त्यसैले सुरक्षा दस्तामा एकरूपता

त्यसैले सुरक्षा दस्तामा एकरूपता
सुन्नुहोस्

बिना अर्थ सृष्टि हुन्न। यस संसारमा सिर्जित हरेक वस्तुले कुनै न कुनै अर्थ बोकेकै हुन्छ। यसैगरी, प्रयोगमा आउने तथा ल्याइने रंगहरूले पनि आआफ्नै अर्थ बोकेका हुन्छन्। सार्वजनिक सेवाका दायित्व बोकेका कर्मचारीहरूका वर्दी हुन् या सेवाप्रदायक कार्यालय भवनमा प्रयोग गरिने रंगहरू। सवारीसाधनमा प्रयोग गरिने नम्बर प्लेटका रंग वा सवारीसाधनका रंग नै किन नहुन् ? सबैले केही न केही अर्थ सहितका सन्देश दिइरहेका हुन्छन्।

विशेष सेवाले पहिचानकोे रूपमा एक विशिष्ट डिजाइन र रंग प्रयोग गरिरहेको हुन्छ। सदस्यहरूले प्रयोग गर्ने विशेष लुगालाई वर्दीको रूपमा लिइन्छ। सन् १८४७ मा सर हेनरी लरेन्सले रंगको फाइदा बुझेपछि सजिलै लुगामा फोहोर लुकाउन सक्ने रंग खाकीलाई पुलिस बर्दीको रूपमा चयन गरेको पाइन्छ। त्यहीँबाट भारतका प्रहरीले खाकी रंगको पोशाक लगाउन थालेको मान्न सकिन्छ।

राणा शासनकालमा मिलिसिया, थाना, चौकी, प्रहरी महानिर्देशकको कार्यालय हुँदै ‘नेपाल प्रहरी’ले पनि खाकी रंगलाई नै प्रयोग गर्दै आएको थियोे। आधुनिक प्रहरी बन्दै जाँदा नेपाल प्रहरीले आफ्नो सीप र दक्षतासँगै प्रयोगमा ल्याउने रंगहरूमा पनि सोच बदल्यो। २०४६ को जनआन्दोलन पश्चात् उदाएको बिहानीसँगै नेपाल प्रहरीले आफ्नो पोशाकको रंगलाई परिवर्तन गर्यो। खाकीबाट निलो रंगमा। वर्दी लगायत सवारीसाधनका रंग बदलिए। खाकी रंगबाट निलो रंगमा प्रवेश गरेको पनि साढे तीन दशक पार गरिसक्यो। तोरण शमशेर जवरादेखि वसन्तबहादुर कुँवरसम्म आइपुग्दा नेपाल प्रहरीले ३०औं प्रहरी महानिरीक्षक पाइसकेको छ।

सन् १९५० मा अमेरिकी जनताको सुरक्षामा खटिएका सुरक्षा दस्ता तथा समूहको साहस र बलिदानलाई प्रतिनिधित्व गर्न कानुन प्रवर्तन गर्ने अधिकारीहरूले निलो रेखा अपनाए। ‘पातलो निलो रेखा’ अराजकता र व्यवस्थाबीचको रेखालाई बुझाउने वाक्यांशको रूपमा बुझिन थालियो। सर्वसाधारण र सहकर्मीलाई पहिचान गर्न सांकेतिक प्रतीकहरू प्रयोग गर्न थालिए। त्यहीदेखि कानुन प्रवर्तन गर्ने अधिकारीहरूको रूपमा प्रहरीले निलो रंगलाई अवलम्बन गरेको हो भनेर मान्न सकिन्छ। नेपाली सेना र सशस्त्र प्रहरी बलले आफ्नो बर्दी, कार्यालय भवन र सवारीसाधनमा आफ्नै रंग र सांकेतिक प्रतीकहरू प्रयोग गरिरहेका पनि छन्।

