सहरी व्यवस्थापनमा एआई

सहरी व्यवस्थापनमा एआई

सहर व्यवस्थापनमा एआईको प्रयोगले हाम्रो जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन ठूलो योगदान गर्नेछ।

आजको विश्वमा प्रविधिको तीव्र विकासले विभिन्न क्षेत्रमा नयाँ सम्भावनाहरू सिर्जना गरिरहेको । जनसंख्या वृद्धिका कारण सहरहरूमा बढ्दो जनघनत्व, प्रदूषण, ट्राफिक जाम र आपराधिक गतिविधि लगायतका समस्या देखिएका छन्। यस्ता समस्या हल गर्न र सहरलाई व्यवस्थित एवं सुरक्षित बनाउन प्रविधिको अत्याधुनिक विकास अपरिहार्य भएको छ।

यस्तै प्रविधिमध्ये कृत्रिम बुद्धिमत्ता (एआई)ले सहर व्यवस्थापनमा नयाँ सम्भावनाहरू खोल्दैछ। एआईको प्रयोगले यातायात व्यवस्थापन, सार्वजनिक सुरक्षा, ऊर्जा खपत, फोहोर व्यवस्थापन र सहरी योजना लगायतका क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउन सक्ने सम्भावना छ।

एआईको प्रयोगले सहरहरूलाई अझ ‘स्मार्ट’ र दिगो बनाउन महत्वपूर्ण योगदान पुर्‍याउन सक्छ। स्मार्ट ट्राफिक व्यवस्थापन प्रणालीहरू अनि सार्वजनिक सेवाहरूमा स्वचालित प्रणालीहरूको प्रयोग, सुरक्षा र निगरानीमा एआईका प्रविधिहरू र आपतकालीन सेवाहरूको प्रभावकारी वितरण जस्ता क्षेत्रमा एआईले ठूलो भूमिका खेलिरहेको छ। भविष्यमा, सन् २०५० सम्म एआईले सहरहरूलाई अझ परिस्कृत, पर्यावरणमैत्री र मानिसको जीवनस्तरमा सुधार ल्याउन सक्ने सहरका पूर्वाधारहरूमा परिवर्तन ल्याउन सक्नेछ। तथापि, गोपनीयता, सुरक्षा र रोजगारीका चुनौतीहरू पनि समाधान गर्नुपर्ने आवश्यकता छ, जसले गर्दा एआईको प्रयोग सुरक्षित र विश्वसनीय बनाउन सकियोस्।

सहर व्यवस्थापनमा एआईको वर्तमान प्रयोग  :  आजको मितिमा, संसारभरका सहरहरूले एआईलाई विभिन्न तरिकामा प्रयोग गरिरहेका छन्। ट्राफिक व्यवस्थापन प्रणालीमा, उदाहरणका लागि, एआईलाई सडक सञ्जालमा ट्राफिकको प्रवाह सुधार गर्न प्रयोग गरिन्छ। ट्राफिक क्यामेराहरू, सेन्सरहरू र जीपीएस जस्ता उपकरणबाट संकलित तथ्यांक एआई प्रणालीमा प्रविष्ट गरिन्छ, जसले ट्राफिक लाइटको तालमेल, इमर्जेन्सी रूटहरूको निर्धारण र ‘कन्गेसन’हरूको पहिचान गर्ने कार्यलाई सजिलो बनाउँछ।

एआईको प्रयोगले सहरका आपतकालीन सेवा प्रणालीहरूलाई पनि चुस्त र प्रभावकारी बनाएको छ। आगो नियन्त्रण, प्रहरी र स्वास्थ्य सेवाहरूलाई सूचित गर्न र सही समयमा सही स्थानमा पुर्‍याउन एआईले मद्दत पुर्‍याउँछ। साथै, स्मार्ट भवनहरूको व्यवस्थापनमा एआईले ऊर्जा बचत, भवन सुरक्षा र पानी आपूर्ति जस्ता क्षेत्रमा ठूलो योगदान दिएको छ।

