मधेसको कैलास ‘टुटेश्वर’
देवोका देव : आराध्यदेव, महादेव। मधेसको कैलासपति : बाबा टुटेश्वरनाथ। नेपालको बाबाधाम : टुटेश्वरधाम। मधेसको कैलाश पर्वत : टुटेश्वरनाथ महादेव मन्दिर। यस्ता कयौं उपमाले चिनिन्छन् अनि पुजिन्छन्, टुटेश्वरनाथ।
तर, टुटेश्वरनाथ महादेव मन्दिरको इतिहास जति शक्तिशाली छ, वर्तमान उत्तिकै कमजोर। त्रेताकालीन इतिहास बोकेको छ, टुटेश्वरनाथले। यद्यपि, मिथिलाकै पावन भूमिमा गुमनाम छ, शिवको क्षेत्रमै ओझेलमा परेको छ। टुटेश्वरधाम मधेस प्रदेशको महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–५ स्थित कैलास पर्वतमा अवस्थित छ।
विभिन्न तथ्यले टुटेश्वरधामको सांस्कृतिक तथा धार्मिक साइनो जनकपुरधामसँग गाँसिएको छ। अनि द्वापर युगको महाभारतकालिन इतिहासलाई पनि टुटेश्वरधामले बोकेको छ। तर, पनि गुमनाम छ। अस्तित्व रक्षाखातिर टुटेश्वरधामले सरकार गुहारिरहेको छ। भनिन्छ, ‘अरूका लागि दानी महादेव आफ्नै लागि भिखारी।’
महाभारतको युद्धमा विजयी हाँसिल गर्न अर्जुनले मिथिलाको पावन भूमि पुगेका थिए। बृहत् ज्ञान कोषको २५औं संस्करणका अनुसार टुटेश्वरधाममा शिवले घोर तपस्या गरेका थिए। भगवान् शिवबाट उनले शक्तिका लागि त्रिशुल र जितका लागि ज्ञान प्राप्त गरेको खोजअनुसन्धानमा भेटिन्छ। चार हजार वर्षअघि नै टुटेश्वरनाथ महादेव मन्दिर अस्तित्वमा आएको मानिन्छ (बृहत ज्ञान कोष, २०६६ : पृ. ४६३)।
टुटेश्वरनाथको वैभव विशाल अनि विराट छ। तर, त्यसले चर्चा पाउन सकेको छैन। श्रावण महिनामा लाखौं भक्तजन टुटेश्वरनाथको दरबारमा पुग्छन्, कोही १६ किलोमिटर घिस्रिंदै त कोही ४५ किलोमिटर दौडँदै। निर्मल जल काँधमा बाकेर। घण्ट बजाउँछन्। टुटेश्वरनाथ बाबाको जयकार लगाउँछन् :
हर हर महादेव !
जय शम्भो !!
बाबाको महिमा अपरम्पार रहेको मन्दिरका पुजारी श्रीचन दास बताउँछन्। भन्छन्, ‘टुटेश्वरनाथ महादेवको पूजापाठ गर्दा मनोकांक्षा पूरा हुने विशाल जनविश्वास छ।’ तीज, एकादशी, शिवरात्रिमा भक्तजनको भिड उस्तै हुन्छ। प्रत्येक सोमबार पनि भक्तजनको चहलपहल बाक्लै हुन्छ।
