नेपाल इन्जिनियर्स एसोसिएसन र आसन्न निर्वाचन
राज्य निर्माण मात्र नभएर, राज्य समुन्नतको स्तर मापन गर्ने सूचकको रूपमा लिइने अभियन्ताहरूको छाता संगठन नेपाल इन्जिनियर्स एसोसिएसन आफ्नो ३४औँ कार्यकारिणी समिति छनोटको संघारमा छ । विकास, विज्ञान र प्रविधिको क्षेत्रको विश्वव्यापी गतिमा कदममा कदम मिलाउन नसकिरहेको हाम्रो मुलुकमा इन्जिनियरिङ शिक्षा तथा प्रविधिलाई प्रोत्साहन गर्ने तथा यस क्षेत्रको गरिमालाई उच्च पार्दै सम्पूर्ण इन्जिनियरहरूको पेशागत हक अधिकारलाई सुरक्षित गर्ने उद्देश्यका साथ स्थापना भएको यस संस्थाले ६२औँ वसन्त पार गरिसकेको छ।
केही प्रबुद्ध इन्जिनियरहरू नै यस संस्थाको निर्वाचनमा भाग नलिने घोषणा गर्दै आम इन्जिनियरहरूमा एसोसिएसन चरम दलीयकरणको चक्रव्यूहमा फस्दै गएको छ भन्ने बुझाइ सम्प्रेषण र स्थापित गर्न अभ्यस्त रहेको आजको परिस्थितिमा, यो चक्रव्यूह तोडेर व्यवसायिकता, विज्ञता र क्षमताको कसीबाट संस्था सञ्चालन गरी दीर्घकालसम्म आम इन्जिनियरहरूको गौरव र गरिमाको संस्था बनाउने लक्ष्य नै ३४ कार्यकारिणीको प्रमुख लक्ष्य हुनुपर्ने देखिन्छ। राज्यको पहिलो दर्जाको जनशक्तिका रूपमा चिनिने इन्जिनियरहरूले यस निर्वाचनबाट एउटा यस्तो समूह चयन गर्नुपर्ने छ। जसले हालसम्मका कार्यसमितिले सुरु गरेका विभिन्न राम्रा कदमहरूको निरन्तरता दिदै संस्थाको उद्देश्य परिपूर्तिका निम्ति दृढ भएर लाग्न सकोस ताकि मतदानमा सहभागी प्रत्यक इन्जिनियरहरूले आफ्नो अभिमतमा कहिल्यै पश्चाताप गर्नु नपरोस्।
मुलुकमा भएका हरेक राजनीतिक परिवर्तनहरूमा सक्रिय रूपमा सहभागी भएको यस क्षेत्र जस्तोसुकै कठिन परिस्थितिमा पनि आफ्नो कर्तब्य पूरा गर्न लागिपरेको छ। १० वर्षे सशत्र द्वन्द्व, निरङ्कुश राजतन्त्रको अवधि वा राजनीतिक अस्थिरताको अवधि नै किन नहोस मुलुक विकासमा यस क्षेत्र अविचलित रूपमा लागिरहेकै छ । २०७२ सालको महाभूकम्पपछिको जोखिम न्यूनीकरणमा होस या कोरोना महामारीको बेला उपकरण मर्मत गरेर होस्, नेपाल इन्जिनियर्स एसोसिएसनले नेपाली समुदायमा विपत पर्दा इन्जिनियरहरू परिचालित भई आम जनमानसको जनजिविकामा छोडेको छाप प्रशंसनीय छन्।
बिना धितो इन्जिनियरिङ प्रोफेसनल लोन, दुर्घटना बीमा, अनलाइन मेम्बरसिप, इमतदानको सूरुवात, आफ्नै भवनको निर्माण, न्यूनतम पारिश्रमिक र सेवासुविधाका विषयमा प्रधानमन्त्रीलगायत राष्ट्रियस्तरको चासो सिर्जना, ट्रेनिङ सेन्टरको स्थापना, लुम्बिनि प्रदेशमा सातौँ तहमै स्थानान्तरण, ७५३ वटै स्थानीय तहमा इलेक्ट्रोनिक्स इन्जिनियरले काम गर्न पाउने व्यवस्था, समय समयमा इन्जिनियरलाई तालिमाको व्यवस्था लगायतका कार्य पछिल्लो समयमा संस्थाले गरेका उत्कृष्ट कार्यका दृष्टान्तहरू हुन्। त्यसैले केही हदसम्म भए पनि इन्जिनियरको आत्मसम्मान तथा हकहितको लागियो संस्थाले केही सकारात्मक थालनी गरेको छ। तथापि मुलुकको अन्य क्षेत्रजस्तै यस क्षेत्रमा पनि अनेकौ विकृतिहरू विद्यमान नै छन्, जसलाई चिर्दै यस क्षेत्रलाई अझै सबल, सक्षम र स्वाभिमानी बनाउन आगामि कार्यसमितिले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ।
