परिवर्तनको संवाहक एमालेलाई कमजोर पार्न प्रतिक्रियावादी शक्ति लागे : ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध भयानक घेराबन्दी भइरहेको दाबी गरेका छन्। काठमाडौंमा आयोजित नेकपा (एमाले) को जनसंगठन सुदृढीकरण राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै ओलीले परिवर्तनविरुद्ध रहेका शक्तिहरु एमालेको विरोधमा लागिरहेको बताएका हुन्।
उनले परिवर्तनको संवाहक एमाले भएकाले कसरी कमजोर पार्ने भनेर प्रतिक्रियावादी र परिवर्तन विरोधी शक्तिहरु लागि परेको दाबी गरे। ‘अहिलेको परिस्थिति जटिल छ। हामीविरुद्ध घेराबन्दी छ। परिवर्तनका विरोधी शक्तिहरु संविधानविरुद्ध खुलेआम लागेका छन्। सामन्ती, निरङ्कुश र अधिनायकवादी राजतन्त्रका पक्षमा यसरी मान्छेहरु बेसरम उफ्रिएको पहिले कहिल्यै देखिएको थिएन।’, प्रधानमन्त्री ओलीले भने, ‘जानी नजानी एक खालका मानिसहरुबाट नकारात्मक महौल खडा गर्ने कोसिस भइरहेको छ। सत्य र तथ्यको बाटो नभई झुठ, भ्रम, षड्यन्त्र र तिकडमको सहारा लिएका छन्। उनीहरुलाई काम र मेहनत गर्नु पर्दैन। भएको राम्रो कामको उल्टो काम प्रचार गरे पुग्छ।’
ओलीले अहिले परिवर्तन विरोधीहरु खुलेआम संविधानको विरुद्धमा समेत लागेको उल्लेख गरे। ‘नेपाललाई लोकतान्त्रिक देश, शान्ति र सुशासनको व्यवस्थित मार्ग समाप्त नदिने प्रयास भइरहेका छन्।’ प्रधानमन्त्रीसमेत रहेका ओलीले भने, ‘नेपाललाई विकास र समृद्धिको दिशामा बढ्नै नदिने प्रयास भइरहेका छन्। नेपाली जनताको समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा सफल हुन नदिन कतिपय जानेर/नजानेर/योजनाबद्ध ढंगले लागि परेका छन्, एउटा माहोल खडा गर्ने कोसिस भइरहेको छ। उनीहरुसँग सत्य र तथ्यको बाटो हुँदैन। सत्यलाई रोकेर असत्यलाई फैलाउन लागि रहेका छन्।’
ओलीले अहिले एमाले र एमाले नेतृत्वको सरकारलाई गलत देखाउन टाउको टेकेर हिँडिरहेको टिप्पणी गरे।