गोठाले भेटाएका थिए टुटेश्वनाथलाई : गोठालाले चुरे जंगलमा शिवलिंग र नन्दी महराज (बसाहा) भेटाएका थिए। ‘गाईवस्तु चर्ने क्रममा जंगलभित्र हराए। गोठालाहरू खोज्न थाले। सोही क्रममा कैलास पर्वतमा ढुंगाको बसाहा र शिव लिंग देखे। जुन दृष्यले उनीहरूलाई अचम्मित तुल्यायो। यो घटना १९९० सालभन्दा अगाडिकै हो’, वुवाले सुनाएको घटनाक्रम बताउँदै माइस्थानका तत्कालिन गाविसअध्यक्ष धनबहादुर स्याङ्ग्वा सुनाउँछन्, ‘त्यसपछि गाउँमा हल्लीखल्ली भयो। गाउँका ठूलावडा जंगल पुगे। उहाँहरूले ओहो ! शिवजीको लिंग रहेछ। महादेवको दर्शन प्राप्त भयो ! भनेपछि एक कान दुई कान हुँदै सबै गाउँलेले थाहा पाए। आसपासका गाउँमा समेत प्रचार–प्रसार भयो।’
क्रमश: त्यहाँ आउने भक्तजनको भिड लाग्न थाल्यो। त्यसपछि मेला लाग्न थाल्यो। ‘५–७ वर्षको उमेरको जति थिएँ। मंसिरको पूर्णिमा मेलामा गाउँबाट मानिस भेला हुन्थे। गीता गाउँदै नाचगान गर्थे’, ७८ वर्षीय धनबहादुर बाल्यकाल सम्झँदै थप्छन्, ‘घनघोर जंगलभित्र रहेको शिवलिंग र बसाहा भएको ठाउँमा पुग्नै कठिन हुन्थ्यो। तर, आस्था र विश्वासले यात्रा सहज बन्थ्यो।’ उनका अनुसार १९८६—८७ तिर फडानी भएर माइस्थान, भब्सी, टुटेश्वर, खयरमारामा बस्ती विस्तार भयो। त्यो राणाकालको समय थियो। लुकीछिपी पहाडबाट राई, मगर, तमाङ जातिहरू टुटेश्वरमा झरेका थिए।
२०३५ सालतिर तत्कालिन माइस्थान गाविसमा पर्ने टुटेश्वरनाथ मन्दिर संघीयता कार्यान्वयनका क्रममा खयरमारातिर पर्न गयो। त्यतिबेला त्यहाँका प्रधानपञ्च थिए, दोलतसिंह लामा। उनैले मन्दिर क्षेत्र उत्खनन गराएका थिए। बुढापाका सुनाउँछन्, ‘त्यहाँ बहुमूल्य चिजवस्तु भेटिए। तर, त्यो गाइब पारियो।’ लामा नेतृत्वमा मन्दिर बनाउने प्रयास गरियो तर सकेनन्। धनुषाका व्यवसायी हजारी साहुले २०५२ सालतिर मन्दिरको निर्माण सम्पन्न गराएका थिए।
यसरी नाम रह्यो टुटेश्वर
किंवदन्ती अनुसार टुटेश्वर महादेव मन्दिरको नामकरणको प्रसंग एक किसानसँग जोडिएको छ। सामाजिक, सांस्कृतिक, विचारप्रधान र अनुसन्धानमूलक पुस्तक ‘बर्दिबास बिम्ब’का अनुसार एक बसाहाले स्थानीय किसानको बाली खाँदै गर्दा उक्त किसानले त्यसलाई लखेट्न थाले। रिसले चुर भई खुकुरी प्रहार गरे। बसाहाको कान काटियो। बसाहा भाग्दै जंगलमा अदृष्य भयो। किसान छक्क पर्दै बसाहाको रगत र पाइलाको आधारमा पछ्याउँदै जाँदा जीउभरि शित नै शित, तोरीको फूल टाँसिएको र दाहिने कान काटिएको अवस्थामा ढुंगाको रूपमा रहेको साँढेलाई देखे।