बर्दीधारीहरूले प्रयोग गर्ने सवारीसाधनहरूलगायत भवनका संकेत तथा रंगहरूमा पनि एकरूपता हुनु जरुरी छ भन्दा अत्युक्ति नहोला। प्रतीकका रूपमा प्रयोग गरिएका रंग तथा संकेतहरूलाई आफू अनुकूलमा फेरबदल गरिनु सही होइन। जसले अन्तर्राष्ट्रिय मूल्य–मान्यतामा समेत असर पुर्‍याउँछ। पहिचानमा भ्रम सिर्जना गर्छ। सर्वसाधारणको बुझाइमा पनि प्रभाव पार्छ। प्रहरीका सवारीसाधनले रातो र निलो बत्ती प्रयोग गरिरहेका हुन्छन्। 
रातो बत्तीले तत्काल आपतकालीन अवस्थाको संकेत गर्छ भने निलो बत्तीहरूले प्रहरीलाई संकेत गर्छ। यसलाई टाढैबाट देखियोस् भन्ने हेतु सवारी साधनको छतमा राखिएका हुन्छन्। प्रहरीले प्रयोग गर्ने रंगहरूले केही न केही अर्थ र सन्देश दिइरहेको हुन्छ।
वर्दीधारी निकायले आफ्नो बर्दीको रंग र डिजाइनसँगै भवन, सवारीसाधन समेतमा एकरूपता ल्याउनु भनेको आफ्नो पहिचान पनि हो। सामान्य व्यक्तिले पनि रंग र संकेतका आधारमा सजिलै आफूलाई पहिचान गर्न सकून् भन्ने नै हो। हिजोआज गैरप्रहरी सवारीसाधनहरूले पनि गाडीको छतमा लाइट जडान गरिएका देखिन थालेका छन्। प्रहरीहरूले प्रयोग गरिरहेका सवारीसाधनहरू पनि विभिन्न रंगमा देखिन थालेका छन्।

देशभर छरिएका नेपाल प्रहरीका व्यक्तिगत समस्याहरू त आआफ्ना छन् नै। सांगठनिकरूपमा हेर्दा सुरक्षा निकायकै असुरक्षित अवस्थाहरू छर्लंग देखिन्छन्। अभावै अभावमा गुज्रिरहेका यथार्थ घटना पनि लुकेको छैन। कतिपय प्रहरी युनिटहरूको आफ्नो भवनसम्म देखिँदैन। भएका कतिपय भवनहरू पनि जिर्ण अवस्थाका छन्। मर्मतको पर्खाइमा बाटो हेरिरहेका छन्। छानाबाट चुहिरहेका पानीको धारालाई बाल्टिनमा थापेर रात बिताइरहेका पनि छन्। निर्मित केही व्यवस्थित भवनहरूमा पनि एकरूपता देखिँदैनन्। सामान्य नौलो व्यक्तिका लागि प्रहरी भवन पहिचान गर्न भवनको मुख्य प्रवेशद्धारमा राखिएको बोर्ड नै पढ्नु पर्ने अवस्थाका पनि छन्।

प्रहरीको वर्दीसँगै प्रहरीको भवन र सवारीसाधन टाढैबाट चिनिने हुनुपर्छ। कतिपय सम्भावित आपराधिक घटनाहरू प्रहरीको वर्दी र सवारीसाधन देखेर आफैं टर्न पनि सक्छन्। हिजोआज त निजी सुरक्षामा खोलिएका कम्पनीहरूले पनि आफ्ना चौकीदारहरूलाई प्रहरीकै जस्तो देखिने रंग र डिजाइनमा बर्दी दिन थालेका छन्। संकेतको रूपमा प्रयोग गरिने रंग र डिजाइनमा सम्वद्ध निकायहरू सजग र सचेत रहँदा पहिचानमा द्विविधा सिर्जना हुनसक्ने अवस्था रहँदैन।

प्रहरी भनेको नागरिकको सुरक्षामा चौबिसै घण्टा खटिने राज्यको सबैभन्दा महत्वपूर्ण अंग हो। भौगोलिक रूपमा विकटभन्दा विकट स्थानहरूमा राज्यको उपस्थिति जनाउँदै नागरिकमा सुरक्षा प्रदान गरिरहेको हुन्छ। राज्यले दिने सुविधाले सुरक्षादस्तामा कहीँ न कहीँ प्रभाव पारिरहेको हुन्छ। प्रभावकारी सुरक्षामा खटिन उच्च मनोबल सहितका दक्ष जनशक्तिसँगै साधन र स्रोत चाहिन्छ नै। तर कतै जनशक्तिको अभाव छ त कतै स्रोत र साधनको। राज्यको ध्यान प्रहरी संगठनतिर निकै कम गएको त होइन ! भन्ने पनि छ। सुविधासम्पन्न भवन, साधन, स्रोत र उपकरणबाट प्रहरीलाई दक्ष र बलियो बनाउनु आजको आवश्यकता हो।

मर्मतको पर्खाइमा बाटो हेरिरहेका जीर्ण भवनहरू। छानाबाट चुहिरहेका पानीका धारा। स्रोत र साधनको अभाव। यस्ता भवन देख्दा लाग्छ, राज्यको ध्यान प्रहरी संगठनतिर निकै कम गएको त होइन !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.