कैलालीमा बाढीको वितण्डा : सशस्त्र प्रहरीको बीओपी बगायो, ४३८ परिवार प्रभावित

कैलालीमा बाढीको वितण्डा : सशस्त्र प्रहरीको बीओपी बगायो, ४३८ परिवार प्रभावित

टीकापुर : नेपाल–भारत सीमावर्ती क्षेत्रको सुरक्षार्थ तैनाथ गरिएका कैलालीका सशस्त्र प्रहरी बलका बीओपी (बोर्डर आउट पोष्ट) हरू बाढीको चपेटामा परेका छन्। 

मोहना नदीको किनारमै स्थापना गरिएका बीओपीमध्ये ७ वटा बाढीको चपेटामा परेका छन् भने एउटा बीओपीको भवन पूर्णरुपमा मोहना नदीले बगाएको छ। 

शुक्रबार राति आएको वर्षासँगैको बाढीले धनगढी उपमहानगरपालिका-१९ स्थित लल्लीपुरमा रहेको बीओपीका तीनवटा भवन बगाएको हो। लल्लीपुरको बीओपीमा २ कोठे एउटा भवन, एक सभाहल र एक/एक कोठाका दुई ओटा भवन रहेका थिए। बाढीले ती सबै संरचनामा क्षति पुर्‍याएको सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर हेडक्वाटर कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) दलबहादुर पाण्डेले जानकारी दिए। 

‘प्रिफ्याबबाट बनाइएका तीन भवनहरु मोहना नदीको बाढीले क्षति पुर्‍याएर बगेका छन्’ एसपी पाण्डेले भने ‘टीकापुर नगरपालिकाको क्षेत्रमा रहेका तीनवटा, भजनी नगरपालिका क्षेत्रमा रहेका तीनवटा र कैलारी गाउँपालिकामा रहेको एउटा बीओपीमा समेत बाढी पसेर क्षति पुर्याएको छ।’

एसपी पाण्डेका अनुसार बीओपीको संरचनामा क्षति हुँदा लल्लीपुरमा रहेको बीओपीलाई रबर बोटको सहायताले स्थानीय सामुदायिक भवनमा राखिएको हो। कैलालीको सीमा क्षेत्रमा १४ ओटा बीओपी, ४ वटा प्रस्तावित गुल्म र एउटा एउटा फरवार्ड बेस छ। बीओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २५ जनाको टोली हुन्छ भने गुल्ममा डिएसपीको नेतृत्वमा ५० जनाको टोली खटिएको हुन्छ। 

सीमा क्षेत्रमा हुने चोरी निकासी तथा गैरकानुनी कार्यको नियन्त्रण, सिमानामा रहेका सीमा स्तम्भको सुरक्षा, दशगजा क्षेत्रको सुरक्षा गर्न भन्दै सरकारले सशस्त्र प्रहरीलाई सीमा क्षेत्रमा सुरक्षार्थ खटाएको हो। कैलालीको दक्षिणी नदी तटीय क्षेत्रमा बर्सेनि हुने डुबान र बाढीको समस्याबाट स्थानीयवासीलाई उद्धार गर्दै आइरहेका सशस्त्र प्रहरी नै बाढीको चपेटामा परेका हुन्। कैलालीका विभिन्न नदी र मोहनामा आएको बाढीका कारण सशस्त्र प्रहरीको पोष्टहरु डुबानमा परेका हुन्। 

बाढीको समयमा आफू जोगिन, हतियार जोगाउन र स्थानीयलाई उद्धार गर्नका लागि सशस्त्र प्रहरीसँग पर्याप्त उद्धार सामग्री समेत छैनन्। बर्सेनि डुबानमा पर्दै आएका बीओपीहरुलाई अग्लो सुरक्षित स्थानमा लैजान र पर्याप्त मात्रामा विपद् उद्धार सामग्रीहरूको व्यवस्था गर्न सशस्त्र प्रहरीले माग गर्दै आइरहेका छन्। 

यता, तीन दिनदेखिको अविरल वर्षाका कारण कैलालीका ४ सय ३८ परिवार प्रभावित भएका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले दिएको जानकारी अनुसार बाढीबाट कैलालीका विभिन्न ठाउँमा ४ सय ३८ परिवार प्रभावित भएका छन्। जोशीले जानकी गाउँपालिकाका १५, कैलारी गाउँपालिकाका ५३, जोशीपुर गाउँपालिकाका ६० र भजनी नगरपालिकाका ३ सय १० परिवार बाढीबाट प्रभावित भएको बताए। 

मोहना, कान्द्रा, पथरैया नदीमा आएको बाढीका कारण डुबानमा परेर घर भत्किएका १ सय ६२ परिवारलाई सुरक्षित स्थानमा राखिएको छ। सूचना अधिकारी जोशीका अनुसार जानकी गाउँपालिकाका ३२, टीकापुर नगरपालिकाका १ सय १०, जोशीपुर  गाउँपालिकाका २, भजनी नगरपालिकाका १३, कैलारी गाउँपालिकाका २ र गोदावरी नगरपालिकाका ३ परिवारलाई सुरक्षित स्थानमा राखिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.