‘मैले गल्ती गरेछु’ भन्दै किसानले भगवान्सँग क्षमा मागे। उता घटनास्थलमा ढुंगाको कान फेला प¥यो। साँढेको कान मिलाउँदा ठ्याक्कै मिल्यो। यसरी गाउँको नाम टुटेश्वर अनि मन्दिरको नाम टुटेश्वरनाथ महादेव रहन गएको जनविश्वास छ (बर्दिबास बिम्ब, २०७६ : पृ. १३२)। ‘टुटेश्वरनाथ महादेवको मन्दिर : एक चिनारी’ पुस्तकका लेखक अम्बरबहादुर विश्वकर्माले लेखेका छन्, ‘ढुंगारूपी साँढेका कान काट्ने तामाङ जातिका मानिस थिए। उनी धनी थिए। उनको दिन–प्रतिदिन सम्पत्ति, इज्जत नास हुँदै गयो। अन्त्यमा, निसन्तान बनाएर छाडे महादेवले (पृ. ३)।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हितबहादुर पौडेल भन्छन्, ‘यो मन्दिरलाई टुटेश्वर, त्रिकुटेश्वर, टुकेश्वर, किराँतेश्वर आदि नामले पनि चिनिन्छ।’ टुटेश्वरनाथ धार्मिक वन व्यवस्थापन कार्ययोजना २०८१ मा उल्लेख भए अनुसार सिन्धुलीगढीमा युद्ध हारेपछि फर्किएका अंग्रेजका सेनाहरू मन्दिर क्षेत्रमै बास बसेका थिए। अनौठो ढुंगाको बसाहा काठको गाडीमा लिएर भागेका थिए। जंगलमा जाँदा गाडीको धुरा भाँचियो। राति सैनिकहरूको बास घनघोर जंगलमै भयो। विहान त्यो ढुंगो नेदेखेपछि खोज्दै जाँदा पहिलेकै स्थानमा फेला परेको जनश्रुति छ। नेपाल–अंग्रेज युद्घ (वि.सं १८७१–१८७३) मा सिन्धुलीगढीमा भएको थियो।
अर्को जनश्रुति यस्तो पनि छ, मधेस मानिसहरू टायर गाडामा काठ लिन चुरेको जंगल आउँथे। काठ काट्दै गर्दा कैलाशपर्वतमा ढुंगाको बसाहा देखे। लोभ लाग्यो। गाडीमा लिएर उत्तरबाट दक्षिणतिर भागे। गौशालाको खाल्टे बजारमा पुग्दा गाडीको धुरा भाँचियो। उनीहरूको पनि रातिको बास त्यही भयो। पहिलेजस्तै बिहान त्यो ढुंगो टुटेश्वरधाममै देखियो। पुजारी श्रीचन दास सुनाउँछन्, ‘मधेसको कैलाश पर्वतमा सर्प र द्रव्यको कुनै कमी छैन। यहाँ त शंकरजीकै बास हो। सर्प त शंकरजीको माला हो। कैलास पर्वमा सर्प नबसेर कहाँ बस्छ ?’
गर्विलो इतिहास, अन्धकार वर्तमान
१९९० सालको महाभूकम्पबाट टुटेश्वरनाथ महादेव मन्दिरको अलि बढी चर्चा भएको पाइन्छ। भुइँचालोले ढुंगैढुंगाको गुफामा रहेको मन्दिर भत्कियो। जहाँ पाँच–सात हात लामालामा ढुंगा थियो। बुट्टा उस्तै आकर्षक। ती ढुंगाहरू अझै पनि मन्दिर परिसरमा छन्। नेपाल होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गुञ्जबहादुर कार्कीका अनुसार टुटेश्वरनाथको साइनो महाभारतकालीन इतिहाससँग जोडिएको छ।
