‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियान जोडियो मेरो किसान
काठमाडौं : युवा उद्यमीहरूले सुरू गरेको स्टार्टअप व्यावसायको प्रवर्द्धन गर्न अन्नपूर्ण मिडिया नेटवर्कले सुरू गरेको ‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानमा मेरो किसान प्रालि जोडिएको छ । आइतबार अन्नपूर्ण मिडिया नेटवर्कको मुख्यालय तिनकुनेस्थित कार्यालयमा भएको एक समारोहमा उक्त सम्झौता भएको हो ।
सम्झौतापत्रमा अन्नपूर्ण मिडिया नेटवर्कका स्टार्टअपसँग अन्नपूर्ण अभियानकी संयोजनक सुधा भुजेल, मेरो किसान प्रालिका संस्थाप अबिनास सिलवाल र सुनिल थापाले हस्ताक्षर गरे । यो कम्पनीले कृषि उपजहरूको उत्पादन तथा बजारीकरणमा सक्रिय रही किसान र उपभोक्तालाई जोड्दै आइरहेको छ ।
‘यो अभियानले उद्यमशीलता प्रवर्द्धनमा महत्वपूर्ण सघाउन हुनेछ,'मेरो किसान प्रालिका संस्थापक अबिनास सिलवालले भने, ‘हामी पनि कृषिलाई प्रवर्द्धन गर्नका लागि यो अभियानमा जोडिएका हौं ।’
यो अभियानमा नेटवर्कका सबै प्लेटफर्महरू सहभागी हुनेछन् । नेटवर्कले हाल नेपाली संस्करण अन्नपूर्ण पोस्ट दैनिक,अंग्रेजी द अन्नपूर्ण एक्सप्रेस डेली, रेडियो अन्नपूर्ण नेपाल ९४ मेगाहर्ज, अनलाइन न्यूज पोर्टल अन्नपूर्ण पोस्ट डट कम, एपीवान टेलिभिजनलगायतका मिडिया प्लेटफर्महरू सञ्चालन गर्दै आइरहेको छ ।