पितृप्रतिको श्रद्धा

पितृप्रतिको श्रद्धा
फाइल तस्बिर।

आश्विन कृष्ण पितृपक्ष असोज २ गतेदेखि सुरु भएको छ। सोह्र श्राद्धका नामले परिचित यो पक्ष असोज १६ गतेसम्म रहन्छ। दसैं सुरु गर्न अघि पितृपक्ष पूरा गर्नुपर्छ। शास्त्रको कथन छ, पहिले दिवंगत पितृको अनुष्ठान, त्यसपछि देवी वा शक्ति उपासना। विवाह आदि कर्म गर्नुपूर्व पनि नान्दी श्राद्ध गर्नुपर्छ। तिथिको घटबढले यसपालिको प्रतिपदा श्राद्ध असोज २ गते परेको हो। १३ गते मघा परेको छ। शास्त्रले मघायां पिण्ड दानेन ज्येष्ठ पुत्रो हनिष्यति भनेको छ। अर्थात् मघामा पिण्डदान गर्नाले जेठो छोरोलाई हानी हुन्छ। छोरा हुनेका लागि मघा तिथिको साटो अन्य तिथि खोजी सोह श्राद्ध गरिन्छ, वा औंसी, एकादशीमा गरिन्छ वा सिदा तर्पणबाटै बिसर्जन गरिन्छ। वा, अन्य तिथि खोजी गरिन्छ।

आश्विन कृष्णपक्ष पूरै १५ दिन पितृपक्ष हो। यसलाई सोह्र श्राद्ध भनिन्छ। पूर्णिमा समेत गन्दा १६ दिनको भए पनि वास्तवमा १६ दिन पूरा हुन्न। असोज १५ गते चतुर्दशी तिथिमा शस्त्रादिबाट हताहत भएकाहरूका नाममा मात्र श्राद्ध गर्नुपर्छ। श्राद्धको परिचय गर्नुपर्दा मूलतः श्राद्ध भनेको श्रद्धा नै हो। आफ्ना दिवंगत पितृहरूको उद्धार, उनीहरूप्रतिको समर्पण र दयाभाव हो। आफ्ना पिता, माता र पुर्खाबिना यस धर्तीमा उदय असम्भव छ र उनीहरूकै प्रेरणा पाएर भावी जीवन सञ्चालन हुने हो। दिवंगत पितृहरू ८४ लाखमध्ये कुनै न कुनै योनिमा रहेका हुन्छन् भनेको छ शास्त्रले, र सन्ततिले दिएका खाना उनीहरूले देह धारण गरेअनुरुप तत् तत् योनिका खाना स्वरूप प्राप्त हुने हो। देवता भए अमृतकै रूपमा पाउँछन्। पुं नाम नरकात् त्रायते इति पुत्रः अर्थात् पुं नामक नरकबाट तार्नेको नाम पुत्र भएकाले उसको कर्तव्य किन्चित बढी हुन्छ। लालन, पालन र कर्मका खातिर वावु, आमाले गरेको प्रयास र सो ऋणबाट चुक्ता हुने उत्तम साधन भनेको वर्षभरि पितृहरूका नाममा गरिने तर्पण नै हो।