भविष्यमा एआईको सम्भावना  :  एआईको प्रयोगले सहर व्यवस्थापनलाई अर्को तहमा पुर्‍याउने सम्भावना छ। सन् २०५० सम्ममा, एआई प्रविधिले ‘स्मार्ट सिटी’को अवधारणालाई पूर्णत :  मूर्तरूप दिनसक्छ। स्मार्ट सहरहरूमा एआईको प्रयोगबाट निम्नलिखित सम्भावना खुल्न सक्छन्  : –

ट्राफिक र परिवहन व्यवस्थापन  :  सन् २०५० सम्ममा एआईले पूर्णरूपमा स्वचालित ट्राफिक व्यवस्थापन प्रणालीलाई अघि बढाउनेछ। भविष्यमा, एआईले ट्राफिक र परिवहन व्यवस्थापनमा उल्लेखनीय सुधार गर्न सक्ने ठूलो सम्भावना छ। एआई प्रविधिको प्रयोगले सवारी साधनहरूको आवागमनलाई स्वचालित रूपमा नियन्त्रित गर्ने, ट्राफिक जामको पूर्वानुमान गर्ने र यात्रा मार्गहरूलाई अनुकूलित गर्ने कार्यहरू सजिलो बनाउनेछ।

उदाहरणका लागि, स्वचालित (ड्राइभररहित) गाडीहरूले ट्राफिक संकेत र अन्य सवारी साधनसँग संवाद गरी सुरक्षित दूरी कायम राख्न र अनावश्यक ब्रेक लगाउने कार्यलाई न्यूनतम गर्न सक्छन्, जसले सहरहरूमा ट्राफिक जाम कम हुनेछ। साथै, एआई आधारित स्मार्ट ट्राफिक लाइटहरूले ट्राफिकको वास्तविक समय तथ्यांक विश्लेषण गरी लाइटको समयतालिका समायोजन गर्न सक्छन्। जसले सवारी साधनहरूको आवागमन सहज हुनेछ र इन्धनको खपत तथा प्रदूषणमा पनि कमी आउनेछ। यसरी, भविष्यमा एआईको प्रयोगले ट्राफिक र परिवहन व्यवस्थापनलाई पूर्णरूपमा पुन :  परिभाषित गर्न सक्छ।

शहरी योजना र निर्माण  :  एआईको प्रयोगले शहरी योजना र निर्माण प्रक्रियामा पनि ठूलो प्रभाव पार्न सक्छ। एआई प्रविधिको प्रयोगले भू–उपयोगको विश्लेषण, जनसंख्याको भविष्यको वृद्धि र आवश्यकताका अनुमान र वातावरणीय जोखिमको मूल्यांकन गरी सहरी योजना अझ सटीक र प्रभावकारी बनाउन सक्छ। उदाहरणका लागि, स्मार्ट सिटीहरूको निर्माणमा एआईले तथ्यांक सञ्चालित निर्णयमार्फत् हरित क्षेत्रहरूको सही स्थान निर्धारण गर्ने, ऊर्जा दक्ष भवनहरूको डिजाइन गर्ने र पूर्वाधारहरूको दिगो विकासलाई सुनिश्चित गर्न सहयोग पुर्‍याउँछ। साथै, एआईले सहरका भवनहरूको संरचनागत जोखिमहरू पहिचान गर्न, निर्माण सामग्रीको गुणस्तरलाई अनुगमन गर्न र निर्माणको गति तथा लागतलाई नियन्त्रण गर्न पनि मद्दत पुर्‍याउन सक्छ।

सुरक्षा र निगरानी  :  सुरक्षा र निगरानीका क्षेत्रमा एआईको प्रयोगले सहरहरूलाई अझ सुरक्षित र व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ। एआई प्रविधिले निगरानी क्यामेरा, अनुहार पहिचान र व्यवहार विश्लेषण जस्ता प्रणालीहरूमा तथ्यांक संकलन र विश्लेषण गर्न सक्षम बनाउँछ। जसले आपराधिक गतिविधिहरूको पहिचान र रोकथामलाई सहज बनाउँछ।

