एमालेले 'हिंसा' शब्द सच्याउनुपर्छ : दाहाल

एमालेले 'हिंसा' शब्द सच्याउनुपर्छ : दाहाल
विराटनगर विमानस्थल संचारकर्मीसँग कुरा गर्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
सुन्नुहोस्

विराटनगर : पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)ले ‘हिंसा’ शब्द सच्याउनुपर्ने बताएका छन् । एमाले नेतृत्वले माओवादी आन्दोलनलाई अपमानित गरेको उनको भनाइ छ । 

विराटनगर विमानस्थलमा शनिबार संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै दाहालले ‘हिंसा’ शब्द प्रयोग गरेर एमालेले माओवादी आन्दोलनलाई अपमानित, अपभ्रंश र भ्रष्टीकरण गर्न खोजेको बताएका हुन् । उनले त्यो कुरा नसच्याए संसदमा माओवादीको विरोध जारी रहने स्पष्ट पारेका छन् । 

संविधानको सशस्त्र संघर्ष सम्बन्धी व्याख्यामा माओवादी जनयुद्ध भनेर व्याख्यात्मक टिप्पणीमा राखिएको र सर्वदलीय सहमतिका आधारमा सबैको हस्ताक्षर भएको ‘डकुमेन्ट’ आफूले विपक्षी दलको नेताको हैसियतमा संसदमा पढेर सुनाएको दाहालले बताए । ‘अहिले एमाले नेतृत्वले हिंसा शब्द प्रयोग गरेर माओवादी आन्दोलनलाई अपमानित, अपभ्रंश र भ्रष्टीकरण गर्ने गरेको छ । त्यो चैं उहाँहरु (एमाले)ले सच्याउनुपर्छ । नत्र हाम्रो विरोध जारी रहन्छ,’ उनले भने । 

उनले राजनीतिमा ‘एक्जिट’ भन्ने नहुने दाबी गरे । ‘सच्चा राजनीतिज्ञहरु बाँचुनजेल पनि राजनीति गरी नै राख्छन् । मरे पनि गर्छन् भन्ने छ ‘फिलोसोपी’ । मरेपछि पनि राजनीतिज्ञहरू मर्दैनन् । उनीहरुले राजनीति गरी नै राखेका हुन्छन् । राजनीतिमा ‘एक्जिट’ भन्ने वैज्ञानिक कुरा हैन,’ दाहाल भन्छन् । 

उनले उपसभामुख इन्दिरा रानालाई हटाउने कुरामा आफ्नो कुनै सम्झौता नरहेको स्पष्ट पारेका छन् । भागमा न्यायाधीश पाएमा उपसभामुखलाई हटाउन सम्झौता गरेको भनेर कसैले भ्रम छर्ने र नियोजित रूपमा प्रचार गरेको हुनसक्ने उनको भनाइ छ । 

अहिलेको व्यवस्थाविरुद्ध दुर्गा प्रसाईंलगायतले मंसिर ७ गतेदेखि आन्दोलन गर्ने भनेर गरेको कुरालाई आफूहरुले महत्व नदिएको उनले बताए । ‘हामी आफ्नै पार्टीलाई राम्रोसँग तयार गर्नुपर्छ भनेर लागेका छौं । सबै प्रदेशमा गएर पार्टीलाई केन्द्रित गर्ने प्रयास गरेका छौं । समाजवादी मोर्चा, वामपन्थी र लोकतन्त्रवादी पार्टीहरुसँग पनि कुराकानी चलिरहेको छ । व्यक्तिहरुका हकमा त्यति महत्व दिएका छैनौं । दिँदैनौं पनि,’ उनी भन्छन् । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.