यू–२० र यू–१७ टोलीको बिदाइ
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले एसियाली फुटबल महासंघ (एएफसी) यू–२० एसियन कप छनोट र साफ यू–१७ च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको बिदाइ गरेको छ।
मंगलबार आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष दीपक खतिवडालगायतको दुवै टोलीको बिदाइ गरेका हुन्।
एएफसी यू–२० एसियन कप छनोट चाइनिज ताइपेइमा आयोजना हुनेछ। छनोटको समूह ‘बी’ मा नेपाल, चाइनिज ताइपेइ, उज्वेकिस्तान, बहराइन र कम्बोडिया छन्। यो समूहको खेल सेप्टेम्बर २१ देखि २९ सम्म आयोजना हुनेछ। नेपालले सेप्टेम्बर २१ मा कम्बोडियासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। यस्तै सेप्टेम्बर २३ मा घरेलु टोली चाइनिज ताइपेइ, २५ मा उज्वेकिस्तान र २७ मा बहराइनको सामना गर्नेछ।
यसैगरी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१७ च्याम्पियनसिप सेप्टेम्बर २० देखि ३० सम्म भुटानमा हुँदैछ। प्रतियोगिताको समूह ‘बी’ मा नेपाल, घरेलु टोली भुटान, श्रीलंका र पाकिस्तान छन्। यस्तै समूह ‘ए’ मा भारत, माल्दिभ्स र बंगलादेश छन्। नेपालले सेप्टेम्बर २१ मा पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। यसैगरी सेप्टेम्बर २३ मा श्रीलंका र २५ मा भुटानको सामना गर्नेछ।