द्वापर युगमा पाँच भाइ पाण्डव (युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेव) १२ वर्ष वनबास जाँदा टुटेश्वर (मधेसको कैलास पर्वत)मा शिवजीको घोर तपस्या गरेका थिए। जहाँ शिवजीको यज्ञ गरिएको थियो। अर्जुनलाई किराँतेश्वर महादेवले दर्शन दिई पासुपतास्त्र (त्रिशूल) दिइएको किंबदन्ती रहेको संस्कृति तथा पर्यटन प्रवद्र्धन समिति बर्दिबासका सचिव नारायण घिमिरे सुनाउँछन्। अर्जुनले त्रिशूल प्रयोग गरेर महाभारतको युद्ध जितेका थिए (बृहत ज्ञान कोष, २०६६ : पृ. ४६३)।
महाभारतको युद्धमा पाँच भाइ पाण्डव जपतप, पूजापाठ गर्न मिथिला क्षेत्रमा आएको मिथिला संस्कृतिका वरिष्ठ साहित्यकार तथा संस्कृतिविद् डा. राजेन्द्र विमल बताउँछन्। भन्छन्, ‘महाभारतको युद्ध भएको समयमा जनक वंशका क्षेमाधि मिथिलाका राजा थिए। त्यो बेला पाँच भाइ पाण्डव ज्ञान प्राप्त गर्न मिथिला क्षेत्र भ्रमणमा आएका थिए। उनीहरूले पूजापाठका लागि हिमालय क्षेत्र पनि गएका थिए। त्यहाँ दोलखास्थित भिमेश्वरमा पनि पूजा गरेका थिए।’
बृहत ज्ञान कोषको २५औं संस्करणमा टुटेश्वरनाथ महादेव मन्दिरलाई ‘नेपालको बाबाधाम’ भनेर उल्लेख गरिएको पाइन्छ। यो मन्दिर चार हजार वर्ष अगाडि अस्तित्वमा आएको मानिन्छ (२०६६, पृ. ४६३)। ऐतिहासक, धार्मिक र विभिन्न प्रमाणले टुटेश्वरनाथ महादेव मन्दिर क्षेत्र नेपालको बाबाधामको रहेको पाइन्छ। ‘दोलखाको जिरीलाई नेपालको स्वीजरल्यान्ड भनिन्छ भने नेपालको ‘बाबाधाम’ भनेर कुन ठाउँलाई चिनिन्छ ?’ लोकसेवा आयोगले वस्तुगत प्रश्नमा परीक्षार्थीले ‘टुटेश्वर’ भनेर उत्तर दिन्छन् (नेपालको भूगोलसम्बन्धी वस्तुगत प्रश्नोत्तर–५)।
टुटेश्वरधामलाई किन भनिन्छ मधेसको कैलासपर्वत ?
कैलास पर्वत : शिवजीको बासस्थान। नेपाली शब्दसागर शब्दकोषले कैलास पर्वतको अर्थलाई यसरी अथ्र्याएको छ (नेपाली शब्दसागर, पृ. २९०)। समुद्री सतहभन्दा २६८ मिटर अग्लो स्थानमा टुटेश्वरनाथ महादेव मन्दिर अवस्थित छ भन्छन् सबडिभिजन वन कार्यालय टुटेश्वरका रेन्जर सुमन श्रेष्ठ। मिथिलाको पावन भूमिमा टुटेश्वरनाथ महादेव मन्दिर अवस्थित छ। जुन प्रसंग ‘श्री मिथिला माहात्म्यम्’मा वर्णित छ। पूर्व कोसीदेखि पश्चिम गण्डकीसम्म र दक्षिण गंगादेखि उत्तर हिमालयसम्मको चौसठ्ठी कोषलाई मिथिला क्षेत्र भन्छिन् (मिथिला माहात्म्यम्, श्लोक : १०—१३)।
श्री मिथिला माहात्म्यम् ग्रन्थका रचयिता परासर ऋषि र उनका शिष्य मैत्रीय ऋषिबीचको संवादमा मिथिलाको धार्मिक महत्वबारे चर्चा छ। प्राध्यापक धुव राय भन्छन्, ‘मिथिला पुन्य तीर्थस्थल हो। जहाँ सबै देवीदेवता, ऋषि, महर्षि मिथिला क्षेत्रमा बस्थे। यहाँ अनेक देवीदेवालय छन्। यसै भूभागमा पवित्र तीर्थस्थल टुटेश्वरनाथ महादेव मन्दिर पर्छ।’
