तेस्रोपटक जिब्रो छेड्दै वीरेन्द्र
भक्तपुर : मध्यपुर ठिमीमा परम्परादेखि इन्द्र जात्राको भोलिपल्ट मनाइने जिब्रो छेड्ने जात्रा बुधबार मनाइँदै छ। मध्यपुर ठिमी नगरपालिका ४ कोलाखु टोल निवासी वीरेन्द्र भक्त गजु श्रेष्ठले तेस्रोपटक जिब्रो छेड्न लागेका हुन्। उनले यसअघि २०७४ साल र २०७९ सालमा पनि जिब्रो छेडेका थिए।
यस जात्रामा जिब्रो छेड्ने व्यक्तिलाई मध्यपुर ठिमीको प्रचण्ड भैरब मन्दिरको डबलीमा करिब १० इन्च लामो नाटो( सियो)ले जिब्रो छेडाएर आकाशदीप (याँ मता) अगाडि पछाडि घुमाएर आधा चन्द्र आकारको महादीप (भ्ये) बोकेर बिभिन्न स्थानमा परिक्रमा गराइन्छ।
पौराणिक कथनअनुसार परापूर्वकालमा मध्यपुर ठिमीका स्थानीय बासिन्दालाई बिभिन्न खालका रोग, डर र भयले त्रसित बनाएपछि एक व्यक्तिले आराध्य देवीबाल कुमारीको साधना गरी देवीको दिव्य उपदेशलाई मनन् गरी भाद्र शुक्ल पूर्णिमाका दिन फलामको सियोले जिब्रो छेडेर भित्री नगर परिक्रमा पराएका थिए।
उक्त व्यक्तिको साहसलाई देखेर भूतप्रेत र पिचास डराएर त्यति बेलादेखि ठिमीमा दुःख नदिएको, अशान्ति नमच्चाएको विश्वास गरिन्छ। जिब्रो छेड्ने जात्रा मनाए देश तथा बस्ती भूतप्रेतबाट सुरक्षित हुने, शान्ति र सहकाल आउने जनविश्वास रहिआएको छ।