‘बढ्नु, हाँगा हाल्नु, फूल फुलाउनु, अर्को जीवन दिनु, आफू अन्त हुनु, फेरि जन्मनु’ जस्ता उपमाहरू दिएर लेखकले उपन्यासको विभाजन गरेको एकदमै राम्रो लाग्छ।
‘त्रिशूली जीवनहरूको कथा’ ६ वर्षपछि अन्तत : ‘बगुवा पानी’ भएर आयो तर ‘ढिलो होस् स्वस्थ रहोस्’ भन्ने नेपाली परिवर्तित उखानलाई साकार पारेरै आयो। राजमार्गको अस्पतालमा कार्यरत एक चिकित्सकले भोग्नु परेको दैनिकीलाई आत्मसात् गर्ने उनैको पति अर्का चिकित्सकले कोरेको कथा हो यो। डा. विनोद ढकाल, प्याथोलोजिस्ट जो साहित्यको सेवक भएर जीवन धान्ने महत्त्वाकांक्षाको योजना बुन्छन्, उनको उपन्यासको पहिलो अपरिष्कृत पाण्डुलिपि हेरेको थिएँ अनि ‘त्रिशूली प्रवाहन’ नामकरण गरिदिएको थिएँ।
शायद ६ वर्षअघिको कुरो थियो त्यो। यति लामो गर्भावस्थाको समयमा यसले थुप्रै पौष्टिक आहार पाएछ। अनेकौं वरिष्ठ स्त्रीरोग विशेषज्ञ, विशेषज्ञ रेडियोलोजिस्ट, पोषणविज्ञ (विभिन्न भाषा—साहित्य विशेषज्ञ)हरूको सल्लाह–सुझावअनुसार आफूभित्र हुर्किरहेको साहित्यिक भ्रूणलाई थुप्रै मलजल पुर्याएका होलान् डा. विनोद (विधा) ले। अनि त २२४ पृष्ठको उत्तम कलेवरयुक्त ‘बगुवा पानी’ हात लाग्यो। त्यो धैर्य, त्यो साहस, अनि त्यो लगानी, खेर भने गएको छैन।
राजमार्गमा ट्राफिक दुर्घटना सामान्य परिघटना हो। लेखक ‘विधा’ की श्रीमती मेडिकल अफिसर भएर गजुरीको स्वास्थ्य केन्द्रमा कार्यरत हुँदा उनले थुप्रै त्यस्ता मृत्युहरूको साक्षी हुनुपर्यो। दुर्घटनामा घाइतेहरूको उपचार, आवश्यक परे काठमाडौं ‘रिफर’ त छँदै छ। उनले कति मृत शरीरहरूको पोस्टमार्टम नै गर्नुपर्यो। मृत देह चिर्नुपर्ने, सुतिसकेको मस्तिष्क, सुकिसकेका रक्तनली, अनि धडकन छोडिसकेका मुटु, फुल्न छोडिसकेका फोक्सोहरू, सबैलाई ओल्टाइपल्टाइ केलाइकुलाइ गर्नुपर्यो। दुर्घटनाका कारणलेनै मृत्युवरण भएको हो भन्ने थाहा हुँदाहुँदै पनि ‘मृत्युको कारण दुर्घटना नै हो’ भन्ने प्रमाणित गर्न अपरिहार्य चिकित्सकीय धर्म र कर्तव्य पालना गर्ने लेखककी श्रीमतीका कर्महरूको साक्षी स्वयम् थिएँ। मृत्युवरण या घाइते भएका ड्राइभर, खलासी, यात्रुहरूको कथा श्रीमतीको माध्यमबाट बारम्बार सुन्छन् डा. विनोद। फेरि, प्राय : सधैं राजमार्गका बस, ट्रक, जिपहरूमा यात्रा गर्ने लेखक आफैंका पनि केही अनुभव नभएका हैनन्। तिनै अनुभवहरू अनि कथाहरूलाई औपन्यासिक मालामा आबद्ध गर्न कम्मर कस्छन् लेखक विधा। त्यसैको उपज हो ‘बगुवा पानी’।
उपन्यासको कथा बसचालक गोरे, सहचालक रामजित अनि उसको साथी श्याम–तीन जना वरिपरि घुमेको छ। लेखकले उपन्यासको ७०–८० प्रतिशत भागमा गोरेलाई उभ्याएका छन्। रामजित र श्याम उपन्यासको मध्यपछि मात्र देखा पर्दछन्। उपन्यासको उपसंहार हेर्दा भने यी तिनै पात्र महत्त्वपूर्ण जस्ता लाग्छन्। तर लेखकबाट उचित न्याय पाएका छैनन् रामजित र श्यामले। बरु गोरेले भने चाहिनेभन्दा बढी स्थान ओगटेको छ। फेरि सम्पादकीय कमजोरीका रूपमा कहिलेकाहीँ ’गोरे’लाई ‘विशेष’ भनेर सम्बोधन गरिएको परिस्थितिले उजागर गरिदिएको छ। नयाँ संस्करण तयार गर्दा डा. विनोदले यसमा ध्यान पुर्याउन जरुरी छ। गोरेको बाल्यकालको चित्रण सुन्दर छ। तर बीचबीचमा ‘साहिला बा’, साहिँली आमाका रूपमा दर्शन–प्रवचन आदिका प्रसंग दोहोच्याई–तेहर्याई ल्याउँदा अलि पट्यारलाग्दो हुन पुग्छ उपन्यास। उपन्यासको निरन्तर प्रवाह रोकिन पुगेको जस्तो लाग्छ।