त्रेताकालका मिथिलाका राजा थिए, जनक। उनको इष्टदेव भगवान् शिव रहेको बताउँछन्, संस्कृतिविद् डा. राजेन्द्र विमल। ‘जनकपुरधामको चारै कुनामा शिवका मन्दिरहरू छन्। केही चर्चामा छन् त धेरै गुमनाम नै। कुनैको ग्रन्थमा वर्णन गरिएको छ भने कुनै जनश्रुति र किंवदन्तीमै सीमित छन्’, उनी भन्छन्, ‘जनश्रुति र लोकविश्वासमा टुटेश्वरनाथ हिन्दु धर्मावलम्बीको प्राचीन मन्दिर हुन्।’
शिव मन्दिर दुई किसिमका छन्, प्राकृतिकरूपमा उत्पन्न भएका। अर्को आस्थाका आधारमा निर्माण भएका। टुटेश्वरनाथ प्राकृतिकरूपमा देखा परेका मन्दिर हुन्। जसको इतिहास हजारौं वर्ष पुरानो छ। ६७ वर्षअघि त्रिभुवन माध्यमिक विद्यालय गौशाला महोत्तरीका शिक्षक मथुरानन्द चौधरी (माथुर)ले टुटेश्वरनाथको वर्णनमा खण्डकाव्य लेखेका थिए।
नेपालका जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य सारा नेपाल नै शिवक क्षेत्र रहेकोमा मिथिला क्षेत्र त्यसमा पनि विशेष रहेको बताउँछन्। उनी भन्छन्, ‘टुटेश्वरनाथ महादेव नेपालको उपज हो, वरदान हो। शिवालय देवालयमा जल चढाएर शिवजीको अशिर्वाद प्राप्त गर्नुपर्छ। शिव पुराणमा कुटकुटमा नेपालको वर्णन छ। त्यसैले विश्वमा नेपाल नामक देशलाई पुरी भनिन्छ।’
बृहत ज्ञान कोषको २५औं संस्करणमा टुटेश्वरनाथ महादेव मन्दिरलाई ‘नेपालको बाबाधाम’ भनेर उल्लेख गरिएको पाइन्छ। यो मन्दिर चार हजार वर्ष अगाडि अस्तित्वमा आएको मानिन्छ।
अयोध्या, मथुरा, कासी, माया लगायत सातवटै पुरिभन्दा सर्वश्रेष्ठ पुरी नेपाल हो। नेपालमा मिथिलापुरी अझै धेरै महत्व रहेको महत्वपूर्ण रहेको जगद्गुरु देवाचार्य सुनाउँछन्। थप्छन्, ‘बृहत् विष्णु पुराणमा मिथिलाको व्यापक चर्चा गरिएको छ। जहाँ ब्रह्मा, विष्णु, महेश्वरकै प्रतीकात्मक भूमि जनक नन्दनी जानकीको भूमि छ।’ यसै मिथिला भूमिमा बिराजमान छन्, टुटेश्वरनाथ महादेव जो राजा जनकको इष्टदेव हुन्।
टुटेश्वरनाथ महादेव मन्दिरको इतिहास रामायण सर्किटसँग जोडिएको छ। नेपाल होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गुञ्ज कार्कीका अनुसार त्रेताकालमा राम र सीताको विवाह हुने बेलामा माता गौरी र भगवान् शंकर टुटेश्वरमा बसेर दर्शन गरेका थिए। अहिले बर्दिबासको दाहालनी खोल्सी नजिकै हनुमान मन्दिर अझै अस्तित्वमा छ।
नदीको सांस्कृतिक नाम नै गायब !
