अख्तियारमा एक वर्षमा २६ हजार ९ सय १८ भ्रष्टाचारका उजुरी
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत आर्थिक वर्षमा २६ हजार ९ सय १८ उजुरीहरू परेका छन्। ३४ औं वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेपछि आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले विभिन्न माध्यमबाट २६ हजार बढि उजुरी प्राप्त भएको जनाएको हो ।
अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ९ हजार २ सय ६८ उजुरीहरू समेत गरी जम्मा कारवाही गर्नुपर्ने उजुरीको संख्या ३६ हजार १ सय ८६ मध्ये ७६ दशमलव ५९ अर्थात २७ हजार ७ सय १४ उजुरी प्रारम्भीक छानविनबाटै फछर्यौट भएको छ ।
अख्तियारमा प्राप्त उजुरीमध्ये सबैभन्दा बढि संघीय मामिलासँग सम्बन्धित ३८ दशमलव ९१ प्रतिशत रहेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । गत आर्थिक वर्षको ८ हजार ४ सय ७२ उजुरी चालू आर्थिक वर्षमा जिम्मेवारी सरेर आएका छन् ।
गत आर्थिक वर्षमा विशेष अदालतबाट २ सय ३३ वटा मुद्दाको फैसला भएको छ भने ९२ वटाको फैसलाउपर सर्वोच्च अदालतमा पुनरावदेन गरिएको उनले बताए। त्यस्तै आयोगले मुद्दाबापत १५ सय ४५ जनालाई प्रतिवादी बनाउँदै ८ अर्ब ४० करोड ६ लाख ४९ हजार बिगो समेत मागदाबी भएको जनाएको छ ।
आयोगले भ्रष्टाचार हुनै नदिन निरोधात्मक र भ्रष्टाचारविरद्ध जागरण अभिवृद्धि गर्ने प्रवद्र्धनात्मक कार्यहरु सञ्चालन गर्दै आएको समेत जनाएको छ ।