विश्वव्यापीरूपमै सम्मानित पेशामध्येको एक पेशा हो, इन्जिनियरिङ पेशा, तर वर्तमान स्थितिमा पनि हामी इन्जिनियरहरू न्यूनतम सुविधा र पारिश्रमिकको बहस त कहिले अपमान र घृणाको सिकार बन्नुपरेको छ । यस्ता केही आधारभूत कुराहरूमा समेत ठोस कार्य हुन नसक्दा यसको समग्र असर इन्जिनियरहरूको कार्यसम्पादनमा समेत परेको देखिन्छ। अतः यस ३३औँ कार्यसमितिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराइसकेको अवस्थामा आगामी कार्यसमितिले कार्यान्वयनमा ल्याउन सफल भूमिकाको निर्वाह गर्नुपर्नेछ। इन्जिनियरहरूको क्षमता विकास तथा प्राविधिक कुशलता अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय शिक्षण संस्था एवं रोजगारदाता कम्पनीहरूको समन्वय तथा देशभित्रैका प्राविधिकहरूबाट प्रशिक्षण लगायतका कार्य गनुपर्ने देखिन्छ।
विकासका आयोजना छनोटदेखि कार्यान्वयनका विभिन्न चरणहरूमा इन्जिनियरहरू नै नेतृत्वमा रहेर कार्य गर्नसक्ने अवस्थामा पुर्याउनका निम्ति सकारात्मक भूमिका खेल्नुपर्ने छ । राजनीतिक लाभहानी, सस्तो लोकप्रियता र केही व्यक्तिको लहडका आधारमा बनेका आयोजना तथा त्यस्ता आयोजनाहरूमा खेर गइरहेको राज्यको लगानीहरूलाई पूर्ण निरुत्साहित गर्न आयोजना पूर्व गरिने सम्भाब्यता अध्ययन तथा प्राबिधिक पक्षहरूलाई आयोजना छनोटको आधार बनाउने परिपाटिका लागी वकालत गर्ने अर्को महत्वपुर्ण दायित्व समेत आगामी समितिलाई छ । जनप्रतिनिधि तथा सामाजिक अगुवाहरू बा टनै इन्जिनियरहरूमाथि भौतिक, आर्थिक, तथा मानसिक आक्रमणका घटनामा पूर्ण प्रतिबन्ध गर्न सरोकारवालाहरूलाई प्राविधिक पक्षको महत्व बुझाई समन्वय र सहकार्यका साथ विकास निर्माणको बाटोमा अग्रसर गराउन नेतृत्वदायी भूमिका खेल्नुपर्ने देखिन्छ ।
इन्जिनियरिङ क्षेत्रमा भएका लगानीहरूको बढ्दो असुरक्षा तथा प्रभावकारी नीति नियमको अभावले अवसरहरूमा ल्याएको संकुचनका कारण दैनिक कयौं इन्जिनियरहरू अवसरका खोजीमा विदेशिन बाध्य भएको तीतो यथार्थ हामीसामु छर्लंगै छ। इन्जिनियरिङ समाजमा छाएको निराशालाई थप मलजल हुने गरी विभिन्न प्रबुद्ध इन्जिनियरहरूबाटै भनाइहरू सामाजिकरूपमा अभिव्यक्त हुनु थप निराशाजनक छ। त्यसैले अवसरहरूको सिर्जना, सुविधा अभिवृद्धि, स्वाभिमान एवं हक हितको संरक्षण, राज्यसंगको निरन्तर वकालतबाट मात्र नै दक्ष जनशक्तिको बर्हिगमनलाई कम गर्न सकिने देखिन्छ। मुलुकका सक्षम जनशक्तिले अन्य देश बनाइरहनुपर्ने र स्वदेशमा रहेकाहरू समेत देशको अस्थिर व्यवस्था र दूरावस्थाको सिकार भइरहने हो भने समुन्नत नेपाल सम्मानित नेपालीको सपना सपनामै सीमित रहने अवस्था देखिन्छ। बाह्य चुनौतीहरूले घेरिएको देशको प्राविधिक क्षेत्रको चर्चा गरिरहदा हामीले हामी इन्जिनियरहरूमा भएका कमजोरी हरूको समेत समीक्षा गर्नुपर्छ। प्रविधिको सारथी बन्नुपर्ने हामी इन्जिनियरहरू डिजिटल सदस्यता, अनलाईन तथा इमतदान जस्ता नितान्त आवश्यक विषयमा समेत अनावश्यक बहस र बहानामा समय बिताउने गरेको देखिन्छ। आफू स्वयंले सरल र सहज तरिका बाटनै सदस्यता लिन सकिने अनलाईन सदस्यता कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै सबैको पहुँचमा संस्था सदस्यता पुर्याउने कार्यको निरन्तरताबाट आफ्नो पहुँच र दायरा बढ्नुका साथै यस क्षेत्र नै थप लाभान्वित बन्नेछ।