माण्डवी गंगाको पूर्वी किनारमा टुटेश्वरनाथ महादेव मन्दिर छ। मन्दिरको पूर्व र पश्चिममा नदीहरू छन्, माण्डवी गंगा, वरुणमति र स्वर्णमति। तर, तिनको नाम इतिहासमै सीमित भएको डण्डी बमका अभियन्ता बाबुदेव महतो सुनाउँछन्। धार्मिक ग्रन्थहरूमा यी नदीहरूका सांस्कृतिक तथा नाम उल्लेख रहेको पाइन्छ।
२०३० सालमा पूर्व–पश्चिम महेन्द्र राजमार्ग विस्तर भयो। अनि नदीको नामकरण अर्कै गरियो। ठेकेदार र सडक विभागले नदीका नाम बिगारेर मडहा, बेलगाछी र सोनी बनाएको उनी दु:खेसो पोख्छन्।
‘बर्दिबास नगर नेतृत्वले यी नदीहरूको शिवालयसँग अनुन्यास्रित सम्बन्ध रहेको हुँदा पहिलेकै नाउँ कायम गर्नुपर्छ’, महतो भन्छन्। टुटेश्वरनाथ मन्दिरसँगै यहाँ बसाहा बाबा मन्दिर, लक्ष्मी मन्दिर, पार्वती मन्दिर, रामजानकी मन्दिर, हनुमान मन्दिर, विवाह मण्डप, राजदेवी मन्दिर, माण्डबी गंगा मन्दिर लगायत दर्जन बढी मन्दिरहरू पनि छन्।
भगवान्कै सम्पत्तिमा भ्रष्टाचार : मन्दिरको सम्पत्ति लिएर कति मान्छे मोटाएका छन्। तर मन्दिरले भने मुहार फेर्न सकेको छैन। मन्दिर व्यवस्थापन समितिका पूर्वअध्यक्ष हरिबहादुर महतले ९ लाख रुपैयाँ गोलमाल पारेर फरार रहेको मन्दिर व्यवस्थापन समितिका सचिव मोतिलाल गौतमका बताउँछन्। मन्दिरको आम्दानी उठाउन समितिले ७ महिनाअघि बर्दिबास नगरपालिकामा उजुरी दिएको थियो। नगरपालिकाले त्यो उजुरी जिल्ला प्रशासन कार्यालय जलेश्वरमा पठायो। सिडिओ शिवराम गेलाल भन्छन्, ‘उजुरीमाथि छानबिन हुँदैछ।’
विकासको मुख ताक्दै भगवान् ! :
भगवान्का लागि भक्तजन र तिर्थालुका लागि देवता यी दुवै बिना धार्मिक क्षेत्रको कल्पना गर्न सकिँदैन। बाटाघाटा र अन्य सुविधाको अभावमा भक्तजनलाई टुटेश्वरधाम पुग्न कठिन बन्दै आएको पर्यटन व्यवसायी गुञ्ज कार्की बताउँछन्। धनुषा र सिरहाको साँधमा पर्ने कमला नदीको उत्तराहिनी, सर्लाही एवं रौत्तहटको सीमाना भएर बग्ने बागमती, महोत्तरीको गौशालाको माण्डबीको त्रिवेणीबाट जल लिएर भक्तजन टुटेश्वरनाथ पुग्छन्, कोही डन्डी बम १६ किलोमिटर घिस्रिँदै त कोही ४४ किलोमिटर बाटो दौडिँदै। मन्दिर पुग्न लामो जंगल क्षेत्र छिचोल्नु पर्छ। तर, जंगल क्षेत्रको बाटोको दुरावस्थाले भक्तजन पिरोलिन्छन्। बाटोमा न प्रतिक्षालय भेटिन्छन्, न त शौचालय। जल लिएर जाने बमहरूको नियम र निष्ठा हुन्छ।
विवादले मन्दिरको अस्तित्व संकटमा : टुटेश्वरधामको स्वामित्व कसले लिने ? भन्ने विवादमा यहाँको विकासको गति रोकिएको छ। तीनै तहको सरकार आएको सात वर्ष भयो। तर, टुटेश्वर क्षेत्रका विकासका लागि ठोस काम भएको छैन। मन्दिर कसको मातहतमा राखेर सञ्चालन, विकास, संरक्षण र सम्बद्र्धन गर्ने ? भन्ने अड्चनले स्थानीय सरकार, स्थानीय बासिन्दा र मन्दिर व्यवस्थापन समिति विभाजित भएका छन्।
