वैशाख २५, २६ र २७ गते प्रथम महाधिवेशन गर्ने रास्वपाको घोषणा
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो महाधिवेशन आगामी वैशाखको अन्तिम साता गर्ने घोषणा गरेको छ। पार्टीको राष्ट्रिय भेला समापन समारोहमा रास्वपा सभापति रवि लामिछानेले २०८२ साल वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने घोषणा गरे।
उनले केन्द्रीय समितिलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरिएको घोषणासमेत गरे। त्यस्तै लामिछानेले जनताको कुरा सुन्न ‘महाकाली-मेची जनयात्रा अभियान’को पनि घोषणा गरे। त्यस्तै आफ्नो राजनीतिक प्रतिवेदन पढेर सुनाउँदै लामिछानेले संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव गरे।
उनले प्रदेशसभा खारेज गर्दै स्थानीय तहका जनप्रतिनिधि सम्मिलित प्रदेश परिषद्लाई नै विधायिकी अधिकार दिन सकिने उन्नत विकल्पबारे छलफल सुरु गरिने बताए। सात वटा प्रदेश कायम राख्दै स्थानीय पालिकाहरूको संख्या भने ५०० भन्दामुनि झारिने उनको प्रस्ताव छ। लामिछानेले रास्वपाका नेताहरूमाथि झुटा मुद्दा आरोप लगाउने काम भएको र सबै दल मिलेर एक्लाउने काम भएको समेत बताए।