हुलाकी सडकको दुर्दशा, जनप्रतिनिधि नै रिले अनशनमा

हुलाकी सडकको दुर्दशा, जनप्रतिनिधि नै रिले अनशनमा

परासी : नवलपरासीमा रहेको हुलाकी सडक विस्तार (स्तरन्नोति) को काम ५ वर्ष बितिसक्दा पनि पूरा हुन नसकेपछि गाउँपालिकाका जनप्रतिनिधिसहित स्थानीय आन्दोलनमा उत्रिएका छन्। हुलाकी सडकको काम तत्काल सुरु गर्न माग गर्दै उनीहरूले रिले अनशनसमेत सुरु गरेका छन्। संघीय सरकारकै लगानीमा स्तरोन्नतिको भइरहेको सडकको काम वर्षौं बित्दासमेत पूरा नभएपछि प्रतापपुर गाउँपालिकाले आन्दोलन सुरु गर्नु परेको गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले बताए। सरकारले सडक विस्तार गर्न नसकी गाउँपालिकालाई जिम्मेवारी दिए चार महिनाभित्र पूरा गरेर देखाउने उनको दाबी छ। 

सडक विस्तारको काम पूरा नहुँदा स्थानीयले सास्ती खेप्नु परेको छ। सरकारी बेवास्ताका कारण निर्माण कम्पनीले गरेको ढिलासुस्तीले समयमा काम सम्पन्न गर्न चासो नदिइएको स्थानीयको गुनासो छ। खनेर छाडिएको सडकका कारण दर्जनौं स्थानमा खाल्डाखुल्डी परेका छन्। ती खाल्डाखुल्डीलाई समेत पुर्नेतर्फ वास्ता नगर्दा सवारी आवतजावतमा समस्या मात्र होइन, दुर्घटनाको जोखिमसमेत बढाएको छ। खनेर छाडेको सडकका कारण वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे भएर हिँड्नुपर्दा स्थानीय आजित भएका छन्। निर्माण कम्पनीले काममा ढिलाइ गरेपछि स्थानीयहरूले पटक–पटक चक्का जामसमेत गरेर विरोध गर्दै आएका छन्। तर, सरकार र निर्माण कम्पनीले कुनै सुनुवाइ नगरेपछि अहिले जनप्रतिनिधिसहित उनीहरू अनशन बस्न बाध्य भएका हुन्।

जिल्लाका तीन छुट्टाछुट्टै खण्डमा सडक विस्तारको काम भइरहेको छ। २०७६ कात्तिकबाट सडक विस्तारको काम सुरु भएको हो। तीन खण्डमा करिब ३७ किलोमिटर सडक विस्तारको काम भइरहेको छ। सबै खण्डको कुल लागत १ अर्ब ७ करोडको हो। परासी–नारायण चोक सडक, नारायणचोक–गोपिगञ्ज हुँदै बेलाटारीदेखि रानीनगर सडक र बेलाटारीदेखि कठहवासम्म सडक विस्तार भइरहेको छ। जसमध्ये परासी–नारायणचोकसम्मको सडक विस्तारको काम अन्तिम चरणमा पुगे पनि कल्भर्ट नबन्दा सो सडक पनि सञ्चालनमा कठिनाइ भएको छ। अन्य दुई सडकखण्डको काम सुस्त गतिमा रहेको छ। सबै सडकखण्डको काम तीन वर्षभित्र (२०७९ मंसिर) सक्नुपर्ने सम्झौता भए पनि पटक–पटक म्याद थप्दासमेत निर्माण कम्पनीले काम पूरा गर्न वास्ता नगर्दा स्थानीयले सास्ती पाएका हुन्। तीनवटा सडकखण्ड विस्तार र पुल निर्माणको छुट्टाछुट्टै निर्माण कम्पनीले जिम्मेवारी लिएका छन्। सडक विस्तारलाई छिटो सक्न निर्माण कम्पनीलाई पटक–पटक ताकेता गरिएको हुलाकी राजमार्ग योजना कार्यालय गोरुसिँगे कपिवस्तुका इन्जिनियर युवराज पाण्डेले बताए। 

कुन सडकको कति काम ? 

परासी–नारायण चोक खण्ड : सदरमुकाम परासीदेखि नारायण चोकसम्मको १२.६ किलोमिटर सडक विस्तारको काम अन्तिम चरणमा पुगेको हुलाकी राजमार्ग योजना कार्यालयले गोरुसिँगे कपिलवस्तुले जनाएको छ।  

पुलबाहेक यो सडकको लागत २२ करोडको हो। यो सडकका चार ठाउँमा ठूला कलभर्टका काम भइरहेका छन्। तर, निर्माण कम्पनीको ढिलासुस्तीका कारण काम पूरा हुन नसक्दा उक्त सडक भएर चल्ने सवारीसाधनहरू घुमेर आवतजावत गर्नुपर्ने समस्या छ। कलभर्टको कामलाई अधुरै छाड्दा दुर्घटना भएर केही समय अघि एक व्यक्तिको मृत्युसमेत भएको थियो। उक्त सडकअन्तर्गत पुलबाहेकको काम अन्तिम चरणमा पुगेको हुलाकी राजमार्ग योजना कार्यालयका इन्जिनियर युवराज पाण्डेले बताए। 