१९९० सालको महाभूकम्पबाट टुटेश्वरनाथ महादेव मन्दिरको अलि बढी चर्चा भएको पाइन्छ। भुइँचालोले ढुंगैढुंगाको गुफामा रहेको मन्दिर भत्कियो। जहाँ पाँच–सात हात लामालामा ढुंगा थियो। बुट्टा उस्तै आकर्षक।
त्यसैले प्राचीन टुटेश्वरनाथ महादेव मन्दिरले काँचुली फेर्न सकेको छैन। ‘स्थानीय सरकारले सबै मठमन्दिर, पर्यटकीय स्थल नगरपालिकाकाको मातहतमा आउनुपर्छ भन्छ’, बर्दिबास नगरपालिका–५ का वडाध्यक्ष काहारमान स्यांग्वा भन्छन्, ‘गाउँले र मन्दिर व्यवस्थापन समिति भन्छन्, यतिका वर्ष हामीले संरक्षण र व्यवस्थापन ग¥यौं। अहिले स्थानीय सरकार मातहत मन्दिरलाई दिदैनौं।
टुटेश्वरधामको ब्रान्डिङ खै ? :
हिन्दु धर्मावलम्बीमा टुटेश्वरधामले विशेष महत्व राख्छ। तर, यसको प्रचारप्रसार र ब्रान्डिङ नभएको सांस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) बर्दिबासका प्रमुख सिवेन्द्र मल्लिक बताउँछन्। भन्छन्, ‘टुटेश्वरनाथ महादेव मन्दिर मधेसको ठुलो धार्मिक पर्यटकीय स्थल हो भन्ने कुरा आममान्छेलाई जानकारी छैन।’
टुटेश्वरनाथ नेपालको बाबाधाम रहेको कुरा नेपाल र भारतमा प्रचारप्रसार गर्न ढिला गर्न नहुने नाथम रविभवन काठमाडौं सेन्टरका प्रिन्सिपल रामकैलाश विच्छा सुनाउँछन्। जलमा बिराजमान जलेश्वरनाथ र कैलासपर्वमा अवस्थित टुटेश्वरनाथ महादेवलाई जोड्ने हो भने धार्मिक पर्यटनमा महोत्तरीले फड्को मार्ने दाबी विच्छाको छ। टुटेश्वरनाथ के, कति कारणले उत्पत्ति र विकास भयो ? भन्नेबारे आमरूपमा जानकारीको अभाव छ। जसको कारण मन्दिरको इतिहास गुमनाम बनेको नाथम, काठमाडौंकी कार्यकारी निर्देशक संगीता ओझा बताउँछिन्।
‘टुटेश्वरधामलाई गौरवको योजनामा राखौं’ :
गौरवको योजनामा राखेर टुटेश्वरधामलाई विकास गर्न बर्दिबास नगरपालिकाले मधेस–प्रदेश सरकारसँग माग गरेको छ। ‘टुटेश्वरनाथ मधेसको गौरव हो। तर, प्रचारप्रसारको कमीले पहिचान पाउन सकेको छैन’, मेयर क्षेत्री भन्छन्, ‘टुटेश्वरधामलाई विकास गर्न सरकारले गौरवको योजनामा राख्नु पर्छ।’ मुख्यमन्त्री सतिशकुमार सिंह स्थानीय सरकारसँग मिलेर टुटेश्वरनाथ महादेव मन्दिर क्षेत्रको विकास गर्न चासो लिएको बताउँछन्। भन्छन्, ‘पौराणिक, धार्मिक तथा इतिहास बोकेको प्राचीन धरोहर हो, टुटेश्वरधाम। हामी सबैले मिलेर विकास गर्नु पर्छ।’
उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय मधेस प्रदेशका सचिव राजीव पोखरेलले टुटेश्वरनाथलाई सीता सर्किटमा जोडेर विकास गरिने बताउँछन्। उनी भन्छन्, ‘जानकी मन्दिर, धनुषाधाम, टुटेश्वरनाथ, जलेश्वरनाथ मन्दिरलाई सीता सर्किटमा जोडेर विकास गर्ने योजना छ।’ नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशले प्रदेशभरका धार्मिक तथा पर्यटकीय स्थानको खोजी गर्न ‘घुमौं मधेस, बुझौं प्रदेश’ भन्ने अभियान चलाएको छ।
