विकासले निम्त्याएको विनाश
सडक निर्माण अत्यावश्यक भएका थुप्रै ठाउँ छोडेर राजनीतिक पहुँचका भरमा जसरी कथित विकास गरिएको छ, त्यसले विनासमात्रै दिएको छ भन्ने मनन गर्न ढिला गर्नु हुँदैन ।
सडकमात्रै विकास होइन । सडक विकासको आधार हो, त्यो पनि पहिलो नै भन्दा पनि हुन्छ । तर नेपालमा विकास भनेकै सडक निर्माण भनेर बुझ्ने परिपाटी छ ।
त्यसैले डाँडाकाँडा, भिरपाखा र कुनाकन्दरासम्मै सडक सञ्जाल पुर्याउने होडबाजी छ । जनता नै घरघरै सडक पुगोस् भन्ने मनोविज्ञानका छन् र सस्तो राजनीति गर्ने जनप्रतिनिधिहरू त्यही मनोविज्ञानलाई सम्बोधन गर्ने होडबाजीमा हुन्छन् । जथाभावी खनिएका सडकले विकास होइन विनाश निम्त्याएको छ । वनजंगल, पानीका स्रोत केही पनि ख्याल नगरी भिरपाखालाई काँक्रा चिरे झैं सडक सञ्जालले चिरेको नेपालभरि देखिन्छ । जस्तो लुम्बिनी प्रदेशको कुरा गर्ने हो भने यहाँ अहिले १ हजार ६ सय ९९ वटा सडक योजना सञ्चालन भइरहेका छन् । बनिसकेका पनि हजारकै संख्यामा छन् ।
वातावरणीय मूल्यांकनबिना नै सडक निर्माण नै प्रमुख समस्या हो । बस्ती र खानेपानीका स्रोतहरूमाथि सडकको अतिक्रमणको परिणाम सहर, बजारमा खानीपानीको अभाव र मानव बस्ती विस्थापन हो । अनि जथाभावी खनिएका सडकले पहाडमा पहिरो चलाएका छन् । पहिरोले बाढी बढाएका छन् । तिनै बाढीपहिरोमा थुप्रैले ज्यान गुमाएका छन् । लुम्बिनीका १२ वटै जिल्लामा ५ वर्षको अवधिमा २ सय ५७ जनाको बाढी, पहिरो र डुबानबाट मृत्यु भएको छ । जसको मुख्य कारण अस्तव्यस्त रूपमा खनिएका सडक नै हो । विज्ञहरू त्यसै भन्छन् । देशभर यो संख्या ठूलो छ । लुम्बिनीलाई प्रतिनिधि उदाहरणका रूपमा बुझ्नुपर्छ ।
हो, विकासको पहिलो पूर्वाधार सडक हो, सडक निर्माण गरिनुपर्छ । तर, जथाभावी, बिना अध्ययन र इन्जिनियरिङ सडक खन्नु भएन । आवश्यकताको आधारमा सडक निर्माण गरिनुपर्यो । मागका आधारमा मात्रै जहाँ पायो त्यहीं सडक सञ्जाल विस्तार आवश्यक छैन । बरु मानव वस्तीलाई सडक नजिक ल्याउनुपर्छ, न कि जहाँजहाँ एकदुई घर छन्, त्यहाँ त्यहाँ सडक । त्यसो गर्दा राज्यको लगानी धेरै र उपलब्धि थोरै हुन्छ । अनि विकासका नाममा अरू विनास पनि सँगसँगै निम्तिन्छ । सडक निर्माण अत्यावश्यक भएका थुप्रै ठाउँ छोडेर राजनीतिक पहुँचका भरमा जसरी कथित विकास गरिएको छ, त्यसले विनासमात्रै दिएको छ भन्ने मनन गर्न ढिला गर्नु हुँदैन ।