शब्द–शब्दमा शाश्वत साहित्य
नेपाली साहित्यका शिखर प्रतिभा हुन्, विश्वेश्वरप्रसाद कोइराला (राजनीतिमा चिनिएको नाम बीपी कोइराला) र विष्णुकुमारी वाइवा अर्थात् पारिजात। १९७१ भदौ २४ गते बनारसमा जन्मेका कोइराला र १९९० फागुन ३० गते दार्जिलिङमा जन्मिएकी पारिजातका विपरीत राजनीतिक आस्था रहे पनि नेपाली साहित्यमा दुवैको उच्च प्रतिष्ठा छ। दुवैका कृतिहरू आज पनि उत्तिकै रुचिका साथ पढिन्छ र चर्चा गरिन्छ। दुवै स्रष्टाका पुस्तकहरू विश्वविद्यालयका पाठ्यक्रममा छन् र दुवैका कृतिहरूको अध्ययन, अनुसन्धानको लामो सिलसिला निरन्तर छ। दुवैका कृतिहरू विभिन्न भाषामा अनुवाद भएका छन्।
कोइरालाको पहिलो पुस्तक २००६ सालमा प्रकाशित भएको थियो, कथा संग्रह ‘दोषी चश्मा’, जुन नेपाली कथा जगत्मा एक माइल स्टोन कथा संग्रहको रूपमा स्थापित छ। त्यसपछि उनको दोस्रो कृति २०२५ सालमा प्रकाशित भयो, उपन्यास ‘तीन घुम्ती’। यो उपन्यास पनि नेपाली साहित्यमा कोसेढुंगाकै रूपमा स्थापित हुन सफल भयो। पहिलो र दोस्रो कृतिका बीच लेखन प्रकाशनको यति लामो अन्तराल हुनुमा बीपीको राजनीतिक जीवन, राजनीतिक सक्रियता र जेलजीवन कारक तत्व रहन गयो। बीपी नेपाली कांग्रेसको राजनीतिबाट २०१५ सालको आमचुनावमा बहुमतले विजयी भई प्रथम जननिर्वाचित प्रधानमन्त्री हुन पुगे। अनि २०१७ सालमा सत्ताच्युत भई सुन्दरीजल जेलमा लामो समय बन्दी भए। ‘दोषी चश्मा’ पछिका अधिकांश उनका कृतिहरू प्राय: कारावासमा बन्दी भएका अवस्थाका सिर्जना हुन्।
पारिजातको पहिलो कृति कविता संग्रह थियो। २०१४ सालमा प्रकाशित यो कृतिलाई पुस्तकभन्दा पुस्तिकाभन्दा उचित मान्न सकिएला। यसमा पारिजातका लेखनको आरम्भका बेलाका अभ्यासकालीन कविताहरू छन्, जुन उनको लेखनको आरम्भ विन्दु मान्न मात्र सकिने सावित भयो। उनको समग्र साहित्यिक लेखनमा यो कृतिको मूल्य खासै उल्लेखयोग्य हुन सकेन। तर पहिलो कृति प्रकाशनको आठ वर्षपछि २०२२ सालमा प्रकाशित दोस्रो कृति उपन्यास ‘शिरीषको फूल’को प्रकाशन भने नेपाली साहित्यकै एक दुर्लभ घटना सावित भयो। शंकर लामिछानेको चामत्कारिक भूमिका हुनु र मदन पुरस्कारले पुरस्कृत हुनुले पारिजातलाई चर्चा र प्रतिष्ठाको शिखरमै पुर्याइदियो। आजपर्यन्त पनि ‘शिरीषको फूल’ र पारिजात पर्यायवाची झैं भएका छन्, यद्यपि यो तथ्यमा विमति राख्ने एउटा समूह सदा सक्रिय छ।