तर्पण त नित्य गरिने कार्य हो। तर, अहिलेको परिवेशमा धेरैले यसो गर्न सकेका छैनन्। शास्त्रीय प्रमाण खासगरी ब्रह्मपुराण, नारदपुराण, भविष्यपुराण, हेमाद्री, मनुस्मृति, याज्ञबल्क्य आदि र अन्यसंहिता हेर्दा तर्पण हरेक दिन गर्नुपर्छ। तर, तिथिका दिन मात्रै गर्ने चलन छ अहिले। सक्नेले नित्य स्नानपछि गर्छन्। प्रेत भएकाले पानी पाउने भनेको नुहाएको कपडाले हो। श्राद्धमा प्रेत भएका कोही छौं भने यो जल पाऊ भनेर कपडाको साटो जनै अपसव्य गरेर त्यसैलाई निचोरेर पानी दिने गरिन्छ र श्राद्धको काम नसकी अरूले पनि कपडा धुन्नन्। भित्री कपडा पनि यसै राखिरहन्छन्, स्नानपछि। पिण्डदान अगाडि बा पछाडि तर्पण गरिन्छ। जौ, तिल कुशले प्रतिज्ञा गरी दूधसहित जलदान गर्ने काम नै तर्पण हो। यसमा सर्वप्रथम ब्रह्मादि ३ देवताहरूलाई जनै सव्यले जलदान गरिन्छ। पूर्व फर्केर प्रजापति, देवता, ऋषि, गन्धर्व, देवी, अप्सरा, नाग, यक्ष, पिशाच, भूत, पशु, मनुष्य, वनस्पति, औषधि, अत्रि, मरीचि, अत्रि आदि ऋषिहरू, भृगु, बशिष्ठ आदिलाई तिल कुशले जलदान गरिन्छ। त्यसपछि जनैलाई माला लगाएर दुई–दुईपटक सप्तमनुष्य र पितृहरूलाई जलदान गरिन्छ। पछि अपसव्य भएर खगौतोवाट मोटक, तिलसहित दिव्य पितृहरूलाई तर्पण गरिन्छ। त्यसपछि आफ्ना पिता पुर्खा, मावली, बन्धुबान्धवलगायत दिवंगत सबै पितृहरूलाई तर्पण गरिन्छ। सन्तति नभएर पिण्ड पानी नपाउनेहरूका लागि भने जनै वा कपडा पानीमा चोपेर दिने हो। 

पितृपक्षमा एकोद्विष्ट पर्न गए एकापार्वणको रूपमा श्राद्ध गरिन्छ भने देवब्राह्मण र पितृब्राह्मण स्थापना गरी एकोद्विष्ट श्राद्ध एकापार्वणको बिधिले गरिन्छ। देव भक्ति र पितृ भक्तिमा फरक छ, पितरः वाक्यमिच्छन्ति भावमिच्छन्ति देवता भन्ने अर्थमा देवता भावका भोका, पितृ भने वचन, विभक्ति कारक र श्रद्धाका भोका हुन्छन्, वाक्य शुद्धि भएन भने दिएको बस्तु तिनले पाउँदैनन्, त्यसर्थ श्राद्ध गराउने व्यक्ति विषय विज्ञ र व्याकरण जानेको हुनु पर्छ। एकोद्विष्ट श्राद्ध मध्याह्न कालमा गरिन्छ र सोह्र श्राद्ध अपराह्नव्यापी हुन्छ। एकै ब्राह्मणले धेरैवटा श्राद्ध गर्नु शास्त्र निषेध कर्म हो। गृहस्थीहरूका लागि श्राद्ध अनिवार्य छ, कुनै बहानामा गरेन भने पितृहरू निराश भई श्राप दिएर फर्कन्छन् भनेको छ शास्त्रले, यहाँसम्म कि सन्ततिको रगत नै लिइदिन्छन् भनेको छ। सन्ततिले दिएको जल पिण्डदानले उनीहरूले आपूm तृप्त हुने हो। पिण्डले देह निर्माण हुन्छ भने अन्य वस्तुले खाना प्राप्त गर्छन्। हाम्रो ३६५ दिन तिनको एक दिन हुने भएकाले यहाँ दिइएका सामान उनीहरूले नित्य पाए सरह हुन्छ। आफू तृप्त भएपछि तिनले धन, कीर्ति, सुख, भोग, यश, सम्मान लगायत आत्मउन्नति एवं सन्ततिको आचरण, व्यवहार शुद्धि, मर्यादापालन, नैतिकता एवं आफूप्रति उनीहरूले भविष्यसम्म गर्ने बिधि व्यवहारको आशीर्वाद पनि दिन्छन्। श्राद्ध कर्म आफूले छोडियो भने पछिल्ला सन्ततिले पनि छोड्छन्, घाटा आफैंलाई हुने हो। तीर्थमा जौको पिण्ड दिइन्छ, चोखोको लागि। आफ्नो स्वामित्वक्षेत्रमा बसेर श्राद्ध गर्दा पितृ खुसी हुन्छन्, सकेसम्म अन्तरिक्ष नपर्ने गरी पिण्डदान गर्नुपर्छ। श्राद्धकर्ताको भएसम्म पत्नीको हातबाट तयार गरिएको पिण्डदानले पितृ खुसी हुने हुन्छन्, बनवासको समय रामले सीताबाट तयार गरिएको बालुवाको पिण्डले पिता दशरथले अमृतस्वरूप पाएको प्रसंग छ शास्त्रमा । त्यसैले कुलाचारअनुसार विवाह गरेर सन्तति प्राप्त गर्नुपर्छ। विश्वासमै अडेको छ संसार र विश्वासकै कारण सूर्य, चन्द्र, धर्ती, आकाश सबै अडेका हुन्, विज्ञान त हिजो आएको हो।