त्यस्तै, गोरेको मिल्ने साथीको रूपमा रहेको ‘बतासे’पछि कता हराउँछ ? थाहा–पत्तो पाइँदैन। छायाको बहिर्गमन र तृष्णाको आगमनलाई कथाले राम्ररी देखाउन नसकेको हो कि जस्तो लाग्छ। कृष्णसँगको प्रसंग ठीकै छ तर उनी कसरी हराए या गोरे कसरी स्वतन्त्र चालक भयो अनि रामजित र श्याम कसरी ऊसँग जोडिन पुगे भन्ने प्रसंगलाई राम्ररी प्रस्तुत गर्नबाट चुकेका छन् विनोद। गोरेको आमा एक्कासि हराउँछिन् अनि फेरि मृत्युवरण गर्ने बेलामात्र उपन्यासमा देखा पर्छिन्। केही नमिलेको जस्तो लाग्छ। त्यस्तै, श्यामकी आमाले श्यामलाई विदेश जान जबर्जस्ती गर्ने अनि बनेपाली साहु त्यतिविधि उदार मन हुने जस्ता विषय नेपाली समाजमा अलि अमिल्दो नै पो हो कि जस्तो लाग्छ। अनि श्याम र रामजितको पात्रलाई जबर्जस्ती उभ्याउने कसरत पो गरेका हुन् कि लेखकले भने झंै पनि लाग्छ।
वास्तवमा गोरेलाई मात्र मूलपात्रका रूपमा उभ्याएर उसकी आमा, कृष्ण दाइ, छाया–तृष्णा, छोरा—छोरी आदिलाई अलि विस्तारित रूपमा वर्णन गरेको भए उपन्यास अलि बढी सशक्त बन्ने थियो कि ? फेरि गोरेको दिदी, अनि भाइ कसरी गोरेसँग जोडिए, कथामा स्पष्ट छैन। उनीहरू कसरी आत्महत्याको परिस्थितिमा पुगे, अनि कसरी एकै समय मृत्युवरण गरे ? यी विषय पूरै पाठकहरूको कल्पनामा छोडिएका छन्। ठाउँठाउँमा लेखक अलि बढी भावुक, कतै बढी नै दार्शनिक देखिन्छन्। अनि अत्यन्त क्लिष्ट शब्दहरूको प्रयोग लेखकको ठूलो कमजोरी मान्छु म। कथानक–उपन्यास साधारण अनि साक्षर पाठकहरूले मात्र पनि पढ्न सक्ने बुझ्न सक्ने हुनुपर्छ भन्ने लेखकले ख्याल गर्नुपर्छ। कथा सलल बगोस्। उपन्यास त्यस्तो हुनुपर्छ जस्तो लाग्छ। तर, यी सब कमीकमजोरीका बाबजुद उपन्यासको अन्त्य एकदमै मार्मिक छ।
फेरि ‘बढ्नु, हाँगा हाल्नु, फूल फुलाउनु, अर्को जीवन दिनु, आफू अन्त हुनु, फेरि जन्मनु’जस्ता उपमाहरू दिएर लेखकले उपन्यासको विभाजन गरेको एकदमै राम्रो लाग्छ। पुनश्च : ‘बगुवा पानी’मा एउटा मार्मिक प्रसंग छ, यात्रुहरूका आपसी संवादमा लेखक पोखिएका छन्, ‘जहाज दुर्घटना हँुदा रोइकराइ गर्ने समाजले—मिडियाले पूरै बस त्रिशूलीमा खस्दा पनि खासै प्राथमिकता दिँदैन। एक दुई दिन समाचारको कुनामा लेखिदिएर, भनिदिएर औपचारिकता निभाएको जस्तो लाग्छ। शायद जहाज चढ्ने यात्रुको तुलनामा बसमा गरिब यात्रु चढ्छन् भनेर हो कि ? ’ लेखकले ती गरिबहरूको बोली भने बोलिदिएका छन्।
डा. विनोद उम्दा लेखक हुन् भन्नेमा शंका छैन। मेहनेती छन्, शब्दमा खेलिरहन चाहन्छन्, अनि हरदम शब्दहरूकै खोजी–संग्रहमा लागेका हुन्छन्। यस अर्थमा पनि उनको पहिलो साहित्यिक प्रयास राम्रो छ, पठनीय छ, संग्रहणीय नै छ।