विश्वासको मत माग्दै कोशीका मुख्यमन्त्रीले भने- कांग्रेससँगको गठबन्धन उच्च राजनीतिक सहकार्य हो

विश्वासको मत माग्दै कोशीका मुख्यमन्त्रीले भने- कांग्रेससँगको गठबन्धन उच्च राजनीतिक सहकार्य हो
सुन्नुहोस्

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत मागेका छन्। मत माग्दै उनले नेपाली कांग्रेससँगको गठबन्धन उच्च राजनीतिक सहकार्य भएको जिकिर गरे। 

विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको प्रदेशसभा बैठकलाई बुधबार सम्बोधन गर्दै कार्कीले आफूलाई विश्वासको मत दिन सबैमा आग्रह गरेका हुन्। प्रदेश सरकार बनेको छोटो अवधिमा सरकारले राम्रा कामको सुरुवात गरेको र प्रदेशमा सकारात्मक सन्देश प्रवाह भएको दाबी गर्दै उनले मत मागेका छन्। 

‘मेरो नेतृत्वमा कोशी प्रदेश सरकार गठन भएयता केही सकारात्मक सन्देश प्रवाह गर्ने गरी अघि बढ्ने प्रयत्न सरकारले गरिरहेको,’ उनले भने, ‘धार्मिक तथा साँस्कृतिक क्षेत्रको विकासका निम्ति पाथीभरा क्षेत्र विकास समिति (गठन) आदेश, २०८१, बृहत्तर बराहक्षेत्र विकास समिति (गठन) आदेश, २०८१, हलेशी महादेवस्थान विकास समिति (गठन) आदेश, २०८१ स्वीकृत गरी कार्यान्वयनको चरणमा रहेको छ।’ 

सूचना प्रविधिमा आधारित रोजगारी सिर्जना गर्ने उद्देश्य अनुरूप कर्जा सुरक्षण कार्यक्रमको विस्तार र प्रवर्धनका लागि प्रदेश सरकार र निक्षेप तथा कर्जा सुरक्षण कोष, काठमाडौंबीच समझदारीपत्रको आदानप्रदानजस्ता कुराले प्रदेशमा आशाको सञ्चार सिर्जना गरेको उनको दाबी छ। 
  
प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरलाई मुलुककै विशिष्टीकृत नमूना अस्पतालको रूपमा व्यवस्थापकीय सुदृढीकरण गरी कोशी आयुर्वेद प्रतिष्ठानको रूपमा विकास गर्न ‘आयुर्वेद चिकित्सा सेवा, जडीबुटी शिक्षा तथा अध्ययन तथा अनुसन्धान सम्भाव्यता अध्ययन कार्ययोजना तर्जुमा कार्यदल, २०८१’ गठन गरी कार्य प्रारम्भ गरिएको जानकारी मुख्यमन्त्री कार्कीले दिए। 

प्रदेशको पर्यटन प्रवर्द्धनका लागि सार्वजनिक-निजी सहकारी लगानीको अवधारणाअनुसार भेडेटार स्कइवाक परियोजना सञ्चालन र ट्रायल पास हुनेबित्तिकै लाइसेन्स वितरणजस्ता विषयले प्रदेशमा उत्साह छाएको कार्कीले बताए। उनले विगतका तितो बिर्सिएर सकारात्मक अभ्यासबाट अघि बढ्ने प्रतिबद्धतासमेत जनाएका छन्। 
 
मुख्यमन्त्री कार्कीले संविधानको मर्म र भावनाविपरीत प्रकट भएका विचलनहरू रोक्दै तथा लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्नका लागि आर्थिक शिथिलता, दण्डहीनता र निराशालाई चिर्दै प्रदेशवासी जनतामा प्रदेश संरचनाप्रति आशा र भरोसा पैदा गर्ने गरी सरकार अघि बढ्ने बताए। विशेषतः युवाहरुमा प्रकट नैराश्यता, आक्रोस र नकारात्मक सोंचमा परिवर्तन गर्न जरुरी रहेको उनको भनाइ छ। 

कांग्रेस र एमालेको सहकार्यबारे स्पष्ट पार्दै कार्कीले भने, ‘प्रदेशवासी जनता समेतको चाहनाबमोजिम अघि बढेको उच्च राजनीतिक सहकार्य हो।’ अहिलेको समीकरण राजनीतिक दाउपेच नभएर राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माण अभियानलाई तीव्रता दिन र राजनीतिक स्थिरताका लागि बनेको जिकिर कार्कीको थियो। 

आफ्नो नेतृत्वमा वैशाख २७ गते सरकार बनेपछि कार्कीले वैशाख ३१ विश्वास मत लिएका थिए । त्यसको १ सय २७ दिनपछि आज फेरि विश्वासको मत लिन लागेका छन् । त्यतिबेला माओवादीको समर्थनमा मुख्यमन्त्री कार्की अहिले नेपाली कांग्रेससहितको गठबन्धनबाट प्रदेश सरकारको नेतृत्व गरिरहेका छन्। 

केन्द्रमा राजनीतिक समीकरण परिवर्तन भएपछि कोशीमा माओवादी केन्द्रले साउन ११ गते सरकार छाडेको थियो। माओवादीले सरकारलाई दिएको समर्थन भदौ १४ गते समर्थन फिर्ता लिएको थियो। नेकपा (एमाले) प्रदेश संसदीय दलका नेतासमेत रहेका कार्की नेतृत्वको सरकारमा अहिले कांग्रेस सहभागी छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.