ट्रायल मास्टरका पदक विजेताको स्वागत
काठमाडौं : नेपाल एडभेन्चर रनिङ महासंघले एसियाली ट्रायल मास्टर च्याम्पियनसिपको फाइनलमा पदक जित्न सफल खेलाडीलाई स्वागत गरेको छ। मंगलबार स्वदेश फर्किएका नेपाली खेलाडीलाई महासंघका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन्।
मलेसियाको सबाहमा गत सेप्टेम्बर १२ देखि १५ तारिखसम्म भएको प्रतियोगितामा नेपालले एक स्वर्ण र एक कांस्य पदक जितेको थियो। महिला ७८ किलोमिटर दूरी प्रिया राईले १० घण्टा ५९ मिनेट ४८ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी थिइन्। सोही स्पर्धामा रसिला तामाङले कांस्य पदक जितेकी थिइन्। रसिलाले निर्धारित दूरी तय गर्न १३ घण्टा १५ मिनेट ०९ सेकेन्ड समय लगाएकी थिइन्। महिलामा नेपालबाट पाँच् खेलाडीले सहभागिता जनाएकोमा छोकी शेर्पा सातौं, पदमकुमारी सुनुवार आठौं र आङ फुर्वा शेर्पा २२औं स्थानमा रहेका थिए। यस स्पर्धामा ३५ खेलाडी सहभागी थिए।
यसैगरी पुरुष ७८ किलोमिटर दूरीमा नेपालका चार खेलाडीले प्रतिस्पर्धा गरेका थिए। ४५ धावक सहभागी उक्त स्पर्धामा अर्जुन कुलुङ राईले १०औं, लोकेन्द्र राईले १४औं, फुर्पासिंह तामाङले २२औं र मिलन राईले २७औं स्थानमा दौड टुंग्याएका थिए।