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले कदर–पत्रसहित पुरस्कृत गरेको हो।
कार्यक्रममा जिल्ला विपत व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री)ले डीएसपी घिमिरेलाई पुरस्कृत गरेकी हुन् । प्रजिअ खत्रीले भनिन्, 'थामेमा आएको बाढी प्रभावितको उद्दारसहित जिल्लामा भएका विभिन्न विपत्तीका घटनामा प्रहरीले निभाएको भूमिकालाई कदर गरेका हौँ,घटना भएको छोटो समयमै प्रहरी पुगेर उद्दार गरेका कारण जिल्लामा यस वर्ष विपतमा कुनै मानवीय क्षति व्यहोर्नु परेको छैन्। नेतृत्वको यस प्रकारको कुशलतालाई हामीले सम्मान गर्नेपर्छ ।'
गत साउन ३२ गते हिमपात फुटेर थामे खोलामा बाढी आउँदा विद्यालय, स्वास्थ्य चौकीसहित थामेका २० घर परिवार पूर्णरुपमा प्रभावित भएको थियो । उक्त बाढीमा फसेका व्यक्ति,भौतिक संरचना तथा सामाग्रीहरूको उद्दारका लागि प्रहरीले कुशल तवरबाट भूमिका निर्वाह गरेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले जनाएको छ ।
बाढीले क्षति भएको केही घण्टाभित्रै प्रहरी पुगेर प्रभावित स्थानीयलाई सुरक्षित स्थानमा सार्न मद्दत गरेका थिए । सो घटनामा प्रहरी प्रमुख घिमिरे आफै पुगेर राहत तथा उद्दार कार्यमा जुटेका थिए।