कर्णालीमा शैक्षिक सम्मेलन
कालीकोट : कर्णाली प्रदेशमा सार्वजनिक शिक्षा सम्मेलन सम्पन्न भएको छ। कर्णाली प्रदेशका १० वटै जिल्लालाई लक्षित गरी सार्वजनिक शिक्षा सुधारको कार्ययोजना बनाउँदै सम्मेलन सम्पन्न भएको हो।
शिक्षामा सुधार ल्याउने विषयमा केन्द्रित तीन दिनसम्म भएको बहसले शैक्षिक गुणस्तरमा टेवा पुग्ने भएको छ। कर्णालीका विद्यालयमा अहिले पनि शिक्षक विद्यार्थी नियमित नहुने समस्या उस्तै छ।
सम्मेलनमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले शिक्षामा खर्च नभइ लगानी गर्नु पर्ने बताए। उनले भने, ‘वर्तमान अवस्थामा लिएको जिम्मेवारी अनुसार निष्कर्ष निकालेर शिक्षामा सुधार ल्याउने प्रतिबद्धता गर्छु। सम्मेलनमा औंल्याएका प्रदेश सरकारका कमजोरीलाई सुधार गर्नेछु। कर्णालीमा भएको शैक्षिक सम्मेलनले शैक्षिक सुधारका लागि नयाँ कीर्तिमान कायम गरेको छ। प्रदेश सरकारले शैक्षिक नीति निर्माण गरी स्थानीय सरकारलाई शैक्षिक नीति बनाउन निर्देशन गर्नेछौं।’
कर्णालीका विद्यालयमा कमजोर सिकाइ उपलब्धिका कारण बर्सेनि हजारौं विद्यार्थीको भविष्य अन्धकार हुँदै गएको सम्मेलनमा सहभागी नागरिक अगुवा तुलाराम पाण्डेले बताए। सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले विद्यालय सुधारका गतिविधि तदारुकताका साथ सञ्चालन गरिनुपर्ने बताए।