दिवंगत सबै पितृहरूको उद्देश्य राखेर पिण्डदान गर्ने पर्व सोह्र्र श्राद्ध हो। सूर्य कन्याराशिमा प्रवेश गर्दा यो पर्व हुन्छ भने कन्याराशिमा सूर्य सरेको बखत दिवंगत पितृहरूलाई पिण्डदान नगर्ने पुत्रहरू पापी हुन्, कृतध्न हुन् भनिएको छ। सूर्ये कन्यागते श्राद्धं यो न कूर्यात् गृहा श्रमी। धनपुत्राःकुतस्तस्य पितृनिश्वास पीडनात्, भन्ने अर्थमा् गृहस्थी भएर आश्विनको पितृपक्षमा श्राद्ध अनिवार्य भएको हो। श्राद्ध नगरी घरमा जमरा राख्नु नहुने र पितृपक्षमा सबै दिन चोखो खाने र देव पूजा गर्दा पनि घरमा शंख, घण्ट बजाउनु हुन्न। १५ दिनको पक्षभित्र जहिले श्राद्ध गरे पनि हुन्छ किन्तु बावुको या नसके वाजेको तिथिमा राम्रो हुन्छ। सूतक, जुठो वा असर्धो समय परे एकादशी या औंसीमा गरिन्छ। १५ दिनभित्र गर्न नसकिए, लक्ष्मीपूजाको औंसीमा गरिन्छ। यसमा खासगरी स्वाहा स्वधा दुवैको आवाहन गरिन्छ। देव, पितृऋषि स्थापना गरी स्वाहा र स्वधा मन्त्रले पूजा गरिन्छ। एकातिर जनै सव्य गरेर सांँहिली औंलाले पूजा गरिन्छ भने अर्कोतिर अपसव्य, चोरी औंलाले पूजा गरिन्छ। दिवंगत सबैका लागि पिण्ड दिइन्छ, कसैले १६ वटा पिण्ड दिन्छन् कसैको बढी पनि हुन्छ, कसैले ६ वटा मात्र दिन्छन्, यो चलनको कुरो भयो।

विभक्ति प्रयोग गर्दा आसनको लागि षष्ठी, आवाहनमा द्वितीया, अन्नदानमा चतुर्थीबिभक्ति प्रयोग हुन्छ। हेमाद्रीले भनेको छ, पितृ श्राद्धको दिन पिण्डदान नभएसम्म हवन, योगी अन्नदान, देवपूजा, ब्रह्मचारी, तपस्वी कुनै दानको काम गरिन्न। स्वलक्ष्यमा हुन्छन् पितृहरू, त्यो लक्ष्य पूरा नभएसम्म अन्य कर्म निषेध छ। पत्नी रजस्वला भए पिण्डदान (पार्वण) गर्न नहुने, पतीत व्यक्तिहरूलाई आमन्त्रण गर्नु नहुने, अन्य गोत्रजहरूलाई पनि खासमा प्रसाद निषेध गरिएको, बन्धुवान्धव, इष्टभित्र, ज्वाइँ, भान्जा, असल पुरोहित आदि आमन्त्रण गरिएर गरिने यो पर्वमा धूम धाम बाजा गाजा भीडभाड ठूलो स्वर गर्नु हुन्न। श्राद्धमा तुलसी, भृंगराज, सयपत्री, अगस्त्यपुष्प ग्राह्य छन्, केतकी, करवीर, वकुल, कुन्दक र रातो अन्य फूलहरू निषेध छ। श्राद्धमा प्रयोग हुने वस्तुहरू अघिपछि प्रयोग नभएका, चोखो वस्तुहरू तयार गर्नुपर्छ, दूध, ध्यू, तिल आदि नभइन हुने, आसनी चोखो चाहिने, खड्गपात्र, नेपाली ऊनबाट बनेका कम्बलहरू विशेष प्रिय हुने, कुश, चाँदी, तामाका भाँडाकुँडा हुनुपर्ने, सके गाई र छोरीको छोरा आवश्यक पर्ने विधान छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.