आजको युग नै लोकतन्त्रको युग हो । समानता र अपनत्वमा आधारित लोकतन्त्र हामी सबैको चाहना हो । राज्य नियन्त्रित बजार व्यवस्था र आपसी संघर्षलाई नै उपलब्धि हासिल गर्ने माध्यम ठान्ने विचारको औचित्य अबको दिनमा सायदै रहला। मुलुकको सबैभन्दा जागरुक र शिक्षित वर्गमा पर्ने इन्जिनियरहरू यस तथ्यमा रहने सम्भावना नै देखिँदैन। मुलुकमा ब्याप्त राजनीतिक अस्थिरता, सो्रत साधनको अभावलगायत विभिन्न कारणले गर्दा एसोसिएसनको गति केही सुस्त देखिए पनि इन्जिनियरिङ क्षेत्रको समस्त विकास अनि इन्जिनियरहरूको साझा संस्थाको रूपमा रहँदै आएको एसोसिएसनको गरिमालाई जोगाई राख्न सक्नुलाई सकारात्कमक रूपमा लिनुपर्ने देखिन्छ। यस्तो अबस्थामा विगतका कार्यसमितिहरूको कार्यसम्पादन तथा उपलब्धिहरूलाई अवमूल्यन गर्दै 'प्रगतिशिल' शब्दको नाममा अपनाइएको गोयबल्स शैली आफैंमा अतिरन्जनपूर्ण देखिन्छ। तसर्थ अनर्गल प्रचारमा रम्नेभन्दा, गुण र दोषको आधारमा समर्थन र विरोध गर्न सक्षम इन्जिनियर वर्गहरूले लोकतन्त्रको बिकल्प सोच्न पनि सक्ने छैनन्।
तसर्थ ३४औँ कार्यकारिणी समितिले बढीभन्दा बढी इन्जिनियरहरूलाई एकताबद्ध गराई आफ्नो छाताभित्र ल्याउनु पर्दछ। इन्जिनियरहरूको न्यूनतम पारिश्रमिक तथा सेवा सुविधा, इन्जिनियरहरूको लगानी सुरक्षित गर्न उचित वकालत देखि विभिन्न अवसरहरूको सिर्जना गर्ने सम्मका योजनाहरूलाई निषकर्षमा पुर्याउन अत्यावश्यक भइसकेको छ। त्यस्तै इन्जिनियरिङ क्षेत्रमा हुने गरेका सबै किसिमका हिंसा एवं असमानतालाई हटाई क्षमता र दक्षतामा आधारित प्रणलीको थप विकास गर्नुपर्ने छ। ठूला परियोजना अध्ययन तथा निर्माण कार्यको लागि देखावटी रूपमै भए पनि विदेशी प्राविधिक तथा कम्पनी सहभागी गराउनुपर्ने व्यवस्थालाई परिवर्तन गर्नु थप आवश्यक छ किनकि नेपाली इन्जिनियरले नै गर्नसक्ने कार्यका लागि विदेशी नै ताक्नु स्वदेशी पुँजी बहिर्गमनमात्र नभइ दक्ष प्राविधिकको अवमूल्यन पनि हो।
त्यसैगरी देशको विभिन्न प्राविधिक कार्यालयहरूलगायत स्थानीय तहहरूमा प्राविधिकको नेतृत्व स्थापना गर्नु आगामी कार्यसमितिले गर्नुपर्ने प्रमुख कार्यमध्यको एक हो। कठिन परिस्थितिमा पनि आफ्नो पेशागत मर्यादालाई कायम राख्दै प्रभावकारी, सक्ष्म र प्रविधिमैत्री नेतृत्व चयन गर्दै संगठित र एकताबद्ध भइ यस क्षेत्र र मुलुकको सर्वाङ्गीण हितमा कार्य गर्नु हामी सबै इन्जिनियरहरूको साझा दायित्व हो। समावेशी, लोकतन्त्र, तथा समतामूलक समाज निर्माणमा समेत एसोसिएसनको भूमिका रहन्छ त्यसैले यी सबै एजेन्डा स्थापित गर्नका निम्ति लोकतन्त्र र लोकतान्त्रिक पद्दतिमा विश्वास राख्ने समूह विजयी हुनु अपरिहार्य छ।
लेखक सिभिल इन्जिनियर हुन्।