छोरीले कपाल काट्ने ?, झुपा नै उदाहरण बनिन्

छोरीले कपाल काट्ने ?, झुपा नै उदाहरण बनिन्

अछाम : ‘छोरी मान्छेले कपाल काट्ने ?’ भो, यस्तो काम नगर्नु। अरू नै काम गर’ झुपा विकलाई हौस्याउनेभन्दा निरुत्साहित गर्नेको संख्या धेरै थियो। तर, कसैको कुरा सुनिनन्। कपाल काट्ने तालिम लिइन्, पालिकाको प्रमुख बजार विनायकमा व्यवसाय सुरु गरिन्। दैनिक १ हजारसम्म कमाई हुन थाल्यो। अनि, बाबुआमाले ‘भारत (बम्बै) बाट दुई चार पैसा पठाइदेलान् र पढाइ खर्च टारौला’ भन्ने समस्याको अन्त्य आफैँ गरिन्। 

पञ्चदेवल विनायक– ४ की झुपा २१ वर्षकी मात्र भइन्। ८ जनाको परिवार छ। उनी, जेठी छोरी हुन्। आमाबुवा र जेठो भाइ रोजगारीको सिलसिलामा भारत (बम्बै) छन्। झुपाको परिवारको आम्दानीको मुख्य स्रोत नै वैदेशिक रोजगारी हो। एसईईपछि उच्च शिक्षा पढ्न जिल्ला बाहिर जाने सपना थियो– झुपाको। तर, पारिवारिक आर्थिक अवस्थाका कारण त्यो पूरा भएन। अनि, गाउँमै पढ्ने निधो गरिन्। आर्थिक अभावका कारण उनी गाउँकै विद्यालयमा समेत कक्षा ११ मा भर्ना हुन पाइनन्। 

पढाइका लागि खर्चको समस्या भइरह्यो। अनि, उनले ३९० घण्टाको कपाल काट्ने तालिम लिइन्। कपाल काट्ने व्यवसाय सुरु गरिन्। उनी फेरि पढाइलाई निरन्तरता दिने योजनामा छिन्। व्यवसायबाट आम्दानी हुन थालेकोले झुपा अब फेरि कक्षा ११ मा भर्ना हुने सोचमा छिन्। ‘छोरी मान्छेले के राम्रोसँग कपाल काट्लान् र भनेर सुरुमा त कोही पनि आउँदैनथे,’ झुपाले भनिन्।

उनले भनिन्, ‘जब १/२ जनाको कपाल काटे। अरू पनि आउन थाले। अब त ग्राहकहरूले भनेअनुसारको स्टाइलको कपाल काट्छु। मेरो काम देखेर खुसी भएर जान्छन्।’

छोरी मान्छेले कपाल काट्ने काम गर्नु हुँदैन भन्ने मान्यता खण्डित गरिन्, झुपाले। समाजलाई शिक्षा दिइन्– छोरी मान्छे पनि जुनसुकै व्यवसाय गर्न सक्छन्। त्यसपछि भारतबाट प्रत्येक महिना घर खर्च पठाउने गरेका झुपाका बुवाआमाले आजभोलि पैसा पठाउनै पर्दैन। 

घर खर्चसँगै बचत पनि भइरहेको झुपाले बताइन्। उनले भनिन्, ‘व्यवसाय हो सधैं एकनासको हुँदैन। तर, खर्च धान्न पुगेको छ।’ ६ सयदेखि १ हजार ५ सय सम्म दैनिक आम्दानी हुने गरेको झुपाले बताइन्।’ कपाल काट्ने व्यवसाय सुरु गरेको ३ महिनादेखि झुपालाई खर्चको अभाव छैन। 

