बैंक प्रणालीमा साढे ६ खर्ब थुप्रियो, असोजमा ब्याजदर झनै घट्यो

बैंक प्रणालीमा साढे ६ खर्ब थुप्रियो, असोजमा ब्याजदर झनै घट्यो
सुन्नुहोस्

काठमाडौं : बैंकमा पैसा संकलनको तुलनामा कर्जा प्रवाह कम हुँदा थुपिँ्रदै गएपछि क्रमशः निक्षेपको ब्याजदर महिनैपिच्छे घटिरहेको छ। यसैकारण असोज महिनाका लागि पनि अधिकांश बैंकहरूले ब्याजदर घटाएका छन्। एकातर्फ बैंकमा पैसा थुपिँ्रदा नेपाल राष्ट्र बैंकले अर्बौं रुपैयाँ बैंकिङ प्रणालीबाट तानिरहेको छ। 

यसैबीच सञ्चालनमा रहेका २० वाणिज्य बैंकको साधारण बचत खातामा औसत ब्याजदर कम्तीमा औसत ३.०२६ प्रतिशत र बढीमा औसत ४.५२४ प्रतिशत छ। यस्तै, मुद्दती निक्षेपमा व्यक्तिगततर्फ औसत न्यूनतम ४.५५१ प्रतिशतदेखि अधिकतम ६.३९३ प्रतिशत रहेको छ। यस्तै, संस्थागत मुद्दती निक्षेपतर्फ न्यूनतम औसत ३.५९६ प्रतिशत र अधिकतम ५.११५ प्रतिशत ब्याजदर तोकेको नेपाल बैंकर्स संघको तथ्यांकमा उल्लेख छ।

यसअनुसार समग्रमा वाणिज्य बैंकहरूको गत महिनाको तुलनामा व्यक्तिगतमा औसत ०.१३० प्रतिशत विन्दु र संस्थागतमा औसत ०.१५ प्रतिशत बिन्दुले ब्याजदर घटेको देखिन्छ। तर, बैंकहरूले रेमिट्यान्सको मुद्दती निक्षेपमा भने व्यक्तिगत मुद्दतीको थप १ प्रतिशत विन्दुले ब्याजदर प्रदान गर्दै आएका छन्। राष्ट्र बैंकले वैदेशिक रोजगारीमा गएकाहरूलाई प्रोत्साहनस्वरुप बचतमा आकर्षण गर्न यस्तो व्यवस्था गरेकाले बैंकहरूले यसलाई कार्यान्वयनमा ल्याएका हुन्। 

बैंकिङ प्रणालीमा झन्डै ९० प्रतिशत हिस्सा ओगट्ने वाणिज्य बैंकमा यतिबेला अत्याधिक पैसा थुप्रिएकाले १० वटा वाणिज्य बैंकले भदौको तुलनामा असोजका लागि ब्याजदर घटाएका छन् भने बाँकी ८ वटाले भदौकै ब्याजदरलाई निरन्तरता दिएका छन्। तर, सरकारी स्वामित्वमा रहेको कृषि विकास बैंक र नेपाल बैंकले भने असोजमा ब्याजदर बढाएका छन्।

यस महिना ब्याजदर कम गर्ने बैंकको पंक्तिमा कुमारी, नबिल, नेपाल एसबीआई, एनआईसी एशिया, सिटिजन्स बैंक, एभरेष्ट, एनएमबी बैंक, राष्ट्रिय वाणिज्य, सानिमा र प्राइम बैंक छन्। यसबाहेक भदौकै ब्याजदरलाई निरन्तरता दिनेमा बैंकहरूमा हिमालयन, लक्ष्मी सनराइज, ग्लोबल आईएमई, नेपाल इन्भेष्टमेन्ट मेगा, प्रभु, माछापुच्छ्रे«, स्टयान्डर्ड चार्टर्ड र सिद्धार्थ बैंक हुन्। 

समग्रमा बैंकहरूको निक्षेपको ब्याजदर घटेसँगै अब कर्जाको ब्याजदर पनि केही कम हुने नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी बताउँछन्। उनकाअनुसार बैंकहरको समग्र कर्जा निक्षेप अनुपात (सीडी रेसीयो ८० प्रतिशतभन्दा कम भइरहेको अवस्था छ। यसअवस्थामा प्रसस्त तरलता (लगानीयोग्य पुँजी) प्रशस्त भएको र खासै कर्जाको माग नभएका कारण पनि बैंकहरूले निक्षेपको ब्याजदर घटाएर लागत कम गर्न खोजेको उनको तर्क छ। सोचेअनुसार लगानी बढ्न नसकेको उनको भनाइ छ।

‘चालु आर्थिक वर्षको २ महिनको स्थिति हेर्दा अझै कर्जा जाने जस्तो देखिँदैन। गत सालको भन्दा थोरैले बढी कर्जा गएको छ। गत आवको २ महिनामा ३० अर्ब रुपैयाँले कर्जा प्रवाह बढेको थियो तर यसपालि ४५ अर्ब हाराहारीमा मात्रै बढ्यो,’ अध्यक्ष केसीले अन्नपूर्णसँग भने। यसकारण निक्षेपको रूपमा थुप्रेको पैसा दिनप्रतिदिन बढ्ने तर लगानी हुन नसक्दा ३ प्रतिशत व्याजमा केन्द्रिय बैंक तथा बैंकहरूबीचको अन्तर बैंक कारोबारमा दिंदा घाटा व्यहोर्नु परेको उनको गुनासो छ। 

एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका अध्यक्ष केसी प्रष्ट्याउँदै भन्छन्, ‘यसकारण निक्षेपको ब्याजदर घटाइरहनु परेको हो। निक्षेपको ब्याज घटेसँगै अब कर्जाको ब्याजदर पनि घटाउँदा माग सिर्जना हुने अपेक्षा गरिएको छ। अहिलेको अवस्थामा कर्जाको ब्याजदर घटाउनु पर्ने छ।’

यद्यपि अहिले समग्रमा वाणिज्य बैंकहरूको आधार दर औसत ७.६ प्रतिशत हाराहारीमा पुगिसकेको छ। यसअनुसार पनि कर्जाको ब्याजदर एकल दरमा आइसकेको छ। यसैबीच कतिपय बैंकहरूले ७ प्रतिशतकै स्थिर ब्याजदरमै कर्जा पनि दिन थालिसकेका छन्। यस हिसावमा अझै कर्जाको ब्याजदर घट्न सक्ने उनको अनुमान छ। 

बैंकिङ प्रणालीमा साढे ६ खर्ब अधिक थुप्रियो पैसा 

हाल बैंकिङ प्रणालीमा ६ खर्ब ४२ अर्ब अधिक पैसा थुप्रिएको छ। एकातर्फ निक्षेप थुप्रिनु तर बैंकले लगानी गर्न नसक्दा यस्तो स्थिति आएको हो। अधिक तरलता भएका कारण नेपाल राष्ट्र बैंकले विभिन्न उपकरणमार्फत ३ प्रतिशत ब्याजदर हाराहारीमा पैसा तानेर व्यवस्थापन गरिरहेको छ। तर, बैंकहरूलाई सर्वसाधारण तथा संस्थागत निक्षेप योभन्दा बढी ब्याजमा लिएको तर कर्जा दिन नसकेकाले थोरै ब्याजमा केन्द्रीय बैंकलाई दिँदा घाटा व्यहोर्नुपरेको छ।

यद्यपि राष्ट्र बैंकले साढे ४ प्रतिशतको बोन्ड पनि जारी गरेको छ। तर यसबाट पनि बैंकरहरूलाई खासै इच्छुक नभएकाले पनि बैंकको ब्याजदर क्रमशः घटाउँदै लैजान बाध्य भएको बैंकर्स संघका अध्यक्ष केसी बताउँछन्। 

वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूमा भदौ अन्तिम सातातिर ६५ खर्ब ५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन भएकोमा कर्जा भने ५२ खर्ब १३ अर्ब रुपैयाँ प्रवाह भएको छ। अझ प्रणालीमा रहेको कुल निक्षेपमध्ये सञ्चालनमा रहेका २० वाणिज्य बैंकमा मात्रै ५७ खर्ब ७७ अर्ब निक्षेप संकलन भएको छ। निक्षेप बढ्ने तर कर्जाको माग खासै नहुँदा प्रणालमिा पर्याप्त लगानीयोग्य पुँजी थुप्रिएको छ।

यसले गर्दा कर्जा निक्षेप अनुपात ७८.७८ प्रतिशत मात्रै छ। बैंकहरूले १ सय रुपैयाँ निक्षेपमा ९० रुपैयाँ कर्जा दिन पाउँछन्। अर्थात नेपाल राष्ट्र बैंकले तोकेको अधिकतम सीडी रेसियो ९० प्रतिशत छ। यसहिसावले प्रणालीमा ११.१२ प्रतिशत अधिक तरलता छ। भदौ २७ गतेसम्ममा कुल ५२ खर्ब १३ अर्ब कर्जा प्रवाह भएकोमा वाणिज्य बैंकमार्फत मात्रै ४६ खर्ब १४ अर्ब रुपैयाँ ऋण 
लगानीमा छ। 

नजिकिँदैको चाडपर्वले बैंकमबाट जाला त कर्जा ?

अब चाडपर्व नजिकिंदै गर्दा सिजनल खर्च बढेसँगै केही कर्जा प्रवाह बढ्ने अपेक्षा बैंकरहरूको छ। साथै दसैं, तिहार, छठलगायतका चाडमा खर्च गर्ने प्रवृत्तिले बैंकबाट केही पैसा बाहिरिन्छ। यसैबीच अब भारतमा पाम तेलको निर्यात पनि सुरु हुने भएकाले कर्जाको माग बढ्ने अपेक्षा गर्छन् एनएमबी बैंकका सिईओ केसी। तर, राष्ट्र बैंकले चालु आवमा साढे १२ प्रतिशतको कर्जा वृद्धि लक्ष्य अहिलेको हिसावले चुनौतीपूर्ण देखिएको उनको अनुमान छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.