बागमतीमा प्रदेशमा मनाइयो संविधान दिवस (फोटोफिचर)
हेटौंडा : बागमती प्रदेश सरकारले संविधान दिवस एवम् राष्ट्रिय दिवस मनाएको छ। बिहीबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा, प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेल सहितको उपस्थितिमा संविधान दिवस मनाइएको हो।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित कार्यक्रममा प्रदेशका मन्त्रीहरू, कर्मचारी, सुरक्षाकर्मीहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, नागरिक समाज, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो। प्रदेश सरकारले ३ दिन संविधान दिवस एवम् राष्ट्रिय दिवस २०८१ विविध कार्यक्रम मनाउने गरेको निर्णय अनुसार आज अन्तिम दिन प्रभातफेरी गरेको थियो।
हेटौंडा उपमहानगरपालिका-४ भुटनदेवी विद्यालयबाट सुरु भएको प्रभातफेरी सिमाचोक, बुद्धचोक हुँदै हेटौंडा बजार परिक्रमा गरी मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा पुगेको थियो।
मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख, प्रदेशका मुख्यमन्त्री र प्रदेशका प्रथम मुख्यमन्त्रीले संविधान दिवस एवम् राष्ट्रिय दिवस २०८१ को अवसरमा शुभकामना व्यक्त गरे।
कार्यक्रममा प्रदेश सरकारले संविधान दिवसको अवसरमा ३ दिन आयोजना गरेको क्याम्पस स्तरीय निबन्ध प्रतियोगिता, माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्कृष्ट नतिजा ल्याउने विद्याथीहरूलाई सम्मान गरेको थियो। प्रदेश सरकारले संविधान दिवसको अवसरमा गरेको भलिबल प्रतियोगितामा विजेता टिमलाई समेत सम्मान गरेको थियो।