अब डाक्टर पठाउँछ कर्णाली
उपचारका लागि बिरामी बाहिर पठाउनु कर्णाली प्रदेशको पहिचान जस्तो थियो कुनै बेला। गाउँका स्वास्थ्य संस्थामा होइन कि जिल्ला सदरमुकामकै अस्पतालहरूमा पनि औषोधपचार कठिन थियो। अस्पतालका भवनहरू हुने तर स्वास्थ्यकर्मी र औषधिचाहिँ नहुने बिडम्बना कर्णालीले धेरै भोग्यो। त्यही कर्णाली अचेल बिरामी होइन, डाक्टर उत्पादन गरेर अरु प्रदेशमा पठाउँछ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्तानक (एमबीबीएस) पढाइ हुन्छ।
यहाँ देशका कुनाकुनाबाट डाक्टरी पढ्न बर्सेनि विद्यार्थी आउँछन्। अनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विशेषज्ञ डक्टरको सुविधा पनि हुन थालेको छ। जब कि प्रदेशका धेरै ठाउँमा पहिला सामान्य स्वास्थ्यकर्मी पनि नभएर कार्यालय सहयोगीको भरमा समेत उपचार गर्नुपर्ने बाध्यता हुन्थ्यो। प्रतिष्ठानले जुम्लाबाहेक जिल्लामा विशेषज्ञ डक्टर पनि पठाइरहेको छ। स्नातकभन्दा माथि ५८ विशेषज्ञ चिकित्सक प्रतिष्ठानले बाहिर पठाइसकेको छ।
सरकारले सबै प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान सुरु गरी चिकित्साशास्त्रको पढाइ ७ प्रदेशमा गर्ने नीति लिएको छ। त्यसो त यो नीतिअनुसार सुदूरपश्चिममा अझै प्रतिष्ठान स्थापना हुन सकेको छैन। उस्तै भौगोलिक कठिनाइ र मानव विकास सूचकांकमा पछि कर्णालीले भने त्यो सौभाग्य पाएको छ। सडक पूर्वाधार नभएको, बिजुली बत्ती नभएको र शिक्षा स्वास्थ्यमा धेरैपछि परेको प्रदेशलाई स्वास्थ्यका क्षेत्रमा स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना एउटा महत्वपूर्ण कोसेढुंगा सावित भएको छ।
एक त कर्णालीकै विद्यार्थीले एमबीबीएस पढ्न बाहिर जानु परेन, उनीहरूले आफ्नै ठाउँको संस्था रोज्न पाए। र, नेपालमा पढ्न नपाएर विदेशिन बाध्यहरूका लागि पनि कर्णालीसमेत विकल्प बन्यो। हिजोका दिनमा दुर्गम भनेर रोजगारीका लागि पनि जान हिच्किचाइने ठाउँलाई आज शिक्षा र त्यो पनि चिकित्साशास्त्रको शिक्षाको गन्तव्य बनाएबाट समग्रमा कर्णालीको पहिचान बदलिएको छ।
प्रदेशवासीको शिर उँचो भएको छ। स्वास्थ्य सेवा र उज्यालो प्रतिष्ठाको आर्जन गर्ने मौका कर्णालीबासीलाई मिलेको छ। अब कर्णालीको जुम्लामा मात्रै नभई अरु जिल्लामा पनि स्वास्थ्य सेवालाई अझै भरपर्दाे र स्तरीय बनाउने कामचाहिँ बाँकी नै छ। जिल्ला जिल्लाका स्वास्थ्य संस्थाको सेवा र स्तर चुस्तदुरुस्त बनाउनुपर्ने छ। क्रमशः सरकारको ध्यान त्यता गए कर्णालीले छिट्टै मुहार फेर्ने छ।