डाक्टर बन्न कर्णाली आउनुस्

डाक्टर बन्न कर्णाली आउनुस्

वीरेन्द्रनगर : कुनै बेला कर्णालीमा पर्याप्त संख्यामा स्वास्थ्य चौकी नै थिएनन्। एक स्थानीय निकाय अर्थात् एक गाउँविकास समितिमा एउटा मात्र स्वास्थ्य चौकी हुन्थ्यो। जहाँ अहेब, ग्रासका, मासिका र एक जना कार्यालय सहयोगीको दरबन्दी थियो। तर, कार्यरत भने कार्यालय सहयोगी मात्र हुन्थे। अहेब, मासिका र ग्रासकाको पदमा खाली नै हुन्थ्यो। मानिस प्रायः धामी झाँक्रीकोमा जान्थे। फाट्टफुट्ट बिरामीहरू अस्पताल जाँदा पनि कार्यालय सहयोगीले औषधि दिन्थे। गाउँका मानिसले स्वास्थ्य चौकीमा कार्यरत सहयोगीलाई नै डाक्टरसाब भन्ने गर्थे। 

विस्तारै मुलुकमा आएका राजनीतिक परिवर्तनले जिल्ला–जिल्लामा अस्पताल र इलाका स्तरमा प्राथमिक स्वास्थ्य केन्द्रहरू खोलिए। जहाँ डाक्टरको दरबन्दी हुन्थ्यो। तर, कार्यरत भने अहेब र अनमी हुन्थे। अधिकृत स्तरको मेडिकल जनशक्ति पर्याप्त थिएन्। भएको जनशक्ति पनि कर्णालीमा आउनै मान्दैनथे। अहेबकै नेतृत्वमा चल्थे स्वास्थ्य संस्था। अधिकांश जिल्ला अस्पताल मात्रै होइन, तत्कालीन अञ्चल अस्पतालमै डाक्टरको सेवा पाइन्नथ्यो। तर, अहिले समय फेरिएको छ। राजनीतिक परिवर्तनसँगै मुलुकमा संघीय लोकतन्त्र सहितको गणतन्त्र आएपछि कर्णालीको स्वास्थ्य सेवाले निकै फड्को मारेको छ। हरेक जिल्लामा विशेषज्ञ डाक्टरसहितको सेवा मात्र कर्णालीवासीले पाउन थालेका होइनन्, कर्णालीमै विशेषज्ञ डाक्टरहरू उत्पादन हुन थालेका छन्। यसैको उदाहरण हो जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान खुलेपछि दुर्गमका बिरामीले विशेषज्ञ सेवा पाउन थालेका हुन्। कालीकोट, जुम्ला, मुगु, हुम्लालगायत दुर्गम जिल्लामा विशेषज्ञ डाक्टरले सेवा दिइरहेका छन्। साविकको कर्णालीका पाँच जिल्ला र कर्णाली बाहेकका आसपासका जिल्लामा प्रतिष्ठानले सेवा दिँदै आएको हो। प्रतिष्ठान जिल्ला जिल्लामा विशेषज्ञ स्वास्थ्य सेवाका साथै अहिले विशेषज्ञ डाक्टर उत्पादनमा लागेको छ। डाक्टर नपाउने कर्णालीले अहिले मूलकभरबाट डाक्टर भन्ने सपना बोकेका विद्यार्थीको डाक्टर बन्ने सपना पूरा गर्न थालेको छ। ‘प्रतिष्ठान स्थापना नहुँदा जुम्ला जिल्ला अस्पताल र अञ्चल अस्पतालमा पनि यहाँका बिरामीले विशेषज्ञ स्वास्थ्य सेवा पाउँदैनथे’, जुम्लाका स्थानीय लालबहादुर जिसीले भने, ‘सधंै सिटामोल र पखलाको औषधि मेट्रोकै अभाव हुन्थ्यो। तर, अहिले त्यस्तो समस्या छैन। घरको आँगनमै विशेषज्ञ स्वास्थ्य सेवा बिरामीहरूले उपयोग गर्न पाएका छन्। अझ जुम्लामा देशैभरकिा विद्यार्थी डाक्टर पढ्न आएका छन्। यो निकै गर्वको कुरा हो।’

