जितपुरसिमरा अन्तर्राष्ट्रिय भेट्रान प्रतियोगितामा कटारी र सिक्किमको विजयी सुरुवात
सिमरा : उदयपुरको कटारी फुटबल क्लब र भारत सिक्किमको रियल फ्रेण्ड भेट्रान क्लबले चौथो अन्तर्राष्ट्रिय जितपुरसिमरा भेट्रान फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन्।
सिमरा रंगशालामा मंगलबार भएको खेलमा कटारीले वीरगन्ज युथ एकेडेमीलाई २–० र सिक्किमले सर्लाही भेट्रान क्लबलाई २–१ ले पराजित गरेको हो। कटारीको जितमा अशोककुमार शर्मा र सुवास अङथुम्पोले समान एक–एक गोल गरेका हुन्। यसैगरी सिक्किमको जितमा नर भूपेन्द्र र शम्भु क्षेत्रीले एक–एक गोल गरे भने सर्लाहीका लागि चन्द्रबहादुर स्याङ्तानले गोल गरेका थिए। सर्लाही र सिक्किमबीचको खेल गोलको विषयलाई लिएर केहीबेर रोकिन पुगेको थियो।
अन्तिम समयमा सर्लाहीले पाहुना टोलीलाई विजयी घोषित गर्न आयोजकलाई समर्थन जनाएको थियो। सर्लाहीको समर्थनपछि आयोजकले सिक्किमलाई विजयी घोषित गरेको हो। जितसँगै उदयपुर र सिक्किम प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। उदयपुरले अब आयोजक सिमरा भेट्रान क्लब र सिक्किमले सरस्वती नगर भेट्रान क्लब काठमाडौंसंग प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगिता अन्तर्गत बुधबार बिहान ६ बजे हाम्रो धरान भेट्रान फुटबल क्लब र एबीसी भेट्रान क्लब पोखराबीच हुनेछ। यसैगरी दोस्रो खेलमा दिउँसो २ बजे क्लिभ हाउस भेट्रान फुटबल क्लब कोलकत्ता र चितवन भेट्रान फुटबल क्लब चितवनबीच हुने क्लबका सचिव हरी चौधरीले जानकारी दिए।
असोज ५ गतेसम्म हुने प्रतियोगितामा १४ टिमको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले तीन लाख र उपविजेताले एक लाख ५० हजार प्राप्त गर्नेछन्। भेट्रान फुटबल प्रतियोगितामा यो राशी देशभरीकै सर्वाधिक रहेको आयोजकको दावी छ। यसअघि प्रतियोगिताको उद्घाटन बारा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री किसान श्रेष्ठले गरेका थिए।