काठमाडौं : 'हिंसा' शब्दको विवादबारे छलफल गर्न सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतक र सचेतकको बैठक सुरू भएको छ। सिंहदरबारमा सुरू भएको बैठकमा नेपाली कांग्रेस,नेकपा एमाले, नेकपा माओवादी केन्द्र ,राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक र सचेतक सहभागी छन्।
प्रतिनिधिसभा बैठक बस्नुअघि सभामुख घिमिरेले छलफलका लागि दलका प्रमुख सचेतक र सचेतकलाई बोलाएका हुन्। प्रतिनिधिसभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रलगायत दलहरूले हिंसा शब्द नसच्याएसम्म संसदमा अवरोध गर्ने जनाएपछि सभामुख घिमिरेले दलहरूलाई छलफलका लागि बोलाएका हुन्। नेकपा एमाले सांसद योगेश भट्टराईले भदौ १२ गते प्रतिनिधिसभा बैठकमा प्रयोग गरेको शब्द हिंसालाई लिएर माओवादी केन्द्रले अघिल्लो संसद बैठकमा समेत अवरोध गरेको थियो।
सोही विषयलाई लिएर आजको संसद बैठकमा अवरोध गर्ने जनाएपछि सभामुख घिमिरेले छलफलका लागि दलका प्रमुख सचेतक र सचेतकलाई बोलाएका हुन्।
सभामुख घिमिरेले एमाले सांसद भट्टराईले प्रयोग गरेको हिंसा शब्द असंसदीय नभएको र संसदको रेकर्डबाट हटाउन आवश्यक नभएको रुलिङ गरेपछि पछि माओवादी सांसदहरूले अघिल्लो संसद बैठक अवरोध गरेका थिए।
सभामुखले भदौ २६ गतेको बैठकमा नेकपा एमालेका सांसद भट्टराईले प्रतिनिधि सभा बैठकमा प्रयोग गरेको ‘हिंसा’ शब्द संसदको रेकर्डबाट हटाउन नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले माग गरेका थिए। तर, सभामुखले उक्त शब्द असंसदीय नभएको निष्कर्ष निकाल्दै रेकर्डबाट हटाउन आवश्यक नभएको बताएपछि माओवादी केन्द्रले त्यसको विरोध गरेको हो।