जापानिज इन्सेफ्लाइटिसबाट १४ जनाको मृत्यु
काठमाडौं : जापानिज इन्सेफ्लाइटिसबाट मुलुकभर १४ जनाको ज्यान गएको छ। इन्सेफ्लाइटिसबाट हुने मृत्युदर २२ दशमलव ९५ प्रतिशत छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, शंकास्पद बिरामीबाट संकलन गरिएका ६ सय ९५ नमुनामध्ये ६१ वटामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको छ। प्रयोगशालामा पुष्टि भएका केसहरूमध्ये १४ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा कैलाली, कपिलवस्तु, पाल्पा, चितवन, सिन्धुली, रौतहट, सर्लाही, सिरहा, सुनसरी र झापा जिल्लाका बिरामी रहेको प्रवक्ता बुढाथोकीले जानकारी दिए।
हरेक वर्ष विशेषगरी भदौ र असोज महिनामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण उच्च हुने गरेको छ। इन्सेफ्लाइटिसको संक्रमण न्यूनीकरण एवम् नियन्त्रणका लागि तयारी र प्रतिकार्य जारी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। परिवार कल्याण महाशाखाद्वारा प्रादेशिक स्वास्थ्य निर्देशनालयहरू, जिल्ला र द्रुत प्रतिकार्य टोलीहरूसँग शुक्रबार संयुक्त बैठक गरिएको छ।