उत्ताउलो भएर नबोल्न नयाँ दलहरूलाई सुझाव छ : सिटौला
काठमाडौं : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उत्ताउलो भएर नबोल्न नयाँ दलहरूलाई सुझाव दिएका छन्।
१११औं वीपी जयन्तीको सन्दर्भमा शनिबार काठमाडौंमा आयोजित लोकतान्त्रिक समाजवाद र आजको परिस्थिति विषयक अन्तरक्रियामा सिटौलाले पुराना दलहरूको योगदानका कारण मुलुकमा परिवर्तन सम्भव भएको भन्दै उत्ताउलो भएर नबोल्न नयाँ दलहरूलाई सुझाव दिए।
रास्वपा, जनमतजस्ता नयाँ दलहरूलाई जनताले विश्वास गर्नु सकारात्मक पाटो भएको भन्दै जनताका लागि काम गर्ने हो भने बिना कारण अरुलाई दोषारोपण नगर्न उनको सुझाव छ।
सिटौलाले जनतामा काम गर्न चाहने पार्टीहरूलाई कांग्रेसको विचारको छातामा आउनसमेत आग्रह गरे। उनले लोकतन्त्रलाई बलियो बनाउन काम सबैले गर्नुपर्ने र जनतालाई भ्रमित पार्ने काम कसैले गर्न नहुने बताए।