विधागत रूपमा कृतिगत योगदान : कोइराला र पारिजात दुवैले विभिन्न विधामा रचना गरे पनि मूल रूपमा उपन्यासकारिताले नै पाठक र विद्वत् वर्गमाझ व्याप्ति पाएका छन्। पारिजातको पहिलो उपन्यास शिरीषको फूल २०२२ सालमा प्रकाशित भएर सोही वर्षको मदन पुरस्कारसमेत प्राप्त गरेउप्रान्त उनलाई त्यही उपन्यासले बचाएको छ। उनको जीवनकालमा पनि त्यही उपन्यासले उनलाई बचाएको हो र मृत्युपरान्त पनि उनलाई शिरीषको फूलले नै बचाएको छ। उनको जीवनकालमा मदन पुरस्कारको रकमले मात्र होइन, त्यस कृतिबाट प्राप्त हुने लेखकस्वले उनको कमजोर आर्थिक अवस्थालाई भरथेक गरेको थियो।
पारिजातको सबैभन्दा बढी बिक्री भएको पुस्तक शिरीषको फूल नै थियो, त्यसैले त्यसले दिने लेखकस्व अन्य कृतिहरूको दाँजोमा उल्लेख्य नै थियो। यो उपन्यास उनको जीवनकालमै अंग्रेजी भाषामा अनुवाद भयो। उनको देहान्तपछि पनि शिरीषको फूल विभिन्न भाषामा अनुवाद हुँदै गए। फ्रेन्च, जर्मनी, ग्रिक, असमी आदि भाषामा उनका उपन्यासले व्याप्ति पाए। बीसकै दशकमा यो त्रिविको पाठ्यक्रममा समावेश भयो। पछि उनका अन्य उपन्यास महत्ताहीन, तोरीबारी बाटा र सपनाहरू, बैंसको मान्छे, पर्खालभित्र र बाहिर, उसले रोजेको बाटो, अन्तर्मुखी अनिँदो पहाडसँगै, परिभाषित आँखाहरूलगायतका उपन्यासले उनको उपन्यासकार व्यक्तित्वलाई अग्लो बनाउन मद्दत भयो। यद्यपि यी उपन्यासहरूले पारिजातको शिरीषको फूलको उचाइँ भेट्न सकेनन्। हुन त एक समूहले सधैं अनिँदो पहाडसँगैलाई उनको सर्वोत्कृष्ट कृति भन्ने गरेका छन्, तर त्यसलाई बहुसंख्यक पाठकले समयले अनुमोदन कहिल्यै गरेको देखिएन। पारिजातले विधागत रूपमा कथा, कविता र आत्मसंस्मरणको क्षेत्रमा पनि उत्तिकै योगदान गरेकी छन्। उनको पहिलो कथा ‘मैले नजन्माएको छोरो’ अद्यपि नेपाली कथा जगत्मा एक विशिष्ट कोसेढुंगाका रूपमा स्थापित छ। आकर्षक शैली र भाषाका कारण उनका आत्मकथा पनि पाठकका लागि रुचिका विषय भए। पारिजातका आत्मकथात्मक कृतिहरू मृत्युपरान्त पनि आए। कोइराला पनि मूलरूपमा नेपाली साहित्यमा उपन्यासकारका रूपमा प्रतिष्ठित छन्। उनको जीवनकालमा प्रकाशित पहिलो उपन्यास तीन घुम्तीदेखि नरेन्द्र दाइ, सुम्निमा, मोदी आइन्सम्म उनका सबै उपन्यास पाठक अध्येताका लागि सदाबहार रुचि र छनोटका कृतिहरू हुन गए।
कृतिगत रूपमा यी कुनै पनि उपन्यासले पुरस्कार नपाए पनि यिनीहरू सधैं सदाबहार चर्चा र रुचिका पुस्तक आजपर्यन्त भइरहेका छन्। २०१७ सालमा प्रधानमन्त्री पदबाट अपदस्थ गरिएपछि नक्खु जेल र पछि भारतमा निर्वासित जीवन बिताउन बाध्य बीपीका कुनै पनि कृतिले पुरस्कार पाउने सम्भावनै थिएन। तर उनको कृतिलाई पाठकले रुचि र चासो राख्न पुरस्कारको आवश्यकता नै परेन। उनले विधागत रूपमा उपन्यासका अतिरिक्त कथा, आत्मकथा र आत्म संस्मरणमा पनि ठुलो योगदान पुर्याएका छन्। उनको कथा विधामा दोषी चश्मापछि श्वेत भैरवी आयो, आत्मकथात्मक कृतिहरू मेरो बाल्यकाल, आफ्नो कथा आए। उनका आत्मकथात्मक कृतिहरूले नेपाली साहित्यको आत्मकथा क्षेत्रलाई समृद्ध तुल्याएका छन्।