टुटेश्वर क्षेत्रको पनि प्रचारप्रसार र प्रवद्र्धनमा महासंघले लागेको अध्यक्ष हीरा गौतम बताउँछन्। टुटेश्वर ज्ञानकेन्द्र, ध्यानकेन्द्र र योगकेन्द्रको रूपमा विकास गर्ने सकिने एमाले मधेसका स्कुल विभागप्रमुख शंकर महतो बताउँछन्। भन्छन्, ‘बढ्दो मानसिक तनावलाई ध्यान र योगमार्फत् निदान गर्न सरकारले टुटेश्वरको धार्मिक वनक्षेत्रलाई प्रयोग गर्नुपर्छ।’
तपस्वी बाबुदेव
टुटेश्वरधामको स्वामित्व कसले लिने ? भन्ने विवादमा यहाँको विकासको गति रोकिएको छ। तीनै तहको सरकार आएको सात वर्ष भयो। तर, टुटेश्वर क्षेत्रका विकासका लागि ठोस काम भएको छैन।
बासुदेव महतो, उमेर ७२। अहिले पनि उनी १६ किलोमिटर डन्ड काट्दै (घिसिँंदै) गौशालाबाट जल लिएर टुटेश्वरनाथ मन्दिर दर्शन गर्न पुग्छन्। यसपालि उनले ३४ पटक (वर्षमा एकपटक) घिस्रिँदै मन्दिरसम्मको यात्रा तय गरे। यसलाई स्थानीय भाषामा ‘डन्डी बम’ भनिन्छ।
‘माण्डबी नदीदेखि मन्दिरको तीनपटक परिक्रमा गर्दा १६ किलोमिटर दुरी हुन्छ। हिसाब गर्दा झन्डै ११ हजार नौ सय सातपटक डन्ड काट्दा यो दुरी भेटाउन सकिन्छ। यो निकै कठोर ब्रत हो जसलाई हठयोग पनि भनिन्छ’, भन्छन्, ‘जो कोहीले पूरा गर्न सक्दैन।’
वृद्ध उमेरमा पनि उनी टुटेश्वरधामको प्रचारप्रसारका लागि लागिपरेका छन्। मन्दिरको संरक्षण, सम्वद्र्धन र विकासमा उनले ५४ वर्ष खर्चिसकेका छन्। यस धार्मिक क्षेत्रको गरिमा बढाउन उनको नेतृत्वमा २०२७ देखि भजनकीर्तन, बोलबम मेला, डण्डी बाम सञ्चालन भएको थियो। २०४८ देखि डाक बमको कठोर यात्रा उनले सुरु गरेका थिए।
महतो पूर्व प्रधानाध्यापक हुन्। जीवनको ४४ वर्ष ६ महिना ४ दिन शिक्षक र प्रधानाध्यापक भएर राष्ट्रको सेवा गरे। उनी भन्छन्, ‘२०२७ सालदेखि हहनिरन्तर आराध्यदेव टुटेश्वरनाथको प्रचारप्रसार, संरक्षण एवं सम्वद्र्धनमा सक्रिय छु। बाँचेसम्म भगवान्को भक्तिमा रमिरहन्छु।’ गत असारमा यिनै तपस्बीसँग टुटेश्वरधाममा भेटाएका थिए। मधेसको कैलासपर्वत टुटेश्वरनाथ महादेवको इतिवृत्तान्त उनले सुनाएका थिए। मन्दिर क्षेत्रमा जहीतही ‘ब्ल्याक स्टोन’ रहेको तपस्वी महतोले सुनाउँदै भने, ‘पुरातात्विक विभागले उत्खनन गरेर यसको अध्ययन र अनुसन्धान गरिनुपर्छ।’ देश, दुनियाँलाई बताउन टुटेश्वरधामलाई पर्यटकहरूको गन्तव्यको रूपमा विकास सक्छौं।’
टुटेश्वरधामको अध्ययन, अनुसन्धान र यस क्षेत्रको उत्खननका लागि हालै बर्दिबास नगरपालिकाका मेयर प्रह्लादकुमार क्षेत्री पुरातात्विक विभागमा पुगे। मंसिरमा विभागले निरीक्षण गर्न टोली पठाउने उनले जानकारी पाए। विभागकी प्रमुख सौभाग्य प्रधानांगले टुटेश्वरधामको अध्ययन एवं अनुसन्धान गरी निष्कर्षमा पुग्ने बताइन्। भनिन्, ‘बजेट अभावले गर्दा थुप्रै ऐतिहासिक स्थानको अध्ययन अनुसन्धान गर्न सकिएको छैन। कामका लागि स्थानीय सरकारले बजेट पनि छुट्याउनु पर्छ।’