छिरिङ्मा र घोरा खुसी पार्न क्षमा पूजा
दोलखा : गौरीशङ्कर गाउँपालिका-९ बेदीङवासीले क्षमा पूजा गरेका छन्। रोल्वालिङ क्षेत्रको भूमि देवता छिरिङ्मा र घोरा (भैरव) रिसाएको भनेर खुसी पार्न २१ जना लामाले १६ दिनसम्म क्षमा पूजा गरेका हुन्।
नवौँ-दशौ शताब्दीमा रोल्वालिङ क्षेत्रको ना गाउँमा गुरु रिम्पुछेले मेरिटेशन गरेको पवित्र भूमि अहिले अव्यवस्थित हुन गई छिरिङ्मा र घोरा रिसाएको स्थानीयको भनाइ छ।
गत असार २२ गते अविरल वर्षाका कारण आएको बाढी-पहिरोमा परी रोल्वालिङ क्षेत्र वडा नम्बर ९ डोगाङमा होटल व्यवसाय गरेर बसेकी महिला जाङ्मु शेर्पा बेपत्ता भएकी थिइन। बेपत्ता ६० वर्षीय उनी अझै फेला पर्न नसकेको र रोल्वालिङ क्षेत्रमा नै रहेको महादेव थान (स्थानीय नाम छिरिङ्मा थान) र घोराको मन्दिरमा क्षति पुगेको थियो।
रोल्वालिङ खोलामा रहेको विभिन्न ठाउँको पुल बगाएको स्थानीयको भनाइ छ। साङछोली गुम्बाका प्रमुख लामा ङावाङ तेन्जिङ लामा रिम्पुछेको अगुवाइमा २१ जना लामाले मन्त्रोच्चारण गर्दै १६ दिनसम्म क्षमा पूजा गरेका थिए।
बाढी पहिरोको कारण अझैसम्म पनि च्छो-रोल्पा हिमताल पुग्ने पर्यटक र रोल्वालिङका स्थानीयलाई आवतजावतमा समस्या भएको छ। छिरिङ्मा र घोरा खुसी भए प्राकृतिक विपत्ति नआउने र विश्वमा शान्ति समेत कायम हुने विश्वासले क्षमा पूजा गरेका हुन्। आउने कार्तिक महिनामा पनि क्षमा पूजा हुने स्थानीय दावाछिरिको भनाइ छ।
च्छो–रोल्पा जाने मुख्य मार्गमा पर्ने बेदिङ र ना गाउँमा ७० वटा घर रहेको छ। ठाउँ–ठाउँमा पहिरो गएकोले अझै पनि माथि जान कठिन छ। बेदिङ र ना गाउँका स्थानीयले च्छो–रोल्पा पुग्ने स्वदेशी तथा विदेशी पर्यटकको लागि होटल व्यवसायसँगै हिमाली याक पालन समेत गर्दै आएका छन्।