लेखनको उत्कर्षकाल : पारिजातको लेखनको उत्कर्षकाल २० र ३० को दशक थियो। यही दुई दशकमा उनका प्रमुख कृतिहरूको लेखन तथा प्रकाशन भयो। यद्यपि ४० को दशकमा उनको अन्तिम उपन्यास ‘परिभाषित आँखाहरू’को लेखन र प्रकाशन भएको थियो। उनी विशेषगरी २०३६ सालको नेपालको राजनीतिक गतिविधिपश्चात् राजनीतिमा बढी चासो राख्ने, गैरसरकारी संघसंस्थाको स्थापना, सञ्चालन र गतिविधिमा बढी रमाउन थालिन्। उनले साहित्यलाई पहिलो प्राथमिकतामा राखिनन्। कोइरालाको लेखनको उत्कर्षकाल बीसको दशक रह्यो। उनका प्रमुख उपन्यासहरू यही कालखण्डका उपज हुन् भने पछि प्रकाशित र मरणोपरान्त प्रकाशित प्राय: कृति बीसकै दशकका हुन्। उनले आफ्नो जेल जीवनमा पर्याप्त समय साहित्य पठन र लेखनमा लगाए, आफ्नो राजनीतिक चिन्तन र गतिबिधिलाई निरन्तरता दिँदै। भारतमा निर्वासित जीवन बिताएर नेपाल फर्केपछि बीपी पूरै राजनीतिमा होमिए, साहित्य उनको प्राथमिकतामा परेन।
विवादका विविध पक्ष : कोइरालाको एक कथाले रुसी कथाको प्रभावमा लेखिएको भन्ने आरोप खेप्नु पर्यो। पारिजातको ‘शिरीषको फूल’ जापानी उपन्यासकार ओसामु दाजाईको ‘द सेटिङ सन’सँग जोडियो। लेखनगत प्रभावका प्रसंगबाहेक कोइरालाका खासै साहित्यिक विवाद देखिएन। ‘म राजनीतिमा समाजवादी हुँ’ भने ‘साहित्यमा म अराजकतावादी हुँ’ भनाइलाई वामपन्थी विचारधारा बोक्ने साहित्यकारले आलोचना गर्ने गरेका छन्।
तर पारिजात भने आफ्नो लेखकीय जीवनमा धेरै विवादमा आइरहिन्। कहिले आफ्नै कृति ‘शिरीषको फूल’को विरोध गरेर, कहिले त्यसको पुनप्र्रकाशनको अनुमति नदिएर त कहिले अनुमति दिएर। कोइरालाको लेखनको आलोचना गर्नेहरू वामपन्थी विचार बोक्नेहरू मात्रै रहे, प्रजातन्त्रवादीहरूले उनको आलोचना गरेको देखिएन। तर पारिजातलाई भने वामपन्थी राजनीतिका उपासकहरूले नै विवादमा ल्याइरहे। आलोचना गरिरहे। कहिले छद्म नाममा त कहिले आफ्नै नाममा। छद्म नाममा पारिजातको उछित्तो काढ्नेमा नीनु चापागाईं पहिलो पंक्तिमा पर्छन्। उनले रूपरेखामा दुईपल्ट सुशील देवकोटा, विराटनगरको नाममा गरेको आक्रमण नेपाली साहित्यको र पारिजातको सिंगो लेखकीय जीवनमा कालो धब्बा हो।
एकअर्काप्रतिको दृष्टिकोण : कोइरालाले पारिजातको राजनीतिक आस्था वा उनको विषयमा खासै कुनै चासो राखेको वा टिप्पणी गरेको पाइँदैन। उनले जेलमा छँदा शिरीषको फूल पढेर त्यस पुस्तकबारे पढ्न प्रतिक्रिया डायरीमा लेखे र पछि त्यो प्रकाशित भयो। उनले शिरीषको फूललाई संवेदनशील उपन्यास माने र शंकर लामिछानेले भूमिकामा गरेको व्याख्यालाई विचित्रको भन्दै उपन्यासको कथाको हेतु शून्यवादको विपरीत रहेको बताए। कोइरालाले पारिजातप्रतिभन्दा लामिछानेको भूमिकाप्रति प्रश्न उठाएका छन्। पारिजातको वा शिरीषको फूलको खासै आलोचना गरेका छैनन्।
