कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई
काठमाडौं : कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले पाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज अमेरिका प्रस्थान गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री सिंहलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन्।
राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी सिंहलाई दिएको जनाएको हो।
विज्ञप्तिमा भनिएको छ,'राष्ट्रपति रामचन्द्र पौडेलज्यूले प्रधानमन्त्री केपी शर्मा ओलीज्यू संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन सम्वत् २०८१ असोज ४ गते संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री श्री प्रकाशमान सिंहज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ।'
संयुक्त राष्ट्रसंघको महासभा भदौ २५ देखि असोज १२ गतेसम्म न्युयोर्कमा हुँदैछ। यसको उच्चस्तरीय छलफल असोज ८ देखि १२ गतेसम्म चल्ने कार्यक्रम छ। प्रधानमन्त्री ओलीले असोज १० गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्कने कार्यक्रम छ।