उदाहरणका लागि, सिंगापुरजस्ता स्मार्ट सहरहरूले एआई सक्षम निगरानी प्रणालीहरू स्थापना गरेका छन्, जसले सीसीटीभी फुटेजलाई विश्लेषण गरेर संदिग्ध गतिविधिहरू तुरुन्तै पहिचान गर्न र प्रहरीलाई सूचित गर्नसक्छ। यसले मात्र आपराधिक घटनाहरूको रोकथाममा मद्दत गर्दैन, आकस्मिक अवस्थाहरू जस्तै आगलागी वा आपतकालीन स्वास्थ्य समस्याहरूको पनि तत्काल पहिचान र सम्बोधन गर्न सक्छ।

स्वास्थ्य र जनस्वास्थ्य  :  स्वास्थ्य र जनस्वास्थ्य क्षेत्रमा एआईको प्रयोगले चिकित्सा सेवा र स्वास्थ्य व्यवस्थापनलाई क्रान्तिकारी रूपमा सुधार गर्न सक्नेछ। एआईले ठूलो मात्रामा स्वास्थ्य डेटा विश्लेषण गरेर रोगको पहिचान, रोकथाम, र उपचारका नयाँ उपायहरू पत्ता लगाउन सहयोग पुर्‍याउँछ, जसले व्यक्तिगत रोगीको आवश्यकता अनुसार विशिष्ट उपचार विधि निर्माण गर्न सकिन्छ।

उदाहरणका लागि, अमेरिका र युरोपका विभिन्न अस्पतालले एआई आधारित ‘डायग्नोस्टिक टूल’हरू जस्तै ‘इमेजिङ एनालाइसिस’मा एआई प्रयोग गर्दै आएका छन्, जसले क्यान्सरजस्ता गम्भीर रोगहरूको प्रारम्भिक चरणमै पहिचान गरेर शीघ्र उपचार सम्भव बनाएको छ।

फोहोर व्यवस्थापन  :  सन् २०५० सम्म फोहोर व्यवस्थापनका क्षेत्रमा एआईको प्रयोगले सहरहरूलाई अझ सफा, हरित, र दिगो बनाउन महत्वपूर्ण योगदान पुर्‍याउनेछ। एआईले फोहोर संकलन, वर्गीकरण, र ‘रिसाइक्लिङ’ प्रक्रियालाई स्वचालित र प्रभावकारी बनाउँछ, जसले फोहोर व्यवस्थापनमा खर्च र समयको बचत गर्न सकिन्छ।

जस्तै, स्मार्ट सहरहरूमा फोहोर संकलन गर्न एआई नियन्त्रित स्मार्ट डस्टबिन र सेन्सरहरूको प्रयोग बढ्दो छ। जसले डस्टबिनहरू भरिएपछि फोहोर संकलन गर्न मार्गनिर्देशन दिन्छ। एआई सक्षम रोबोट र मेसिनहरू फोहोरको वर्गीकरण र पुन : प्रयोग गर्न सक्षम हुन्छन्। जसले फोहोरको मात्रा कम गर्न र ‘रिसाइक्लिङ’ दरलाई बढाउन मद्दत पुर्‍याउँछ।

चुनौतिहरू र भविष्यका तयारी  :  यद्यपि, एआईको प्रयोगले सहर व्यवस्थापनमा लाभहरू ल्याउन सक्छ। यसका साथै केही चुनौति पनि छन्। गोपनीयता, साइबर सुरक्षा र एआईमा आधारित प्रणालीहरूको भरपर्दो र पारदर्शिता सुनिश्चित गर्नुपर्ने आवश्यकता छ। एआईको प्रयोगले केही परम्परागत रोजगारीहरूलाई चुनौती पनि दिन सक्छ। तर, यी सबै चुनौतिलाई समाधान गर्दै एआईले सहरहरूलाई ‘स्मार्ट’, दिगो र मानवीय जीवनस्तरलाई उकास्ने दिशामा अघि बढ्न सक्षम बनाउने छ।

समग्रमा, सन् २०५० सम्म सहर व्यवस्थापनमा एआईको प्रयोगले हाम्रो जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन ठूलो योगदान गर्नेछ। एआईका यस्ता प्रविधिलाई सदुपयोग गरी भविष्यका चुनौतिहरूलाई भने सामना गर्न तयार रहनुपर्छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.