अत्यधिक रक्तश्राव हुँदा बझाङमा सुत्केरीको मृत्यु
बझाङ : बझाङमा साल अड्किएर अत्यधिक रक्तश्राव हुँदा सुत्केरीको मृत्यु भएको छ। मष्टा–२ बाडेगाउँकी ३५ वर्षीया रुपकला कठायतको मृत्यु भएको हो। आज बिहान ३ बजेतिर स्थानीय मष्टा स्वास्थ्य चौकीमा छोरीलाई जन्म दिनासाथ बेहोस भएकी उनको पाठेघरमा साल अड्किएको थियो।
अड्किएको साल स्थानीय स्वास्थ्यकर्मीले झिकेर बेहोस अवस्थामै बिहान ९ बजे अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको जिल्ला अस्पताल बझाङले जनाएको छ।
जिल्ला अस्पतालका कार्यालय प्रमुख डा. नवराज जोशीका अनुसार जिल्ला अस्पताल पुगाउँदा उनको ज्यान गइसकेको थियो। पाँचौ गर्भ बोकेकी उनी निकै कमजोर भइसकेको र धेरै रक्तश्राव हुँदा ज्यान गएको हुन सक्ने उनले बताए।