पारिजात भने बीपीको राजनीतिक विचारप्रति असहमतमात्र होइन, असहिष्णु भएको देखिन्छिन्। उनले बीपीका उपन्यास प्रगतिशील नभएकाले नपढेको र नपढ्ने भनेपछि वानीरा गिरीसँग उनको मतभेदसमेत भएको थियो। वानीराले पनि अब तपाईंको पनि उपन्यास पढदनँ भनेर प्रतिक्रिया दिएकी थिइन्। त्यतिमात्र होइन, बीपीको मृत्युपछि पारिजातसँग प्रतिक्रिया माग्दा उनको प्रगतिशील साहित्यमा कुनै योगदान नभएकाले कुनै दु:ख नलागेको बताएर असहिष्णुता प्रकट गरेकी थिइन्।
साहित्यिक उचाइ र व्याप्ति : हुन त कुन लेखकको साहित्यिक उचाइ कति भनेर नाप्ने कुनै यन्त्र त हुँदैन। को लेखकभन्दा को ठूलो वा सानो भन्ने मापन यन्त्र पनि हुँदैन। तथापि ती साहित्यकारले गरेका योगदान, लेखेका कृतिहरूको संख्या र गुणवत्ताको हिसाबले अध्येताहरू, विद्वानहरू मूल्यांकन गर्छन्। यस हिसाबले हेर्दा कोइराला र पारिजात नेपाली साहित्यमा शिखरमै देखिन्छन्, फरक फरक शिखरमा।
पारिजातले वामपन्थी मार्ग रोजेपछि र आफ्नो सम्पूर्ण लेखन, चिन्तनलाई प्रगतिवादी साहित्यमा समाहित गरेपछि उनका गैरवामपन्थी पाठक घटेकै हुन्। अझ गैरवामपन्थी साहित्य र साहित्यकारलाई छोइछिटो गर्न थालेपछि साहित्यको मूलधारबाट अलिकति पाखातिर आफैंले धकेलेकी हुन्। उनी एकपक्षीय भएकी थिइन्। उनको पाठक संसार विभाजित भयो, राजनीतिक आस्थाको कारणले। पारिजातले आफूले प्रगतिवादी लेखनमा कलम मात्र चलाइनन्, उनले यौटा पुस्तालाई प्रोत्साहन गरिन्, उत्साह उमंग र सपना देखाइन्। त्यसले उनका प्रगतिवादी अनुयायीको जमात बन्यो, यो बेग्लै हो। जहाँ उनलाई आलोचना गर्नेहरू पनि थिए।
तर, कोइराला राजनीतिक रूपमा नेपाली कांग्रेसका शीर्षस्थ व्यक्तित्व हुँदा पनि प्रगतिवादी साहित्यलाई पारिजातले जस्तो छोइछिटो गरेनन्। साहित्यमा उनले व्यापक रूपले विस्तारित रूपमा शाश्वत साहित्यिक विचार प्रवाह गरे। राजनीतिक आस्थालाई साहित्यमा कुनै ठाउँ दिएनन्। साहित्यलाई साहित्यकै उच्च स्थानमा मर्यादित रूपमा राखे। मूलत: मनोविज्ञान तथा यौन मनोविज्ञानलाई उनले लेखनमा समाहित गरे। बीपी र पारिजातमा को अग्लो ? को फराकिलो ? को कति व्यापक ? को कति लोकप्रिय ? यो समयले छुट्ट्याउने कुरा हो। समयको कसीले निर्धारण गर्ने कुरा हो। आजै निर्क्यौल निकाल्नु हतार हुनेछ। शाश्वत मूल्य र मान्यता युक्त, जीवन र जगत् अनि मनुष्यलाई स्पर्श गर्ने सिर्जना नै चीरकालसम्म रहनेछन्।