अरु पार्टीलाई सिध्याउने कांग्रेसको नीति छैन : देउवा
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पार्टीलाई पनि सिध्याउने नीति कांग्रेसको नरहेको स्पष्ट पारेका छन्। बिहीबार कांग्रेस मुख्यालय सानेपामा कांग्रेसले नेतृत्व गरेका उत्कृष्ट गाउँ/नगरपालिकालाई सम्मान गर्दै सभापति देउवाले मुलुकको आवश्यता अनुसार एमाले–कांग्रेस मिलेर सरकार बनाएको भन्दै अरु पार्टीलाई सिध्याउने नीति कांग्रेसको नभएको बताएका हुन्।
देशभरका आम पार्टीका नेताहरुको भावनाअनुसार नै एमालेसँग मिलेर सरकारमा गएको उनले बताए। उनले दुईदलबीच भएको सहमतिअनुसार अहिले केपी ओली प्रधानमन्त्री भएको र दुई वर्षपछि ओलीले आफूलाई प्रधानमन्त्री पद दिने जिकिर गरे।
देउवाले मुलुकलाई अघि बढाउन सबैलाई मिलाएर लैजान चाहेको बताए। उनले कांग्रेसलाई कमजोर बनाउने काम समेत भएकाले सचेत भएर अघि बढ्नुपर्नेमा जोड दिए। उनले आफ्नो उमेरका कारण रिटायर्मेन्ट लिने बेला भएको भन्दै पार्टीलाई अघि बढाउन युवा शक्तिहरु एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए।
सभापति देउवाले नयाँ पुस्ताहरुले पार्टीलाई अघि बढाउन चिन्ता गर्नुपर्ने जिकिर गरे। कांग्रेसले नेतृत्व गरेका गाउँ/नगरपालिकालाई विभिन्न विधामा उत्कृष्ट घोषणा गर्दै सम्मान गरेको थियो।