‘यो सडकमा अब पिचको बाहिरीतर्फ ग्राभेल र बिग्रिएका ठाउँमा मर्मतबाहेक सबै सकिएको छ। चार ठाउँको पुल निर्माणको कामलाई वर्षाका कारण केही समस्या पारेको हो। त्यसलाई पनि सुचारु गर्छौं’, इन्जिनियर पाण्डेले भने । यी पुलको काम मंसिरसम्म सक्ने गरि निर्माण कम्पनीलाई ताकेता गरिएको उनको भनाइ छ। ‘खनेको बेसलाई पानीले बगाउँदा समस्या भयो। डाइभर्सन गरेर लैजाँदा धेरै खर्च लाग्ने भएकाले वर्षापछि सुरु गर्ने योजनामा छौं’, पाण्डेले भने।  

नारायण चोक–त्रिवेणी खण्ड : गोपिगञ्जको नारायण चोकदेखि त्रिवेणीसम्मको सडकको लम्बाइ १५.१ किलोमिटर छ। ५८ करोडको लागतमा विस्तार भइरहेको सडकको काम सुस्त गतिमा छ। तीन खण्डको सडक विस्तारअन्तर्गत सबैभन्दा बढी यही सडकको अवस्था कन्तबिजोग छ। अहिलेसम्म ३५ प्रतिशत काम सकिएको आयोजना कार्यालयले जनाएको छ।  ‘स्ट्रक्चरको काम सकिएको छ। कलभर्ट बनाउन बाँकी छ। ११ किलोमिटर सडकमा ग्राभेल भइसकेको छ। अब पिच गर्न बाँकी छ। त्यो पनि सुरु गर्छौं’, इन्जिनियर पाण्डेले भने। 

निर्माण कम्पनीले चैतसम्म फेरि सडक विस्तारको म्याद थपेको छ। असारसम्म काम सक्ने भने पनि वर्षात्का कारण समस्या भएको इन्जिनियर पाण्डेले बताए। ‘पहिला–पहिला बोलाउँदा निर्माण कम्पनीले कर्मचारीलाई पठाउने गरेको थियो। पालिकाको आन्दोलनपछि अहिले निर्माण कम्पनीकै प्रमुखलाई बोलाएका थियौं। कम्पनीका प्रमुख आएर काम गर्ने प्रतिबद्धता जनाएका छन्। काम नभएर कारबाही गर्छौं भनेपछि एक दुई दिनमा काम सुरु गरेर एक हप्ताभित्र देखिने गरि प्रगति दिन्छौं भनेका छन्। एक पटक हेरौं’, इन्जिनियर पाण्डेले भने। उक्त समयमा काम सुरु नगरे कारबाही प्रक्रिया अघि बढाउने पाण्डेले बताए। 

बेलाटारी–कठहवा खण्ड : प्रतापपुर गाउँपालिकाको बेलाटारीदेखि कठहवासम्मको सडक लम्बाइ ९.१ किलोमिटर हो। यो सडक विस्तार गर्न २७ करोडमा सम्झौता गरिएको हो। अहिलेसम्म जम्मा ४५ प्रतिशत काम भएको आयोजना कार्यालयले जनाएको छ। उक्त सडकमा नालीको काम बाँकी छ। एक किलोमिटरमा सडक सतह र माटो पुर्ने काम भइरहेको आयोजना कार्यालयका इन्जिनियर पाण्डेले जानकारी दिए। सडक विस्तारका लागि फेरि पुससम्मको म्याद थपिएको छ। म्यादभित्र काम सक्न निर्माण कम्पनीलाई ताकेता गरिरहेको आयोजना कार्यालयले जनाएको छ। 

जनप्रतिनिधि अनशनमा : हुलाकी सडकअन्तर्गत गोपिगञ्ज (नारायण चोक) देखि बेलाटारीसम्मको सडक विस्तारमा चरम लापरबाही भएको भन्दै प्रतापपुर गाउँपालिकाका जनप्रतिनिधिहरूले आन्दोलन सुरु गरेका छन्। नारायण चोकदेखि रानी नगरसम्मको कुल १५.१ किलोमिटरमध्ये आफ्नो क्षेत्रमा पर्ने बेलाटारीसम्मको ६.५ किलोमिटर सडक विस्तार ढिलाइ हुँदा स्थानीयले सास्ती खेप्नु परेको भन्दै गाउँपालिकाले संघर्ष समिति नै बनाएर आन्दोलनमा उत्रिएको हो। आन्दोलनका कार्यक्रमअन्तर्गत अध्यक्षसहितका जनप्रतिनिधिहरूले मंगलबारदेखि इलाका प्रशासन कार्यालय सेमरी अगाडि रिले अनशन सुरु गरेका छन्। 

रिले अनशनमा वडाका सबै जनप्रतिनिधिहरूको पालैपालो सहभागिता छ। जनप्रतिनिधिहरूको आन्दोलनप्रति जिल्लाका सबै पालिका प्रमुख, जिल्ला समन्वय समिति र राजनीतिक दलहरूले एक्यबद्धता जनाएका छन्। काम सुरु नभए शक्रबारदेखि गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव आफैंं आमरण अनशन बस्ने घोषणा गरेर प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइ सकेका छन्। सडक विस्तार कार्य तत्काल सुरु गर्न भन्दै गत भदौ ५ गते प्रधानमन्त्री रसम्बन्धीत आयोजना कार्यालयलाई ध्यानाकर्षण गराएका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.