झापामा जबरजस्ती करणी मुद्दाका कैदी अस्पतालबाटै फरार

झापामा जबरजस्ती करणी मुद्दाका कैदी अस्पतालबाटै फरार
सुन्नुहोस्

झापा : अस्पतालमा उपचाररत रहेका झापाका एक कैदीबन्दी फरार भएका छन् । भद्रपुर नगरपालिका–५ निवासी २४ वर्षीय जीवन साह फरार भएका हुन् । साहलाई झापा जिल्ला अदालतले १६ वर्षीया बालिकालाई जबरजस्ती करणी मुद्दाको आरोपमा पुर्पक्षका लागि भदौ ५ गते झापा कारागारमा चलान गरेका थिए । 

साह ओमसाई पाथीभरा अस्पताल भद्रपुरबाट आइतबार बिहान ३ बजेर ३७ मिनेटमा फरार भएको अस्पतालको सिसी टिभी क्यामराको फुटेजमा देखिन्छ । साहलाई उनीकी श्रीमतीले स्कुटर चढाएर भगाएको क्यामराको फुटेजमा प्रस्ट देख्न सकिन्छ । निमोनिया भएपछि साहलाई भदौ २५ गते बिहान मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । 

त्यहाँबाट थप उपचारको लागि ओमसाइ पाथीभरा अस्पतालमा रेफर गरिएको थियो । ओमसाइको दोस्रो तलको दुई नम्बर क्याबिनमा साह उपचारका लागि बसेका थिए । उनको सुरक्षाका लागि अस्पतालमै सहायक हवलदार र प्रहरी जवान गरी दुई जना सुरक्षाकर्मी खटाइएको थियो । 

साह फरार भएको बेला अस्पतालमा प्रहरीसँग लफडा परेको थियो । दुई प्रहरीमध्ये एकजनाले मादक पदार्थ सेवन गरेर एक नम्बर क्याबिन ढकढकाएपछि लफडा भएको थियो । सोही मौका छोपी साह फरार भएको अस्पताल स्रोतले जनाएको छ । 

साह फरार हुँदा हतकडी लगाएको थिएन । उनले श्रीमतीलाई पछाडि राखी स्कुटर आफै चलाएर गएका थिए । अस्पतालबाट कैदी फरार भएको घटना थाहा पाएलगतै जिल्ला प्रहरी कार्यालय झापा, वडा प्रहरी कार्यालय भद्रपुरको टोली उनको खोजी कार्यमा लागि परेका  छन् । फरार भएका साह भद्रपुर– ३ स्थित झोलुङ्गे पुल हुँदै मेचीपारि नाकाबाट भारततर्फ भागेको रहेछ । स्कुटरमा श्रीमान्– श्रीमतीसँगै भाग्दै गर्दा त्यहाँ खटिएका सशस्त्र प्रहरीले समेत देखेका थिए । जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीका अनुसार अस्पतालमा उपचाररत रहेका बेला कैदी भागेको हो ।

उनको खोजीका लागि प्रहरी टोली परिचालन गरिसकेको उनले बताए । केहीदिन अघि मात्र इलाका प्रहरी कार्यालय बिर्तामोडका एकजना थुनुवा हतकडी फुस्काइ बिर्तासिटी अस्पताल बिर्तामोडबाट फरार भएका थिए । फरार भएको चार दिनपछि भदौ ८ गते उनी बिर्तामोड बसपार्कबाट पक्राउ परेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.