सरकारले 'नोटिस'मा राखेको खबर पाएको छु, पक्रेर देखाउन चुनौती दिन चाहन्छु : लिङ्देन
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई पक्रेर देखाउन सरकारलाई चुनौती दिएका छन्।
बुधबार काठमाडौंमा नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई पत्र प्रदान गर्दै लिङ्देनले संविधान दिवसका समयमा आफूलाई राज्यले नोटिसमा राखेको खबर पाएको भन्दै आफूलाई पक्रेर देखाउन चुनौती दिए।
आफू अहिलेको संविधानले व्यवस्था गरेको संघीयता, धर्म निरपेक्षताको विरोधी र विपक्षी भएको उनले बताए। उनले कुनै अराजकतामा आफ्नो भविष्य नखोजेकाले संयमता अपनाइरहेको धारणा राखे।
लिङ्देनले अहिलेको संविधान जति परसम्म बोकेर लगिन्छ, त्यति नै जनताले दुख पाइराख्ने जिकिर गरे। हिजो र आजका राम्रा कुरालाई समेटेर अघि बढ्नुको विकल्प नभएको भन्दै जबरजस्ती गरे ढिलो चाँडो अहिलेको संविधान जनताले फ्याक्ने र त्यसको नेतृत्व राप्रपाले गर्ने स्पष्ट पारे।
राप्रपाले नवीन राप्रपा कार्ययोजनाअन्तर्गत ४० वर्षमुनिका २० युवालाई पार्टीको केन्द्रीय कार्यसमितिमा लैजाने निर्णय १० पुरुष र १० महिलालाई पार्टीको केन्द्रीय सदस्य पदमा ल्याउँदै जिम्मेवारी दिएको हो।