कर्णालीका जुम्ला बाहेकका अन्य विकट जिल्लाका सबै अस्पतालमा विशेषज्ञ डाक्टरसहित अन्य उपकरणमा पनि सहयोग गरिरहेको बताउँछन् प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल। उनका अनुसार जुम्लावासीले प्रतिष्ठानबाटै स्वास्थ्य सेवा पाइरहेका छन्। कालीकोट जिल्ला अस्पताल, रास्कोट र तिलागुफा नगर अस्पतालमा डाक्टर खटाइरहेको उनको भनाइ छ। दैलेखको राकम अस्पतालमा डाक्टर खटाइएको छ। सय बेडको अस्पताल निर्माणको काम अघि बढेको छ। मुगु र हुम्ला अस्पतालमा एक/एक जना एमजीडीपी खटाएर सेवा दिँदै आएका छन्। सुदूरपश्चिम प्रदेशमा पर्ने दुर्गम जिल्ला बाजुराको कोल्टी अस्पतालमा पनि विशेषज्ञ डाक्टर र नर्स खटाइर सेवा दिँदै आएका छन्। 

कोरोना महामारीका बेला प्रदेशका अधिकांश जिल्लामा ६० जना डाक्टर परिचालन गरिएको डा. रावलको भनाइ छ। ‘अन्य महामारी तथा गम्भीर प्रकारका बिरामीको उपचार गर्ने नजिकको ठूलो अस्पताल प्रतिष्ठान बनेको छ’, उनी भन्छन्, ‘सुर्खेत, नेपालगन्ज र संघीय राजधानीका ठूला अस्पतालले दिने विशेषज्ञ सेवा जुम्लामै पाउने भएपछि यहाँका नागरिकलाई ठूलो राहत भएको छ।’ २०७१ सालमा सेवा सुरु गरेपछि हालसम्म झन्डै  ६ लाखभन्दा बढीले सेवा लिएका छन्।

५८ जना विशेषज्ञ बने, ४ सय २५ पढ्दै

जुम्लामा कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान खुलेपछि कर्णालीका स्थानीय नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवामा मात्र सहजता आएन, कर्णालीले डाक्टर उत्पादन गरेर कर्णाली बाहिरसमेत पठाइरहेको छ। प्रतिष्ठानका उपकुलपति रावलले भने, ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमडीको पहिलो ब्याचमा ५ जना पास आउट भए। उनीहरूमध्ये ३ जना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा, एक जना लुम्बिनी प्रादेशिक अस्पताल दाङ र एक जना सेती प्रादेशिक अस्पताल धनगढीमा कार्यरत छन्। एमबीबीएस पहिलो ब्याचमा २० जना, दोस्रो ब्याचमा ३० जना, तेस्रो ब्याचमा ३० जना, चौथो ब्याचमा ५० जना र हाल पाँचौं ब्याचमा ५० जना पढिरहेका छन्।’ उनका अनुसार प्रतिष्ठानमा जनस्वास्थ्य महाविद्यालय, फार्मेसी महाविद्यालय, नर्सिङ महाविद्यालय, मेडिसिन महाविद्यालय गरी चारवटा महाविद्यालयहरू सञ्चालनमा छन्। जसबाट ब्याचलरभन्दा माथिका ५८ जना विशेषज्ञ जनशक्ति पासआउट भइसकेका छन्। एचए र नर्सिङमा ४ सयभन्दा बढी जनशक्ति उत्पादन भइसकेका छन्। हाल ४ सय २५ जना विशेषज्ञ पढिरहेका छन्। चालु आर्थिक वर्षमा १ सय ४५ जनाका लागि भर्ना लिइँदै छ। 

डाक्टर बन्ने कर्णालीवासीको सपना आफ्नै गाउँठाउँमा पूरा भएको छ। अब कर्णालीका हरेक अस्पतालबाट विशेषज्ञ डाक्टरबाट सेवा पाउनुका साथै कर्णालीमा अध्ययनरत विद्यार्थीले पनि मेहनत गरे कर्णालीमै डाक्टर बन्ने सपना पूरा गर्न पाउने अवस्था आएको छ। प्रतिष्ठान यो अवस्थासम्म आइपुग्न निकै संघर्ष गर्नुपरेको बताउँछन् रजिस्टार नृपेन्द्रबहादुर महत। ‘यहाँ जनशक्ति व्यवस्थापन, बाहिरी जिज्ञासाको सम्बोधन गर्न, केन्द्रीकृत मानसिकताले निर्माण गरेको धारणा चिर्न हामीलाई अथक संघर्ष गर्नुपरेको छ। तापनि प्रतिष्ठान सफल हुँदै गएको छ’, महत भन्छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.