मंगलसेन नगरपालिका ७ को ठुलासैन बजारमा धनसरा हेयर कटिङ सेन्टर छ। धनसरा जैशी सञ्चालिका हुन्। १८ वर्षकी धनसराको काँधमा घरपरिवारको सम्पूर्ण जिम्मेवारी छ। भारत कमाउन गएका बुवा उतै बेपत्ता भएको १० वर्ष भयो। आर्थिक अवस्था कमजोर छ। धनसरा अछाम बहुमुखी क्याम्पसमा कक्षा १२ मा पढछन्। कपाल काट्ने व्यवसायबाट आफू सन्तुष्ट रहेको बताइन्। ‘केही नगरेर बस्नुभन्दा आफूलाई काममा व्यस्त राख्नु राम्रो हो,’ धनसराले भनिन्, ‘ व्यवसायबाट खर्च चलेको छ। व्यवसाय हो कहिले राम्रै हुन्छ कहिले हुँदैन पनि।’ छोरीले घरव्यवहार मात्र गर्नुपर्छ भन्ने मान्यता राख्ने समाजमा आफूलगायत केही युवतीले फरक व्यवसाय गरेको उनले बताईन। व्यवसाय सुरु गर्ने बेला उनलाई निरुत्साहित गर्ने धेरै थिए। कोही–कोही मात्रै हौसला दिन्थे। उनले दैनिक ५ सयदेखि एक हजार आम्दानी हुने गरेको बताइन्। 

पञ्चदेवल विनायक–३ की निर्मला बुढाले पनि कपाल काटने व्यवसाय सुरु गरेकी छिन्। व्यवसाय सुरुपछि निर्मलाको दैनिकी फेरिएको छ। पहिले घरासयी काममा व्यस्त हुने निर्मला आजभोलि कपाल काट्ने व्यवसायमा व्यस्त छिन्। उनी २२ वर्षकी मात्रै भइन्। निर्मलाको ७ जनाको परिवार छ। निर्मलाले कक्षा १२ सम्म पढेकी छिन्। कपाल काट्ने व्यवसाय सँगसँगै ब्युटिपार्लरको काम पनि सुरु गर्ने सोचमा छिन्। उनले भनिन्, ‘महिला पुरुष सबैको कपाल काट्छु। कपालमा कलर लगाउने गर्छु,’ उनले भनिन्, ‘अब ब्युटिपार्लरको काम पनि सुरु गर्ने योजना बनाएको छु। यसको लागी तालिम लिनुपर्छ। तालिम आयोजना गर्नुप¥यो भनेर वडामा कुरा राखेको छु।’ विदेशको सपना देख्नुभन्दा आफ्नै गाउँठाउँमै काम गरेर विपनामा रमाउनु राम्रो भएको उनी बताउँछिन्। पहिले निर्मलालाई जिस्काउनेहरू अहिले उनको कामको प्रशंशा गर्छन्। ‘छोरीले गर्ने काम नै हैन यो भनेर गिज्याउँथे÷हाँस्थे,’ उनले भनिन् ‘अहिले सबैजना राम्रो काम गरेकी छौं। यसलाई निरन्तरता दिनु भन्ने सुझाव दिन्छन्।’

कपाल काट्ने व्यवसाय ‘हजाम’ ले नै गर्छन्। अर्थात पुरुषहरू नै हुन्छन्। अछामका बजारमा पनि भारतीय नागरिकहरूले मात्रै यो व्यवसाय सञ्चालन गरेका थिए। तर पछिल्लो समय अछामका किशोरीहरूले कपाल काट्ने व्यवसाय सुरु गरेका छन्। महिला प्रतिको पुरातन दृष्टिकोण, व्याप्त लैंगिक असमानता र विभेदका बीच अछाममा लैंगिक समता तथा सशक्तीकरणको नौलो प्रयास सुरु भएको छ। जसले, अवसर पाए महिलाले पनि पुरुष सरह काम गर्न सक्छन् भन्ने प्रमाणित गरेका छन्। विपन्न, अपांगता भएका तथा बञ्चितीकरणमा परेका किशोर किशोरीलाई वाक नेपालको पावर परियोजनाले कपाल काट्ने व्यवसायको तालिम र ५० हजार आर्थिक सहयोग गरेको थियो।     


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.